बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन ।
शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसको गहिरो प्रचार–प्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताए ।
‘लुम्बिनी देवभूमि हो । ज्ञानभूमि हो । तपोभूमि हो । यसको महत्व विश्वभर फैलाउन जरुरी छ । यसका लागि सञ्चार माध्यमहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ,’मुख्यमन्त्री आचार्यले भने,‘लुम्बिनी प्रदेशकासमग्र क्षेत्रको विषयमा चर्चा परिचर्चा हुन जरुरी छ । विश्वको ध्यानाकर्षण गराउन मिडिया क्षेत्रको योगदान अनिवार्य हुने भएकाले सबै मिलेर अघि बढ्न जरुरी छ ।’
मुख्यमन्त्री आचार्यले मुलुक बनाउन सबै नागरिकले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए ।
लुम्बिनीको विकास र समृद्धिको लागि सञ्चार क्षेत्रबाट अहिलेसम्म उल्लेखनीय भूमिका निर्वाह भएको छ । ‘म यसको प्रशंसा गर्दछु,’उनले भने,‘समाजमा सकारात्मक सोचको विकास गर्न आवश्यक छ । यसमा मिडियाले अझ प्रभावकारी भूमिका खेल्नुपर्छ ।’
सरकारका काममा स्वस्थ आलोचना हुनु जरुरी भए पनि राम्रो कार्यहरूलाई अन्देखा नगर्न आग्रह गरे ।
‘सरकारका कमजोरी छन् भने त्यसको स्वस्थ आलोचना गर्नुस् । तर, सरकारको राम्रो काम हुँदा पनि अन्देखा गर्नुहुन्न,’मुख्यमन्त्री आचार्यले भने, ‘लुम्बिनी बनाउने काम कुनै अलौकिक शक्ति आएर हुने होइन। लुम्बिनी बनाउने जिम्मेवारी भनेको तपाई हामी सबैको हो ।’
सञ्चारमाध्यमको सहयोगबिना लुम्बिनीको प्रचार–प्रसार विश्वव्यापी बन्न नसक्ने उल्लेख गर्दै उनले पर्यटन क्षेत्रका खबरहरू जनजनका कानमा पु¥याउन सञ्चार माध्यमले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशबाट टेलिभिजन र रेडियो दुवैको नविकरण प्रक्रिया अघि बढाउन संघीय सरकारसँग समन्वय भइरहेको जानकारी दिए ।
‘प्रदेशमा मिडिया दर्ता भइरहेका छन् । अब नवीकरणको काम पनि प्रदेश तहबाट गर्न सकिने विषयमा संघीय सरकारसँग समन्वय भइरहेको छ’ उनले भने, ‘यसको निकास पनि छिट्टै निस्कने छ ।’
‘समृद्धिका लागि सञ्चार’ नारासहित आयोजना गरिएको टेलिभिजनहरूको प्रथम राष्ट्रिय कार्यशालामा राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीका अध्यक्ष नरेश केसीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली चौधरी जोग बहादुर महरा, वर्तमान मन्त्रीहरू, संघीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।