२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

नेपाल–भारत सीमामा निगरानी बढ्दै

निमिष झा
२०८२ जेठ २१ गते ०६:२५
नेपाल–भारत सीमामा निगरानी बढ्दै

काठमाडौं : नेपालमा संदिग्ध पाकिस्तानी आतंकवादीको उपस्थिति रहेको भारतले दाबी गरेको छ । भारतको उक्त दाबीपछि दुवै देशले संयुक्त सीमा गस्ती अभियान बढाएको छ ।

भारतको सशस्त्र सीमा बल (एसएसबी) र नेपालको सशस्त्र प्रहरी बल (एपीएफ)ले दुवै देशबीचको दसगजा क्षेत्रको घना जंगलमा आतंककारीहरूको हतियार हुन सक्ने आशंकामा संयुक्त खोजी अभियान चलाइएको हाृ । भारत र नेपालबीच १ हजार ७०० किलोमिटरभन्दा बढी लामो खुला सीमा छ । खुला सीमाका कारण पाकिस्तानी संदिग्ध आतंककारीहरूको नेपाल भित्र घुसपैठ हुन सक्ने आशंका भारतीय सुरक्षा अधिकारीहरूको छ ।

एसएसबी)का अधिकारीहरू नेपालमा सन्दिग्ध व्यक्तिहरू रहेको गोप्य सूचना प्राप्त भएपछि सीमा क्षेत्रमा गस्ती बढाइएको हो ।

नेपाली सुरक्षा अधिकारीहरूले पनि भारतको कश्मीरमा पहलगाम घटना र पछिल्लो भारत–पाकिस्तान तनावपछि भारतसँगको खुला सीमा जोडिएका क्षेत्रमा केही देशका नागरिकलाई विशेष निगरानी जारी राखेको बताएका छन् ।

भारतको एसएसबी कमान्डेन्ट गंगा सिंहका अनुसार संयुक्त गस्तीमा नेपाली सशस्त्र प्रहरीहरू पनि आतंकवादविरुद्ध लडिरहेका छन् । 

नेपालगन्ज क्षेत्रमा एक इस्लामिक संगठन भएको र त्यहाँ पाकिस्तानीहरू विशेष कार्यक्रमका लागि आउने गरेको उनले दाबी गरे । 

सिंहले पाकिस्तानी आतंकवादीले कुनै पनि स्थानलाई निशाना बनाउन सक्ने पनि बताउँदै यसका लागि उनीहरूले सेल्टरको रूपमा नेपाललाई छानेको पनि दाबी गरे । ‘यसमा नेपाली सुरक्षा बलले एसएसबीलाई निरन्तर सहयोग गरिरहेको छ’ सिंहले भने ।

भारतीय सुरक्षा चासो झन् बढ्यो

भारतीय सञ्चारमाध्यमहरूले पनि २ देशका सीमा सुरक्षाबलहरूले संयुक्त गस्ती गरिरहेको जनाएका छन् ।

पछिल्ला दिनहरूमा नेपाल–भारत सीमा क्षेत्रमा ड्रोनहरू उडेको भन्ने भारतीय अधिकारीहरूको दाबी छ । यद्यपि नेपाली सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रमा ड्रोन उडेको जानकारी आफूहरूलाई नभएको जनाएका छन् ।

नेपाली सुरक्षा अधिकारीहरूका अनुसार भारत र पाकिस्तानबीच तनाव बढ्दा जहिल्यै पनि नेपाल–भारत सीमा क्षेत्रमा ‘सुरक्षा थ्रेट’ उत्पन्न हुने गरेको र त्यसमा भारतले चासो देखाउँदै आएका छन् ।

भारतमा भएका कतिपय आतंककारी घटनामा नेपाली भूमिबाट तेस्रो मुलुकका नागरिक भारत प्रवेश गरेको घटनाहरूको पृष्ठभूमि मुख्य भएको उनीहरूको भनाइ छ ।

नेपाली अधिकारीहरू यस्तो गस्ती नियमित नै भएको तर भारत–प्रशासित कश्मीरको पहलगाममा भएको घटना तथा भारत र पाकिस्तानबीच बढेको तनावपछि गस्तीको संख्या बढाइनुका साथै सतर्कता पनि अपनाइएको छ ।

पहलगाममा उग्रवादीहरूले गत अप्रिलमा गरेको हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । त्यसपछि भारतले अपरेशन सिन्दुर अभियान चलाएर पाकिस्तानमाथि आक्रमण गरेको थियो । प्रत्युत्त।मा पाकिस्तानले पनि भारतमाथि आक्रमण गरेको थियो । भारत र पाकिस्तानबीच ४ दिनसम्म चलेको युद्ध अमेरिकाको पहलमा युद्धविराम भएको हो ।

सशस्त्र प्रहरी बलले पछिल्लो परिस्थितिमा सीमा क्षेत्रमा निगरानी बढाइएको हो । पहिलेको तुलनामा नेपाल–भारत सीमा क्षेत्रमा कडाइ धेरै गरिएको र दुवै देशका सीमा सुरक्षाको जिम्मा पाएका निकायबीच थप समन्वय विस्तार गरिएको पनि सशस्त्रका अधिकारीहरू बताउँछन् ।

भारतले दिएको गोप्य सूचनाका आधारमा सीमामा कडाइ गरिएको भन्ने आधारलाई सशस्त्रले अस्वीकार गरेको छ ।

‘हामीलाई पनि उत्तिकै सुरक्षा चुनौती छ । हाम्रो पनि संवेदनशीलता छ । अवान्छित व्यक्तिहरू आउलान् भन्ने पिर हामीलाई पनि छ’, सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता कालिदास धौबजीले भने ।

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले पनि पछिल्ला दिनमा दुवै देशका सुरक्षाकर्मी र अधिकारीहरूले सीमामा थप कडाइ गरेको बताएका छन् ।

नेपाली अधिकारीहरूका अनुसार विशेष गरी नेपालमा प्रवेश गर्ने वा गर्न सक्ने भनी पाकिस्तानी र बंगलादेशी नागरिकहरू तथा म्यान्मारबाट आउन सक्ने रोहिन्या शरणार्थीलाई विशेष निगरानीमा राखेका छन् ।

प्रहरी पनि सक्रिय

नेपाल प्रहरीले पनि पहलगाम घटनापछि सीमा नाकाहरूमा आवतजावत गर्नेहरूको तीनपुस्ते विवरण राख्न थालेको छ । प्रहरीले यो मामिला अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन तर सीमामा कडाइ भने बढाएको छ ।

नेपाल ट्रान्जिट नबनोस् भनेर संवेदनशील भएर काम गरिरहेको र नेपालको भूमिबाट कुनै पनि अनधिकृत व्यक्ति गएर अर्को देशमा कुनै पनि आपराधिक गतिविधि नगरून् भनेर सचेत रहेको नेपाल प्रहरीका उच्च अधिकारीहरूको भनाइ छ ।

सुरक्षा अधिकारीहरूका अनुसार भारत र पाकिस्तानबीच तनाव बढ्दा नेपाल र भारतको सीमा क्षेत्रमा सुरक्षा दबाब पर्ने विभिन्न कारणहरू रहेका छन् । त्यसको एउटा कारण दुई देशबीच खुला सिमाना हो । खुला सीमाकै कारण घुसपैठ हुने सम्भावना धेरै रहन्छ ।

भारतसँग तीनतिरबाट सिमाना जोडिएकाले अन्तर्राष्ट्रिय चासो हुने हुँदा छिमेकीको सुरक्षा चासोलाई पनि नेपालले ध्यान दिएको प्रहरीका अधिकारीहरू बताउँछन् ।

भारतको सुरक्षालाई चुनौती दिने तेस्रो देशका मानिसहरू नेपाल आएका र नेपालको सुरक्षालाई चुनौती दिने व्यक्ति भारतमा लुकेर बसेका घटना धेरै छ । तर नेपाल र भारतबीच सुपुर्दगी सन्धि भए पनि त्यसको प्रक्रिया पूरा गर्दा समय लाग्ने भएकाले दुवै देशका सुरक्षा अधिकारीहरूले गुपचुप रूपमा त्यस्ता व्यक्तिलाई पक्रेर बुझाउने गरेका छन् ।

२४ डिसेम्बर १९९९ मा कश्मिरी पृथक्तावादीहरूले काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डिएन एअरलाइन्सको विमान अपहरण गरेको घटनादेखि भारतले नेपालसँगको सुरक्षा चासो बढाउँदै आएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर