-गीता निरौला भण्डारी
बाल्यअवस्थामा सुत्ने बेला आमाको कथा नसुनिकन मलाई निद्रा लाग्दैनथ्यो । आमाले सधैँ आध्यात्मिक कथाहरू सुनाउनुहुन्थ्यो । त्यसमध्ये पनि महाभारत र कृष्णचरित्रका कथाहरू प्रमुख हुन्थे । एकदिन आमाले सत्यभामाको कथा सुनाउनुभयो ।
सानैदेखि स्वाभिमानी, साहसी र अन्याय सहन नसक्ने स्वभावकी सत्यभामाले तात्कालिन समयमा छोरी भन्ने बित्तिकै लजालु सहनशील र कोमल (कमजोर) भन्ने मान्यतालाई तोडेर आफूलाई छोराहरू सरह शिक्षा र तालिमले सुसज्जित बनाएकी थिइन । मिहिनेत र कुशाग्र बुद्धिका कारण घोडसवारी र धनुर्विद्याका साथै रणनीतिमा समेत सिद्धि प्राप्त गरेकी थिइन । युद्धकौशलकी विज्ञ वीराङ्गना सत्यभामालाई मानिसहरूले महारथीको रूपमा सम्मान गर्थे । उनको विवाह श्रीकृष्णसँग भएको थियो । श्रीकृष्णका ८ पटरानीहरुमध्ये उनी पूर्ण रूपले फरक स्वभावकी थिइन् । पति पत्नी बिच प्रेम, सद्भाव र समानताको व्यवहार हुनुपर्छ भन्ने उनको मान्यता थियो । उनी अन्य स्वास्नीमान्छे जस्तो घरभित्र मात्र सिमित हुन चाहन्नथिन् र कृष्णका हरेक कार्यमा साथ दिन चाहन्थिन् । कृष्णले पनि उनको यो चाहनाको सम्मान गर्नुहुन्थ्यो । विराङ्गना भएकीले वेलावेलामा उनीसँग युद्धका रणनीति सम्बन्धमा सर सल्लाहा लिने गर्नुहुन्थ्यो ।
एक दिन एउटा दुतले उनलाई यस्तो खबर सुनायो – कामरूप नाम गरेको राज्यमा भौमासुर भन्ने एउटा असुर प्रवृतिको राजा छ । भौमासुरको क्रुरता र अत्याचारले सीमा नाघिसकेको छ । उसले विभिन्न देशका गरी १६१०० राजकुमारीहरूलाई अपहरण गरेर सबभन्दा ठुलो अपराध गरेको छ । उसले ती राजकुमारीहरूलाई यस्तो ठाउँमा बन्दी बनाएर राखेको छ जहाँ कुनै पनि साधारण मानिस पुग्न सक्तैन । भौमासुरको शक्तिका अगाडि सबै राजाहरू नतमस्तक छन् कसैले पनि ऊसँग लडाई गर्ने आँट गर्न सक्तैनन । दुतको यो खबरले उनलाई नराम्ररी उद्धेलित बनायो । सत्य के हो जान्नका लागि उनी व्याकुलताका साथ कृष्णको प्रतीक्षा गर्न थालिन् । त्यसदिन उनको खोपीमा श्रीकृष्ण निकै ढिलो आउनुभयो । सदा प्रसन्न रहने श्रीकृष्ण पनि त्यसदिन मलिन मुद्रामा हुनुहुन्थ्यो । चिन्ताका रेखाहरू मुहारमा स्पष्ट देखिन्थे । आसनमा विराजमान भैसकेपछि सत्यभामाले केही सोध्न नपाउँदै कृष्णले भन्नुभयो –‘देवी १ आज सार्है नराम्रो खबर सुने त्यही खबरले चिन्तित भएको छु तिमीसँग छलफल गर्नु छ ।’ भौमासुरका बारेमा भन्न खोज्नु भएको होला मैले पनि भर्खरै यो समाचार सुने । चिन्ताले सताईरहेको छ । अनि अहिले सम्म कसैले पनि ती राजकुमारीहरूलाई छुटाउने प्रयत्न गरेको रहेनछ त ? सत्यभामाले आहत भएर कृष्णलाई प्रश्न गरिन् ।
‘छैन यमराजसँग को लड्ने ? मैले पनि आजै मात्र थाहा पाए । यस विषयमा के गर्न सकिन्छ म सोच्दै छु । तिमीसँग सल्लाह लिनु छ’ कृष्णले भन्नुभयो ।
‘यस्तो कुरामा पनि के सोचिरहनु पर्छ ? मैले थाहा पाइसके त्यो भौमासुरसँग युद्ध गर्ने क्षमता द्वारिकाधिशदेखि बाहेक अरूसँग छैन । यी कन्याहरूको उद्धार हामीले नै गर्नु पर्छ । बिचराहरू कस्तो कालकोठरीमा थुनिएका होलान् । भौमासुरले उनीहरूमाथि कति अत्याचार गरेको होला । सम्झेर पनि मेरो रगत उम्लिइसक्यो’, सत्यभामा आक्रोशित भइन् ।
‘हैन कुरा अर्को पनि छ । भौमासुरले आफ्नो महलको वरिपरि यस्तो विद्युतीय किल्ला बनाएको छ, त्यसलाई तोड्न जो कोहीले सक्तैन, यसको लागि त्यही किसिमको युद्धकौशल चाहिन्छ । यो युद्धमा मलाई तिम्रो सहायता चाहिन्छ’, कृष्णले भन्नुभयो ।
कृष्णको कुरा सुनेर सत्यभामाले भनिन –‘अवश्य भौमासुर सँगको युद्धमा म पनि हजुर सँग जान्छु र त्यो दुष्टलाई खतम गरेरमात्र शान्तिको साँस फेर्छु । अब ढिलो नगरौँ । भोलि नै भौमासुर विरुद्ध युद्धघोष गर्नुहोस् । म नारीमाथि भएको अन्याय सहन सक्तिनँ । उनीहरूको मुक्तिका लागि म आफ्नो बलिदान समेत दिन तयार छु ।’
सत्यभामा चानचुने योद्धा थिइनन् । भौमासुरसँग युद्ध गरेर उनी अपहरित राजकुमारीहरूलाई स्वतन्त्र बनाउन चाहन्थिन् । त्यसैले कृष्णसँगसँगै हातहतियारले सुसज्जित भएर उनी स्वयं युद्धमा होमिइन् र मुर राक्षस द्वारा निर्मित विद्धुतिय किल्ला तोड्न महत्वपूर्ण भुमिका निर्वाह गरिन् । कृष्ण, सत्यभामा र भौमासुरको बिचमा निकै लामो युद्ध भयो रिसले आगो भएको भौमासुरको बाण प्रहारबाट कृष्ण जव मुर्छित हुनुभयो त्यतिवेला कृष्णको ढाल भएर सत्यभामाले भौमासुरसँग एक्लै युद्ध गरिन् र भौमासुरको हात काटिदिइन् । कृष्णको होस आएपछि रणचण्डी बनेकी सत्यभामाले कृष्णलाई सुदर्शन चक्र प्रयोग गरेर चाँडो भन्दा चाँडो दुष्ट आततायीको सिर छेदन गर्न अनुरोध गरिन् कृष्णले तुरुन्तै सत्यभामाको सुझावअनुसार सुदर्शन चक्र द्वारा भौमासुरको बध गर्नुभयो ।
यसपछि कृष्ण र सत्यभामा हतार हतार १६१०० नारीलाई बन्दी बनाएर राखिएको बन्दीगृहमा पुग्नुभयो । त्यहाँको स्थिति अत्यन्त दयनीय थियो । सबै राजकुमारीहरू कोकोहोलो गरेर रोइरहेका थिए । सबैलाई मुक्त गर्दै कृष्णले भन्नुभयो –‘भौमासुरको बन्धनबाट अब तिमीहरू मुक्त भयौ । तिमीहरू जो जो जहाँ जहाँबाट आएका थियौ सबैलाई आ–आफ्नो ठाउँमा पु¥याइदिने व्यवस्था हुनेछ ।’
कृष्णको कुरा सुनेर बन्धक नारीहरूले रुँदै भने–‘हे द्वारिकाधिस हामी यहाँ वर्षौ देखि थुनिएका छौ बरु हाँमी यहीँ ठिक थियौ यहाँ बाट निस्केर के गर्नु ? अब हामीलाई हाम्रा परिवारले स्वीकार्ने छैनन् ,परिवारले स्वीकारीहाले भने पनि समाजले स्वीकार्ने छैन, हामीसँग कसैले विवाह गर्ने छैन, हामी मध्ये कति वलात्कृत हुनेछौ, कति वेश्यावृतिमा धकेलिने छौ, कति पागल हुने छौ, हामीले पलपल अपमानित भएर बाच्नु पर्नेछ त्यसरी बाच्नु भन्दा बरु हाँमी मर्न चाहन्छौ । हाँमीले निधो गरिसक्यौ हाँमी यहीँ बन्दीगृहमा आगो लगाएर सामूहिक आत्महत्या गर्छौ ।’
उनीहरूको कुरा सुनेर सत्यभामा द्रविभुत भइन् । तिनका पीडालाई अन्तर हृदयले महसुस गरिन् उनको तिक्ष्ण दिमागले यसबाट समाजमा पर्नसक्ने नकारात्मक प्रभावलाई तुरुन्तै मापन गर्यो । उनले श्रीकृष्णसँग एउटा अचम्मको प्रस्ताव राखिन् । ती बन्धक युवतीलाई समाजमा सम्मान दिलाउनका लागि उनले ती सबै युवतीसँग विवाह गर्नको लागि श्रीकृष्णसँग आग्रह गरिन ।
सत्यभामाको आग्रहमा श्रीकृष्णले पनि यो एतिहासिक निर्णय गर्नुभयो र भन्नुभयो– ‘तिमीहरूले समाजमा अपमानित भएर बाँच्नु पर्दैन । तिमीहरूसँग विवाह गरेर समाजको नजरमा म तिमीहरूलाई सुरक्षित र सम्मानित बनाउँछु । अव उप्रान्त तिमीहरूलाई संसारले द्वारिकाधिसका पत्नीको रूपमा सम्मान गर्नेछ ।’ यति भनेर कृष्णले सत्यभामा तिर हेर्नुभयो । सत्यभामाले गद्गद् भएर गर्वका साथ शिर ठाडो पारिन र आफ्ना पतितिर भावतिरेक दृष्टिले हेरिरहिन यतिबेला उनका आँखामा हर्षका आँसु र मुहारमा सन्तुष्टीको दिव्य चमक प्रस्ट देखिन्थ्यो ।
वास्तवमा सत्यभामा नारीमुक्तिका लागि लड्ने एक सच्चा योद्धा थिइन् । उनी कर्मयोगी अभियन्ता थिइन् । महिला हिंसाको खबरले उनी आक्रोशितमात्र हैन मर्माहत पनि भइन् । उनले कृष्णलाई तुरुन्त युद्धघोष गर्न प्रेरित गरिन् र ज्यानको बाजी लगाएर आफू पनि युद्धमा होमिइन् यतिमात्र हैन बन्धन मुक्ति मात्र समस्याको समाधान होइन पीडितलाई सुरक्षित जीवन प्रदान गर्नु नै वास्तविक न्याय हो भन्ने ठानी १६१०० नारीलाई आफ्नै सौताको रूपमा स्वीकार गरेर तिनलाई तिरस्कृत हुनबाट जोगाइन् । उनको यो आँट, यो दुस्साहस (अति साहस) यो त्याग, यो जोश केवल ती पीडित नारीहरूका लागि समर्पित थियो यसमा उनको आफ्नो स्वार्थ केही पनि थिएन ।
बाल्यकालमा आमाले सुनाएको यो प्रेरणादायी कथाले मलाई आजका हरेक नारी अधिकार कर्मीभित्र सत्यभामा खोज्न बाध्य बनाएको छ । प्रत्येक वर्ष पृथक नाराका साथ कुनै भव्य होटलको सभाहलमा मनाइने नारीदिवसमा र त्यहाँ गरिने उग्र भाषणमा आजभोली म सत्यभामाको दृढता खोज्न थालेकी छु । तिनले गर्ने अठोटमा सत्यभामाको सङ्कल्प खोज्न थालेकी छु, तिनका हरेक क्रियाकलापमा म सत्यभामाकै जस्तो जुनुन, त्याग र समर्पण खोज्न थालेकी छु अनि तिनका समर्थनमा बजाइने तालीहरूमा सत्यभामाको त्यागमय संतुष्टी खोज्न थालेकी छु । तर हरेक पटक म निराश भएकी छु । अहँ मैले कहीँ कतै पनि त्यो अद्भुत समर्पण देख्न पाएकी छैन बरु उल्टो पीडित नारीहरूलाई नै सिँढी बनाएर अधिकारकर्मिहरू माथि पुग्ने गरेको र उल्टै अहं प्रदर्शन गर्ने गरेको भेटेकी छु । पीडित नारीका व्यथालाई डलर कमाउने भाँडो बनाउने गरेको देखेकी छु । म दाज्नेगर्छु सत्यभामाको अभियान र यिनको अभियानलाई । अनि सोच्ने गर्छु काश ! नारीमुक्ति अभियानकी अग्रदुत सत्यभामाको केही अंश मात्र पनि यिनमा आईदिए कस्तो हुन्थ्यो होला ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies