सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान बसपार्क जीर्ण बनेको छ । बसपार्क निर्माण सम्पन्न भएको २ वर्ष भएपनि सञ्चालनमा आएको छैन । बसपार्क सञ्चालनमा नआउँदै जीर्ण बन्दै गएको हो ।
बागमती प्रदेश सरकारको ४ करोड ३६ लाख ४१ हजार ४ सय १६ रुपैयाँ लागतमा निर्माण भएको टर्मिनल बसपार्क निर्माण सम्पन्न भएको २ वर्षमा पनि सञ्चालनमा आउन सकेको छैन । बसपार्कको संरचनामा नआएपछि यसका संरचनाहरू भत्किदै जीर्ण बन्दै गएको छ भने बसपार्कमा झारबुटा पलाई कुरुप बनेको छ ।
भिमान बसपार्कमा पाकिङ, टिकट काउन्टर, प्रतिक्षालय, खानेपानी, फुलबारी, कार्यालय, कर्मचारीका लागि आवस, अशक्तका लागि आराम कक्ष, ग्यारेज, सर्भिस गर्ने ठाउँ, सौर्य बत्ति, महिला र पुरुषका लागि छुट्टा छुट्टै शौचालय, विश्वकर्मा बाबाको मन्दिरसहितको भौतिक संरचना निर्माण गरिएको छ ।
बनेपा–सिन्धुली–बर्दीवास (बीपी) राजमार्ग र हेटौंडा–सिन्धुली–गाइघाट (मदनभण्डारी) लोकमार्गको संगम स्थलका रूपमा रहेको भिमानमा निर्माण भएको टर्मिनल बसपार्क निर्माण सम्पन्न भएको दुई वर्ष हुँदा पनि कमलामाई नगरपालिकाले बुझ्न नमान्दा सञ्चालनमा आउन सकेको छैन ।
भिमान बसपार्कमा साना ठूलागरी कम्तिमा पनि एक सय सवारी साधन पार्किङ गर्न सकिने बताइन्छ । डबल लेनको टर्मिनल सहितको बसपार्क हस्तान्तरण नहुँदा सञ्चालन नआउँदै भत्किएर जीर्ण बन्दै गएको हो ।
सहरी विकास तथा भवन कार्यालय मार्फत निर्माण सम्पन्न उक्त बसपार्क २०८० साल असोज महिनामा बागमती प्रदेशका तत्कालिन मुख्यमन्त्री शालिकराम जम्कटेलले एक समारोहका विच उद्घाटन गरेका थिए । सोही दिन उक्त बसपार्क कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम भएपनि कमलामाई नगरपालिकाका नगर प्रमुख कार्यक्रममा अनुपस्थित भएपछि बसपार्क हस्तान्तरण नगरी उद्घाटन गरिएको थियो । त्यसपछि नगरपालिकाले प्रक्रिया नपुगेको भन्दै बसपार्क आफ्नो स्वामित्वमा लिएको छैन ।
सहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख दुर्गाप्रसाद घिमिरेले बसपार्क हस्तान्तरणको पत्र नगरपालिकालाई करिब दुई वर्षअघि नै पठाइएको भएपनि त्यसलाई बुझ्न मानेको छैन ।
यसबीच कमलमाई नगरपालिकाका उप–मेयर मञ्जु देवकोटाले भत्केका र बिग्रेका सबै संरचना मर्मत गरी जस्ताको तस्तै नबनाएसम्म बसपार्क नबुझ्ने बताइन् ।
उनले भनिन्, ‘हामीले बिग्रेका सबै संरचना पहिलाको जस्तै बनाउनु प¥यो भनेर भनेका थियौं तर मर्मत नै नगरी उद्घाटन गरेर बुझाउन थालिएपछि नगरपालिकाले बुझ्न नसकेको हो । हामीले भनेअनुसार अहिलेसम्म विग्रेका संरचना निर्माण हुन सकेको छैन ।’