२०८२ जेठ १६ गते शुक्रवार / May 30 , 2025 , Friday
२०८२ जेठ १६ गते शुक्रवार
Ads

सेनाले महाकालीमा भत्किएको बाँध बनाउँदै

कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड

मध्यान्ह
२०८२ जेठ १५ गते १८:०३
सेनाले महाकालीमा भत्किएको बाँध बनाउँदै

महेन्द्रनगर : नेपाली सेनाले महाकालीको ४ लेन पुलसँगै बनेको गाइडबन्ड (बाँध) निर्माणको काम सुरु गरेको छ । गत वर्ष भदौमा आएको बाढीले २०० मिटर गाइडबन्ड (बाँध) भत्किाएको थियो ।

बाढीले बाँध भत्काएर महाकाली नदी बस्तीतर्फ सोझिएपछि महाकाली पुल, पुलको पहुँच मार्ग र आसपासका बस्तीसमेत जोखिममा परेपछि जिल्ला विपत् व्यवस्थापन समितिले विपत् संकटग्रस्त क्षेत्र घोषणाका लागि गृहमन्त्रालयलाई सिफारिस गरेको थियो । 

सोही सिफारिस अनुसार सरकारले महाकाली नदी किनारको गाइडबन्ड भत्केको क्षेत्रलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरी नेपाली सेनामार्फत काम गराउने निर्णय गरेको थियो । सोहीअनुसार नेपाली सेनाले गाइड बन्डसँगै महाकाली नदीलाई च्यानलाइजेसनको काम सुरु गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । 

निर्देशनालयका अनुसार पुल आयोजनाको स्वीकृत डिजाइन अनुसार महाकाली नदीमा भत्किएको २६५ मिटर गाइडबन्ड (बाँध) र २६ सय मिटर महाकाली नदीलाई बीच भागमा बगाउने गरी च्यानलाइजेसनको काम सेनाले गर्ने छ । अहिले महाकाली नदीमा पहिलो चरणमा २०० जनाको जनशक्ति खटिएको छ । दोस्रो चरणमा थप जनशक्ति खटाउने तयारी रहेको निर्देशनालयले जनाएको छ । सेनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरी महाकाली पुल आसपास रहेका नदीजन्य पदार्थ व्यवस्थापन गर्ने जनाएको छ ।

गत वर्ष भदौमा महाकाली नदीमा आएको बाढीले महाकाली नदीमा बनेको ४ लेनको पुलसँगै निर्माण भइरहेको पोखरीको गाइडबन्ड (बाँध) भत्काएको थियो । उक्त गाइडबन्ड निर्माणका लागि सुरुमा ठूलो ढुंगाको प्रयोग गर्ने डिजाइन बनाइएको थियो । तर ठूलो ढुंगा नपाइएपछि कंक्रिट र तारजालीमा ढुंगा भरेर गाइडबण्ड बनाउने डिजाइन बनाइएको हो । 

भत्किएको बाँध समयमा निर्माण हुन नसकेपछि आसन्न जोखिमलाई मध्यनजर गरी विपत् संकटग्रस्त क्षेत्र घोषणा गरिएपछि नेपाली

सेनाले काम सुरु गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।

गाइडबन्ड र च्यानलाइजेसनका लागि १९ देखि २९ करोड बजेट खर्च हुने अनुमान गरिएको छ ।

महाकाली नदीमा निर्माण भएको ८ सय मिटर पुलको दुवैतर्फ २७ सय मिटर लम्बाइ र ६ सय मिटर चौडाइका पोखरी निर्माणाधीन छन् । पक्की पुल, पहुँच मार्ग र गाइडबन्डलगायतको गरी ९५ प्रतिशत काम भइसकेको छ  । अब २०० मिटर पहुँचमार्ग कालोपत्रसँगै गाइडबन्डको काम मात्रै बाँकी छ  ।
 

ADV

सम्बन्धित खबर