२०८२ जेठ ९ गते शुक्रवार / May 23 , 2025 , Friday
२०८२ जेठ ९ गते शुक्रवार
Ads

लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नुस् : गृहमन्त्री लेखक

मध्यान्ह
२०८२ जेठ ९ गते १२:५५
लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नुस् : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताएका छन् । जनकपुरमा शुक्रबार मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले लागुऔषधको नियन्त्रण जरुरी रहेको बताए । उनले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको बताए । उनले देशभर आत्महत्यका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रुपमा आएको बताए । उनले लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिए । 

गृहमन्त्री लेखकले भने, ‘ड्रग्सको धेरै ठूलो समस्या छ । देशभर नै लागुऔषधको समस्या देखिएको छ । लागुऔषधको नियन्त्रण जरुरी छ । सडक दुर्घटना अर्को ठूलो समस्यका रुपमा रहेको छ । एक दिनमा झन्डै ७ जना मानिस सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । सडक दुर्घटनाको नियन्त्रण अर्को महत्वपूर्ण काम हो । आत्महत्याको अवस्था देशभर झन्डै १७ जनाले एक दिनमा आत्महत्या गरिरहेका छन् । अर्को साइबर क्राइम छ । यो सबै कुरा एक अर्कोसँग जोडिएको छ । मानिसले लागुऔषध सेवन गरेर सवारी चलाउँछ, दुर्घटना हुन्छ । लागुऔषध सेवन गरेर डिप्रेसनमा जान्छ, लागुऔषध सेवन गरेर परिवारमा तनाव हुन्छ, आत्महत्या गर्दछ । लागुऔषधको नियन्त्रणमा खटिएर लाग्नुहोला ।’

गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको उल्लेख गरे । शान्ति सुरक्षाको स्थिति कमजोर हुने बित्तिकै देश विकासका काममा अवरोध आउने उनले बताए ।

ADV

सम्बन्धित खबर