काठमाडौं : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४ औँ राष्ट्रिय महाधिवेशन २५ जेठदेखि २८ सम्म काठमाडौंमा हुने भएको छ ।
अनेरास्ववियुले १ जेठदेखि ४ सम्म महाधिवेशन गर्ने बताएको थियो । तर तोकिएको समयभन्दा ३ साता ढिलो महाधिवेशन हुने भएको हो ।
काठमाडौंको आरआर क्याम्पसमा आयोजित विशेष कार्यक्रममा अनेरास्ववियु इन्चार्ज तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्लको उपस्थितिमा भएको कार्यक्रमबाट महाधिवेशन तयारी थाल्ने निर्णय गरेको हो ।
महाधिवेशनलाई ऐतिहासिक र स्मरणीय बनाउने लक्ष्यसहित विद्यार्थीहरूको अधिकतम सहभागिता सुनिश्चित गर्न संगठनले देशव्यापी व्यापक जनपरिचालन अभियान सञ्चालन गर्ने भएको प्रवक्ता प्रकाश पौडेलले बताए ।
संगठनले समृद्ध भविष्यको निर्माण र शैक्षिक तथा राष्ट्रिय मुद्दामा अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्यले महाधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढाएको पौडेलले जानकारी दिए ।