२०८२ साउन ३ गते शनिवार / Jul 19 , 2025 , Saturday
२०८२ साउन ३ गते शनिवार
Ads

गायन विधामा अर्यालको नयाँ स्वाद

shivam cement
२०८२ साउन ३ गते ०६:३५
गायन विधामा अर्यालको नयाँ स्वाद

नेपाली लोक गीत संगीतमा काँठे भाकाको अलग्गै विशेषता छ । ४ भञ्ज्याङको सेरोफेरोका रीतिथिति, संस्कार संस्कृति र परम्परा, पेशालगायत समुदायका कथा काँठे भाकाका विशेषता हुन् । यही मौलिकपनको पहिचान प्रवद्र्धनको पर्याय गायिका हुन्, प्रतिमा अर्याल । हेटौंडाको माटोमा भिजेका भाका गायनमार्फत कला यात्रा प्रारम्भ गरेकी अर्यालले अहिलेसम्म करिब ७ सय गीत गाएकी छन् । यसमध्येका करिब १ दर्जन गीत पश्चिमेली भाकाका छन् । बाँकी सबै गीतहरु काँठे भाकाका हुन् । उनका ‘ओए गनगन’, ‘सेतो सेतो कमेरो माटो’, ‘लाग्छ माया’, ‘ओए पापी’, ‘रुपै रैछ मोहनी लाउने’, ‘गैरी पीपल’, ‘हे माया बैगुनी’, ‘मेरो काले’, ‘बाँसको डोको’, ‘घारमा मौरी’, ‘सान्नानी’, ‘उडी जाने रानी चरी’, ‘पूर्वतिर घाम छ’, ‘बाँसको डोको’लगायत बोलका गीतहरु दर्शक स्रोताले धेरै रुचाएका छन् । काँठे भाकाबाट चिनिएकी गायिकाले अहिले काँठे भाकाभन्दा फरक गायन शैलीमा ‘दामी देखिन्छौ’ बोलको सिर्जना तयार पारेकी छन् । प्रस्तुत छ अर्यालसँग काँठे भाकाको गायनसँग व्यक्तिगत, पारिवारिक, सामाजिक र पेशागत जीवनको सम्बन्धका विषयमा मध्यान्हले गरेको कुराकानीको सम्पादित अंश :

के मा व्यस्त हुनुहुन्छ ?

मेरो ‘दामी देखिन्छौ’ बोलको नयाँ सिर्जनामा व्यस्त थिएँ । यो फरक स्वादको नयाँ गीत हो । यो सिर्जना आम दर्शक स्रोताको पहुँचमा पुर्‍याउने योजना र काममा व्यस्त छु । 

फरक स्वादको भन्नाले ?

तिजको सामाजिक स्वरुप परिवर्तन भएको छ । यो विवाहित श्रीमतीको कथामा आधारित छ । तिजको मर्म दाम्पत्य जीवनसँग जोडिएको छ । दाम्पत्य जीवनमा आपसी समर्पणको कथा गीतमार्फत प्रस्तुत गर्न खोजेकी छु । परिस्थितिजन्य कारणले आफ्नो साथमा नरहेका श्रीमान्लाई आफ्नै साथमा रहेको अनुभूति गराउने मेरो प्रयास छ । नियति भनेर आपसी विश्वासमा आँच आउन दिनुहुँदैन । नियत सफा छ भने व्यवहारिक परिस्थितिलाई स्वभाविकरूपमा लिनुपर्छ भन्ने सन्देश दिन खोजेकी छु ।

यो पनि काँठे भाका नै हो ?

होइन, यो ठ्याक्कै काँठे भाका होइन । त्यसैले नयाँ स्वादको भन्न खोजेकी हुँ । जुन क्षेत्रका स्रोताले सुने पछि मेरै भाका रहेछ भन्ने महसुस गराउने प्रयास गरेकी छु । 

अहिलेसम्म कति वटा गीतमा स्वर दिनुभएको छ ?

संख्यामा यति नै भन्न सकिनँ । तर करिब ७ सय जति भए होलान् ।  

संगीत पनि आफैं सिर्जना गर्नुहुन्छ कि ?

म गायिका हुँ, गाउँछु । संगीतमा अग्रज संगीतकारको सिर्जनामा विश्वास गर्छु । बरु, शब्द चाहिँ आफैं पनि लेख्छु । 

आफूले गाएका गीतमध्ये मनमै गढेका गीतहरु कुन–कुन हुन् ?

यो त संंवेदनशील प्रश्न हो । आफूले जन्माएका सन्तानहरू अति अशक्त भए पनि, पूर्ण अपाङ्ग भए पनि, सबल भए पनि, दुर्बल भए पनि आमालाई सबैको बराबर माया लाग्छ ।

तपाईं गायन क्षेत्रमा कसरी आउनुभयो ?

मेरा बाबा ममी दुवै जना सामाजिक क्रियाकलापमा गीत गाउनुहुन्थ्यो । उहाँहरुमा गायन चेत थियो । यसैको प्रभाव हुनुपर्छ । म पनि स्वतःस्फूर्त गुन्गुनाउन थालें । सबैले स्वर राम्रो छ भन्न थाल्नुभयो । यसबाट प्रेरित भएर गायिका भएँ ।  

गायिका (महिला) भएका कारणले गायन विधामा काम गर्न असजिलो भएको त्यस्तो कुनै अनुभव छ ?

छ नि, यहाँ लैंगिक मात्र होइन, अन्य क्षेत्र, पक्ष छन् । जसले कला क्षेत्रमा अदृश्य प्रभाव राखेको छ । म गायन क्षेत्रमा भएकाले यसका पक्षमा धेरै अनुभूति गरेकी छु । सुरुमा त लाग्थ्यो, काठमाडौं गयो, गीत रेकर्ड गरायो । त्यसपछि त भइहाल्छ नि । पछि थाहा भयो, सिर्जनालाई उत्कृष्ट बनाउन जति काम गर्नुपर्छ, दर्शक स्रोताका हातमा पुर्‍याउन त्योभन्दा पनि धेरै काम गर्नुपर्ने रहेछ । यहाँ त साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेपछि मात्र सिर्जना देखाउन सकिने ठाउँमा पुग्ने रहेछ । यसो भन्दा, नवआगन्तुकहरू हतोत्साहित नहोउन् । बाहिरबाट हेर्नु र वास्तविक धरातलमा काम गर्नु फरक हो । बुझेर आउनुपर्छ । सुझबुझ, धैर्यता र परिस्थितिको सामना गर्ने सामथ्र्य भए महिला हुनु र पुरुष हुनुले फरक पार्दैन ।

गीतका विषय कसरी छान्नुहुन्छ ?

सामाजिक, पारिवारिक, संस्कार, संस्कृति र परम्परागत आयामका गीत मेरा रोजाइका गीत हुन् । यसप्रति मेरो लगाव छ, रहन्छ । 

लोक जीवनमा आधारित धेरै विधाका गीत छन् । तपाईंले काँठे भाका नै छान्नुको कारण चाहिँ ?

म हेटौँडामा जन्मेकी हुँ । यो काँठ क्षेत्रमा पर्छ । मेरो माटोबाट आएको काँठ क्षेत्रको सुगन्धले मलाई काँठे भाकाको गायिका बनायो । 

लोक गीत संगीतमा काँठे भाकालाई कसरी चिन्नुहुन्छ ? यो भाका चिन्ने केही विधि छ ?

काँठ क्षेत्रको सामाजिक रहनसहन, संस्कार, संस्कृति र परम्पराको कथा बोकेको, मौलिक वादनमा प्रकृति र प्राणीबीचको आत्मीय कथा, धार्मिक कथा, प्रेमको भाव र प्रयोग सिकाउने कथा काँठे भाकामा समेटिएका हुन्छन् । हरेक भेगका गायन शैली हुन्छन् । शैलीबाटै गीतको पहिचान गर्ने हो । यो भाका पनि गायन र वादन शैलीबाट थाहा पाउन सकिन्छ ।

काँठे भाकामा प्रयोग हुने शब्द कसरी छनोट गरिन्छ ?

व्यक्तिले अनुभूति गरेका सबै कुरा चाहेर पनि व्यक्त गर्न सक्दैन । मनमा कोरिएका चित्र अरुलाई देखाउन सकिँदैन । यसरी व्यक्त गर्न कठिन भएका, देखाउन नसकिएका भावलाई प्रतीकात्मक र विम्बात्मक शब्द काँठे भाकामा छनोट गरिन्छ । यसमा टुक्का र अन्त्यानुप्रास हुन्छ । सरल शब्द, तर गहिरो अर्थ काँठे भाकामा छानिएका शब्दहरुको प्रकृति हो । 

भाका गाउनका लागि ठाउँ, समय, वाद्यवादक, उमेर समूह निर्धारण गरिएका कुनै त्यस्ता प्रकार छन् ?

काँठे भाकाको इतिहास हेर्दा यो धार्मिक गायनका रूपमा प्रयोग भएको पनि पाइन्छ । यो भनेको भजन गायन हो । स्वभावैले भजन गाउँदा धार्मिक स्थान र सामाजिक समारोहमा गाइन्छ । रुची र सहभागिताका दृष्टिले यस गायनमा प्रौढ र ज्येष्ठ नागरिकहरूको बाहुल्यता हुन्छ । यस प्रकारको गायन साँझ वा त्यसपछिको समय छानिन्छ । यसको बृहत् अध्ययन र अभिलेखन आवश्यक छ । 

काँठे भाकाको विकास क्रम र यसमा आएका परिवर्तनलाई कसरी लिनुहुन्छ ?

गीत संगीतका क्षेत्रमा सूचना, सञ्चार र प्रविधिले धेरै परिवर्तन ल्याएको छ । यसको विकासको क्रम पनि यससँगै सम्बन्धित छ । सामाजिक अवस्था र व्यवस्था परिवर्तनसँगै गीतप्रति दर्शक स्रोताको रुचीलाई ध्यान दिएर भाका सिर्जना हुन थालेका छन् । सामाजिकभन्दा प्रेमका कथाले महत्व पाएका छन् । धार्मिक गायन छुट्दै र टुट्दै गएको छ । यस्ता अनेक आयाम छन् ।

अहिले सार्वजनिक भएका सिर्जनामा गायन, वादन तथा प्रस्तुति शैली सही मार्गमा छ कि छैन ?

सही र गलत शब्दले छुट््याएर हुँदैन । परिवर्तनका आफ्नै स्वाद् छन् । यो विषय अध्ययन पछि मात्र भन्न सकिने कुरा हो ।

काँठे भाका गायनबाट कला यात्रा प्रारम्भ गर्ने इच्छा राख्ने कलाकारलाई नभनी नहुने कुरा के छ ?

यो एउटा पेशा हो । पेशासँग व्यक्ति तथा उसको परिवार र समाजको गहिरो सम्बन्ध हुन्छ । यसको व्यावसायिकता, आफ्ना अन्तरनिहित क्षमता, धैर्यता, यात्राका सहयात्रीको साथ र सहयोगलगायत प्रपञ्च मिलाएर यस क्षेत्रमा प्रवेश गर्नुभयो भने गायन यात्राको गन्तव्यमा पुग्न सजिलो हुनेछ । यात्राको पूर्वतयारी बलियो बनाउनु भन्न चाहन्छु ।     

भाकाको विकास र विस्तारका लागि दर्शक स्रोताले पूरा गर्नुपर्ने केही दायित्व छन् ?

मेरा सिर्जनालाई थप कर्णप्रिय र रचनात्मक बनाउन सिर्जनात्मक सुझाव दिनुभयो भने त्यो नै मेरा लागि दर्शक स्रोताले पूरा गर्नुभएको दायित्व हुनेछ । 

सरकार वा साझेदारसँग कुनै अपेक्षा ?

सरकारले कला र कलाकारिता क्षेत्रको क्षमतालाई शिक्षा, सूचना, जानकारी तथा सन्देश संवाहकका रूपमा उपयोग गर्नुपर्छ । यसरी काम गर्ने कलाकारलाई देशको आभूषणका रुपमा सजावट गर्नुपर्छ । धुलोमैलोबाट बचाउनुपर्छ । यो सबै काम सरकारको हो । 

अन्त्यमा, काँठे भाकाको मौलिकपन बचाउन, भाकामा छुट्दै गएका, हराउँदै गएका पनलाई पुनरुत्थान गराउन तपाईंको भूमिका कस्तो रहला ?

म माटोको बास्ना पहिचान गर्न सक्छु । यो बास्ना छोडेर कृत्रिम अत्तरको बास्ना पछ्याउँदै जान्न । मौलिकताबाट मेरो पहिचान र पेशागत जीवन यहाँसम्म आएको हो । यसैलाई दिगो र समाजको अंग बनाउन चाहन्छु । यसका लागि तन, मन, वचन र कर्मले समर्पित भइरहनेछु ।

ADV

सम्बन्धित खबर

Advertise