काठमाडौं : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यशैली सुधार गर्नुपर्ने बताएका छन् ।
पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले नागरिकको भावनालाई बुझेर प्रधानमन्त्री ओलीले कार्यशैलीमा सुधार गर्नुपर्ने बताए । ‘पार्टी सभापतिले पनि भन्दै आउनुभएको छ, सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यक छ । त्यसलाई सच्याउनुपर्छ । प्रधानमन्त्रीलाई हामीले भनेका छौँ, नागरिकको भावनालाई बुझेर बाहिर देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ,’ खडेकाले भने ।
एमालेसँगको सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढाउन ढिला भएको पनि उनले बताए । ‘संविधान संशोधन गर्नु नै दुई ठूला पार्टीको मुख्य उद्देश्य भएपनि त्यसमा ढिलाइ भइरहेको छ’, उनले भने ।
अब छिट्टै कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गर्दै कार्यवाहक सभापति खड्काले भने, ‘संविधान संशोधनको काम अघि बढाउन ढिला भएको छ । संयन्त्रमा म पनि छु । पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्वीकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन । अब चाँडै नै भएको सहमतिको आधारमा कांग्रेस र एमालेको बीचमा कार्यदल बनाएर आन्तरिक छलफल गरेर आधार तयार गर्नुपर्छ,’ उनले भने ।
खड्काले समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायत जनताले प्राप्त गरेको अधिकार नघट्ने गरी संविधान संशोधन हुने उल्लेख गरे ।