काठमाडौं : १ साता लामो भ्रमणमा गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको ग्वान्जाओ पुगेकी छन् । नेपाल सरकार र नेकपा (एमाले)को संयुक्त टोलीको नेतृत्व गरेर चीन पुगेकी उनलाई उच्चस्तरीय नेताको सम्मान दिइएको छ ।
पूर्वराष्ट्रपति भण्डारीलाई ग्वान्जाओमा चीनका सरकारी अधिकारी र कम्युनिस्ट पार्टीका नेताहरूले स्वागत गरेका छन् । पूर्वराष्ट्रपति नेतृत्वको टोलीलाई चीन सरकारको राजकीय आवास गृह दियाओ थाईमा राखिएको छ । चीन सरकारले उनलाई विदेशी सरकारप्रमुख सरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको नेताहरूले बताएका छन् ।
भ्रमण दलमा नेकपा (एमाले)का विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, कर्णबहादुर थापासहितका नेताहरू छन् ।
भण्डारीको सम्मानमा चिनियाँ पक्षले आइतबार रात्रिभोज कार्यक्रम आयोजना गरेको छ ।
भण्डारी बेइजिङ र गान्सु प्रान्तमा आयोजित २ वटा कार्यक्रमको मुख्य अतिथिको रुपमा सहभागी हुनेछिन् । चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधिबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन् । सोमबार बिहान हुने उक्त कार्यक्रममा उनले मन्तव्य पनि राख्नेछिन् ।
मन्त्री भण्डारीले उच्चस्तरीय खुलापन र एसियाको एकीकृत विकास कार्यक्रमबारे मन्तव्य व्यक्त गर्नेछन् । महासेठले रणनीतिक पारस्परिक विश्वास सुदृढीकरणका लागि संवाद र परामर्श शीर्षकमा र थापाले फरक–फरक देशका नागरिकस्तरमा अनुभव आदान–प्रदानलाई विस्तार गर्ने विषयमा मन्तव्य राख्ने कार्यक्रम छ ।
यसबाहेक मन्त्री भण्डारीले मंगलबार चाइना काउन्सिल फर दि प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) का नेतासँग भेट्नेछिन् ।