-विनोद डि. भट्टराई
रातको सन्नाटा सँगै, मस्त चीर निन्द्रमा
पुरै देश सुतेको बेला
एउटा आर्तनाद सुनेर झस्केको म
कोल्टे फर्केर निदाउन खोज्छु
अनि सम्झिन्छु,
म ननिदाएकै वर्षौ भएछ
म घोत्लिन्छु, सम्झिन्छु, कल्पिन्छु
अनि, ननिदाएरै निदाउन खोज्छु
त्यो आर्तनाद भित्रका अन्तरकथाहरूमा
त्यो आर्तनाद भित्रका अन्तरकथाहरूमा म
म जस्तै सालिकहरू देखिरहेको छु,
तिनिहरू र म मा केवल एउटै फरक छ
म सालिक हुँ, तिनिहरू ज्युँदा सालिकहरू हुन
मलाई सालिक बनाएर उभ्याउने पनि
तिनै ज्युँदा सालिकहरू हुन
जो मेरो मृत्युलाई केवल मृत्यु मात्र देख्छन
मेरो भौतिक अस्तित्व समाप्त भएको घोषणा गर्छन्
मेरो अवसानलाई मुद्दा बनाएर हिडेका उनीहरू
हिडिरहे,
अनन्त हिडिरहे
मेरो अवसानको शानलाई बिर्सेर हिडिरहेका उनीहरू
मेरो नाम, मेरै त्याग र बलिदानको गजमा
सत्ताशीन हुँदै गर्दा
बेपरवाह र बेखवर छन मेरो अस्तित्व सँग
ती ज्युँदा सालिकहरू
मेरा आदर्शको गजमा पजेरो चढ्नेहरूले
मलाई बेचेर आलिसान महल पस्नेहरूले
मेरा तस्वीर भित्तामा टाँसेर
सिद्धान्त र मान्यताहरूलाई पटक पटक
दाहासाहीले टुक्र्याउँदै गर्दा
म सम्झन्छु ति जिउँदा सालिकहरू
म सम्झन्छु, सायद मेरो मृत्यु
मृत्यु नै थियो, सहादत थिएन
छोराको तोते बोलीले बाबा भनेको सुन्दा
मेरै गरिवीले मेरी प्रियसीको च्यातिएको फरिया देख्दा
कहिले नबगेको आँसु
मलाई पत्थरमा उभ्याएर माला लगाई दिने
ती ज्युँदा सालिकहरू देख्दा
यी पत्थरका निर्जिव आँखाहरूबाट
निरन्तर बगिरहन्छन् अचेल
सायद मेरो अवसान, शान थिएन
सायद मेरो योगदानको दानको योग
ऋणात्मक थियो ।
सायद,
छोरोको मुहारमा मुस्कानको धर्सो
र,
श्रीमतिको च्यातिएको एक थान फरिया
फेरिदिन नसक्ने म
देश फेर्छु भन्ने सपना देख्नु
सपना नै थियो सायद
ती सपनाहरूको बोझले थिचिरहँदा
झन थिच्छ मलाई, मेरो दुखेको देशले
हे ज्युँदा सालिक हो
अब मलाई भेट्न आउँदा
गलामा लगाउने फुल हैन
कानमा लगाउने कपास बोकेर आउनु
बर्षौ भयो मलाई त्यो आर्तनादले निदाउन दिएको छैन
रातको सन्नाटा सँगै, मस्त चीर निन्द्रामा
पूरै देश सुतेको बेला
एउटा आर्तनाद सुनेर झस्केको म
कोल्टे फर्केर निदाउँन खोज्छु
अनि सम्झिन्छु,
मलाई निदाउन नदिने त्यो आर्तनाद मेरै त हो ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies