बझाङ :कुलमस्टाजन मा.वि. भातेखोलामा कृषि प्राविधिक धारतर्फका विद्यार्थीहरुका लागि संचालन भएको ५ दिने सहभागितामूलक सिकाइ र कार्य(पिएलए)तालिमको समापन गरिएको छ । त्रिभुवन विश्वविद्यालयका प्रा.डा महेश पौडेलले प्रशिक्षण दिइएको तालिममा कुलमष्टाजनको बालीविज्ञान तर्फका १ सय भन्दा बढी विद्यार्थीको सहभागीता थियो ।
५ दिने तालिममा व्यावसायिक कृषि शिक्षा तथा रोजगारी लक्षित सन्दर्भमा अभ्यासात्मक कृषिका विषय समेटिएको थियो । अध्ययनसँगै कमाइ तथा अध्ययन प्रश्चात कृषि पेशामै भविष्य खोजिरहेका विद्यार्थीहरुका लागि तालिम उपयोगी रहेको विद्यालयका कृषि संयोजक नरेश द्वालले बताए ।
विद्यार्थीले कृषि विज्ञबाट विद्यालयमै तालिम पाएकाले भविष्यमा गाउँमै कृषि उद्यम संचालन गरेर स्वरोजगार र आत्मनिर्भर बन्न सकिने भएपछि निकै उत्साहित देखिएका थिए ।
विद्यार्थीलाई कृषि क्षेत्रमा प्रयोग भइरहेको पुरानो र नयाँ विज्ञानको मिश्रण गरेर सिकाउँदा सिकाइ क्रियाकलाप समेत प्रभावकारी भएको प्रशिक्षक पौडेलले बताए ।
विद्यार्थीलाई ५ दिने तालिममा व्यवहारिक कुरासँगै फिल्डमै लगेर कृषि अभ्यासको ज्ञान सिकाएको उनले बताए ।
बाली विज्ञान पढिरहेका विद्यार्थीले तरकारी, फलफूल तथा अन्नबालीको उत्पादनमा प्रविधि, रोग कीराबाट बाली जोगाउने उपाय लगायतका विषयमा तालिमबाट जानकारी हासिल गरेका छन् ।
पछिल्लो समय स्वदेशमा भनेजस्तो रोजगारीका अवसर नपाएपछि युवाको मोह वैदेशिक रोजगारीमा देखिएको छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा जान थालेसँगै खेतीयोग्य जमिन बाँझो बस्ने क्रम बढेको छ । यसलाई रोक्न विद्यालयमा भइरहेको बाली विज्ञान विषयको पढाइ प्रभावकारी बन्न सक्ने बिद्यालयका प्रधानाध्यापक मोहन थापाले बताए ।
कृषि क्षेत्रमा युवा प्राविधिकको संख्या बढाउने उद्देश्यले सुरू गरिएको बाली विज्ञान विषयमा अहिले कक्षा ९ देखि १२ सम्म पढाइ भइरहेको र कुलमष्टाजनमा धेरै टाढाबाट विद्यार्थी अध्यन गर्न आउने गरेको उनले बताए ।
समापन कार्याक्रममा बोल्दै उनले कृषि शिक्षा अहिलेको आवश्यकता र विशेषतः रोजगारी लक्षित विषमा अभ्यासात्मक तालिम संचालन भएकोले बालीविज्ञान अध्ययन गर्न विद्यार्थीका लागि एकदमै महत्वपूर्ण भएको बताए ।
५ दिने कृषि सम्बन्धि सिकाइ अभ्यासको समापन कार्यक्रममा बोल्दै वडा नं ४ का अध्यक्ष उत्तम जोशीले विद्यालयबाट उत्पादन भएका दक्ष कृषि प्राविधिकलाई किसानका खेतबारीमा प्रयोग गर्न सक्दा पनि कृषि उत्पादनमा बढोत्तरी आउने बताए । आगामी बजेटमा विद्यालका कृषि प्राविधिक अध्ययन गरिरहेका विद्यार्थीलाई मध्यनजर गरी बजेट विनियोजन बनाउने र व्यवसायिक कृषिसँग जोड्दै आत्मनिर्भर हुन ध्यान केन्द्रित गर्ने उनले प्रतिबद्धता जनाए ।