काठमाडौंः पूर्वप्रधानमन्त्री भलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री भएको बेलामा शिक्षकहरु सडकमा रहेको र शिक्षकका मागहरु कुल्चिएर प्रधानमन्त्री हिँडेको आरोप लगाए । उनले सरकारको मन्त्रीले राजीनामा दिनु झनै दुःखद् भएको बताए । उनले शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने पक्षमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई रहे पनि प्रधानमन्त्री ओलीले माग सम्बोधन नगरिदिँदा राजीनामा दिन विवश भएको आरोप लगाए । शिक्षामा प्रगतिशिल परिवर्तनको कुरा कहाँ गयो ? भन्दै प्रश्न गरे। उनले अहिलेका नेतृत्वहरुसँग जनता रिसाएको र रिसाएका जनताले के गर्छन् भन्नेकुरा सोच्न नसकिने बताए ।
पूर्वप्रधानमन्त्री खनालले भने, ‘कम्युनिष्ट पार्टीका एउटा नेता यो देशको प्रधानमन्त्री छन् । यो देशका झन्डै अढाइ लाख शिक्षकहरु अहिले आन्दोलनमा छन् । सडकमा छन् । तर ति शिक्षकहरुको मागलाई कुल्चिएर यो देशको प्रधानमन्त्री हिँडेका छन् । अझ आश्चर्यको कुरा के छ भने यही क्याबिनेटको शिक्षामन्त्रीले राजीनामा दिन विवश हुनुपरेको छ । उनी शिक्षकहरुको माग अलिकति सम्बोधन गरौँ भन्ने, प्रधानमन्त्री नटेर्ने, त्यो बाध्यतामा शिक्षामन्त्रीले राजीनामा दिनुपर्यो । हामीले शिक्षामा प्रगतिशिल परिवर्तन गर्छौं भनेका थियौँ । कुरा कहाँ गयो ।’
पूर्वप्रधानमन्त्री खनालले नेकपा (माओवादी केन्द्र) अवसरवादी पार्टी भएको उल्लेख गरे । केही दिनअघिसम्म कांग्रेसको पिठ्यँमा चढेर माओवादीले घमण्ड गरिरहे पनि अहिले क्रान्तिकारी कुरा गरिरहेको बताए । उनले कांग्रेसको बुइ चढेर अहिले एमाले आगामी निर्वाचनमा पनि बहुमत ल्याउने घमण्ड गरिरहेको बताए। नेकपा (एकीकृत समाजवादी) ले पनि मन्त्रीको लोभमा सरकारमा सहभागी भएको भन्दै यसबारेमा समीक्षा जरुरी रहेको बताउए ।
पूर्वप्रधानमन्त्री खनालले भने, ‘हामीले जबसम्म एउटा लक्ष्य प्राप्त गर्ने संकल्पवद्ध रुपमा संगठन निर्माण गर्न सक्दैनौँ, तबसम्म क्रान्ति हुन सक्दैन । अहिले संघर्ष अनिवार्य छ । हामीले नगर्दा पनि संघर्ष शुरु भइसकेको छ । शिक्षक, विभिन्न आन्दोलनहरु भइरहेका छन् यसलाई नेतृत्व गर्ने नेता देशमा छैन । कम्युनिष्ट आन्दोलन कस्तो भयो ? नेकपा एमाले भन्ने सबैभन्दा ठूलो पार्टी हामी अर्को पटक पनि जित्छौँ, बहुमत ल्याउँछौँ भनेर घमण्ड गरिरहेको छ । तर त्यो घमण्डको कुरा नेपाली काँग्रेसको पिठ्युँमा बसेर बोल्छ । दलाल पुँजीपति वर्गको पार्टीको पिठ्युँमा बसेर बौल्छ । जो सुधारवाद बाहेक केही पनि जान्दैन । यो घोर दक्षिणपन्थी कुरा हो । एउटा माओवादी पार्टी छ, जो अस्ति भर्खरसम्म काँग्रेसकै पिठ्युँमा बसेर कराइरहेको थिए हाम्रा कमरेड प्रचण्ड । त्यो पिठ्युँ अहिले चिसो भएकै छैन, तातो पिठ्युँमा गएर केपी ओली बसेका छन् । अनि अहिले बाहिर आएर अलिकति कुराहरु गर्न थालेका छन् । अलि क्रान्तिकारी कुरा गर्न थालेका छन् बाहिर आएपछि । यो पनि परीक्षण गर्नुपर्ने कुरा छ । अवसरवाद पो हो की ? हाम्रो नै कुरा गर्दा पनि एक दुई वटा मन्त्रालय पाउँदा हामी पनि गयौँ । त्यो मन्त्रालय प्राप्त गरेर हाम्रो पार्टीले के पायो रु सबैले मूल्यांकन गरौँ त । यि सबैको समीक्षा गर्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री खनालले समय लागे पनि प्रयत्न गर्दै जाने हो भने नेपालको कम्युनिष्ट आन्दोलन एकतावद्ध हुने दाबी गरे ।