२०८२ जेठ २० गते मङ्गलवार / Jun 03 , 2025 , Tuesday
२०८२ जेठ २० गते मङ्गलवार
Ads

तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने अन्तिम तयारी, अनुगमन गर्न इकोमसको टोली आउँदै

क्षितिज किरण
२०८१ असार २७ गते १५:३७
तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्ने अन्तिम तयारी, अनुगमन गर्न इकोमसको टोली आउँदै

कपिलवस्तु : सरकारले विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको शाक्य गणराज्यको राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट)को अनुगमन मूल्यांकनका लागि अन्तर्राष्ट्रिय मिसन टोली नेपाल आउने भएको छ । आगामी अगस्ट अन्तिममा इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स ‘इकोमस’को विज्ञ टोली तिलौराकोट आउने भएको हो । मिसनले अगस्ट २६ देखि सेप्टेम्बर १ सम्म यहाँको अनुगमन मूल्यांकन गर्ने प्रस्ताव गरेको छ ।

मिसनले आफ्नो प्रतिवेदन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को विश्व सम्पदा केन्द्रमा बुझाएपछि त्यसमाथि विस्तृत छलफल हुनेछ । शुरुमा विश्व सम्पदा केन्द्रको सल्लाहकार समूहले प्रतिवेदनमाथि छलफल गरेर के गर्ने भन्ने निर्णय गर्न सिफारिस गर्नेछ । त्यसैका आधारमा विश्व सम्पदा समितिले छलफल गरेर राय सुझावसहित समितिको सन् २०२५ मा हुने ४७औं सेसनमा निर्णयार्थ पेस गर्ने तिलौराकोटको नोमिनेसन डोसियर (मनोनयन दस्ताबेज) तयारी समिति संयोजक तथा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले बताए ।

यही जुलाई २१ देखि ३१ सम्म भारतमा हुने विश्व सम्पदा समितिको ४६औं सेसनले अर्को वर्षको बैठकबारे स्थान र मिति तय गर्ने कार्यक्रम छ । युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार इकोमसले फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईलाई पत्राचार गरेर मिसन आउनेबारे जानकारी दिएको हो ।

मिसन आउनुअघि नै तिलौराकोटलाई सजाएर ‘प्रिजेन्टेबल’ बनाउन लागिपरेको कोषका सदस्य–सचिव सानुराजा शाक्यले बताए । ‘तिलौराकोटमा रहेको कोषको सम्पर्क कार्यालय भवन भत्काउन टेन्डर गरिएको छ,’ उनले भने, ‘तिलौराकोटदेखि पश्चिम रहेको शिवगढ गाउँका ३७ घर हटाउन असारसम्मको म्याद दिइएको छ ।’ बाँकी १३ घरलाई पनि मुआब्जा लिन आउन सूचना जारी गरिएको उनले बताए ।

ADV

सम्बन्धित खबर