२०८२ जेठ १० गते शनिवार / May 24 , 2025 , Saturday
२०८२ जेठ १० गते शनिवार
Ads

कृष्णनगरमा खुलेआम राजस्व छली, प्रहरीलाई छैन मतलब

शहबाज खान
२०८२ जेठ १० गते ०६:३५
कृष्णनगरमा खुलेआम राजस्व छली, प्रहरीलाई छैन मतलब

कृष्णनगर : रुपन्देहीको कृष्णनगरको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा खुलेआम राजस्व छली भइरहे पनि सुरक्षा निकाय मौन देखिएका छन् । 

सीमाबाट दैनिकजसो ट्रक भरिएको सामान बिनाजाँच सीमा पार गरिरहे पनि निगरानी गर्ने जिम्मेवारी लिएका सुरक्षा निकायको प्रभावकारी उपस्थिति भने देखिँदैन ।

बिहीबार राति करिब साढे ९ बजे करिब साढे ५ टन कबाड बोकेको लु१ख ६२३९ नम्बरको ट्रक कृष्णनगर बजारबाट लोड गरी बिना कुनै बिल सजिलै सुरक्षाकर्मीहरूको चेकप्वाइन्ट पार गर्दै बहादुरगन्ज पुगेको थियो । 

बहादुरगन्ज नाकामा ट्रक रोकेर जाँच गर्दा कुनै बिल वा कागजात नदेखिएपछि हतारमा ओम सिद्ध बाबा ट्रेडर्स नामको फर्ममार्फत विजया श्री स्टील प्रा. लि., शिवराज– ६ का नाममा बिल बनाइएको खुलेको छ ।

सवारी कर बिल भने ट्रक गुडेको दिनको नभई अर्को दिन बिहान ७ः५५ बजे मात्र काटिएको पाइएको इलाका प्रहरी कार्यालय बहादुरगन्जका प्रमुख नायब निरीक्षक खिमबहादुर जीसीले जानकारी दिए ।

घटना भएकै रात त्यसबारेमा बुझ्न सशस्त्र प्रहरी बलका नायब उपरीक्षक तथा गुल्म प्रमुख अरुण सिंहलाई सम्पर्क गर्दा उनले ‘सुतिसकेको छु, भोलि कुरा गरौं’ भन्ने जबाफ दिएका थिए ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक ईश्वर लौडारीले भने ट्रकमा कबाड नभएको दाबी गर्दै सीसीटीभी फुटेज हेरेर मात्र निष्कर्ष निकाल्न सकिने बताए ।

स्रोतका अनुसार ओम श्री साई सिद्ध बाबा सप्लायर्स, चन्द्रौटा र अरुण कबाड सेन्टरले प्रतिदिन कबाड बिनाबिल आपूर्ति गर्दै आएका पाइएको छ । गहिराइमा हेर्दा यो गतिविधि व्यापारी र सुरक्षाकर्मीबीचको लामो समयदेखि चल्दै आएको सिन्डिकेटको परिणाम भएको स्रोत बताउँछ ।

ADV

सम्बन्धित खबर