– हस्तबहादुर केसी
दार्शनिक फाँटअन्तरगत दार्शनिक प्रणालीभित्र दार्शनिक पक्षधरताको प्रश्न एक महत्वपूर्ण प्रश्न हो । उत्पत्तिसँगै दर्शनले वर्गीय पक्षधरता कायम राख्दै आएको छ । वर्गसमाजमा दर्शनले निश्चित वर्गको पक्षधरता कायम गरेको हुन्छ । मानव समाजमा जब वर्गको जन्म तब दर्शनको पनि जन्म भएको थियोे । दर्शन कुनै ठाउँ विशेषको, दर्शन कुनै स्थान विशेषको हुँदैन । त्यो वर्ग विशेषको हुन्छ । अर्थात् दर्शन वर्गीय हुन्छ ।
यहाँ दार्शनिक प्रणालीभित्र दार्शनिक पक्षधरताको विषयलाई मुख्य विषयसँग अन्तर्सम्बन्धित रहेर यो दार्शनिक आलेख लेख्ने प्रयत्न गरिएको छ । दर्शनको जन्म कहिले भयो ? दर्शन भनेको के हो ? र दर्शनको विकास कसरी भयो ? आदि विषयबाट यो आलेख शुरु गर्ने प्रयत्न गरिएको छ ।
दर्शनको जन्म र विकास कसरी भयो ? भन्ने विषय ज्यादै महत्वपूर्ण प्रश्न हो । उत्पादन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगको बीचबाट दर्शनको जन्म भएको थियोे । मानव समाजको विकासको क्रममा मातृसत्ता समाजको विघटन र पितृसत्ता समाजको स्थापनासँगै दासमालिक समाजको विकास प्रक्रियाका बीचबाट प्राचीन युनान, भारत, नेपाल, चीनमा सँगसँगैजसो दर्शन विकसित हुँदै आएको पाइन्छ ।
यसरी दर्शनशास्त्र एक अति प्राचीन विज्ञान हो । दर्शनको शाब्दिक अर्थ कुनै पनि वस्तुलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र त्यसलाई बदल्ने साधनको नाम हो । विश्वको उत्पत्ति कसरी भयो ? पृथ्वीमा जीव जन्तु र मानिसको जन्म र विकास कसरी भयो । यी आफैँ जन्मिएका हुन कि यीनलाई जन्माउने कुनै ईश्वर वा अलौकिक शक्ति छ ? प्रकृति र समाजको उत्पत्ति कसरी भयो ? भविष्यमा विश्वको स्थिति के होला ? के मान्छेले प्रकृति र समाजवारे सम्पूर्ण ज्ञान प्राप्त गर्न सक्छ ? के मानिस आफ्नो ज्ञान व्यावहारिक क्रियाकलापका आधारमा प्रकृति र समाजलाई बदल्न समर्थ छ ? मानव जीवनका उद्श्ये, आदर्श , कर्तव्य र मूल्य के हुन् ? यी र यस्तै अनेकौं प्रश्नहरुको सही जवाफ खोज्ने मान्छेको जिज्ञासाबृत्तिको उपज र अभिव्यक्ति नै दर्शन हो ।
अर्को शब्दमा दर्शन भनेको मानिसको जीवन र जगतलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्ने उसको दृष्टिकोण हो । तसर्थ दर्शन भनेको मान्छेको भित्री आँखा हो ।
दर्शन भनेको प्रकृति, मानव समाज एवं चिन्तनका चालक नियमहरुको विज्ञान हो । यसले प्रकृति र मानव समाज एवं चिन्तनका ती चालक वा सामान्य नियमहरुको अध्ययन गराएर उसको विश्वदृष्टिकोणको निर्माण गर्दछ । अर्थात् दर्शन भनेको जीवन र जगतको तथा प्रकृति र मानव समाजको एवं चिन्चनका सामान्य नियमहरुको अध्ययन गर्ने एक पद्धति हो । दर्शनले जीवन र जगतको बारेमा बुझ्ने र त्यसलाई बदल्ने तथा बदलिएको बस्तुलाई कसरी संरक्षण गर्ने भन्ने कुरा सिकाउँछ ।
दार्शनिक फाँटका क्षेत्रमा एउटा शास्त्रका रुपमा दर्शन शब्दको पहिलो प्रयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन् । उनले दर्शनलाई बुझाउने फिलोसोफी शब्दको प्रयोग गरेका थिए । फिलोस (प्रेम ) र सोफिया (विवेक) जस्ता शब्दको मिलनबाट फिलोसोफी बन्न पुग्यो, जसको अर्थ विवेक प्रेम हुन्छ ।
दर्शन शब्द संस्कृत भाषाको ‘दृश्’ धातुबाट बनेको छ । दृशको अर्थ हेर्नु, जाँच्नु र बुझ्नु हुन्छ । मार्क्सवादका प्रनेता कार्ल मार्क्सका अनन्य मित्र फ्रेडरि एंगेल्सले यस प्रकारको दर्शनलाई ‘विश्वदृष्टिकोण’ भन्नुभएको छ । कार्ल मार्क्सले हरेक साँचो दर्शन आफ्नो समयको ‘बौद्धिक सारतत्व’, संस्कृतिको जीवन्त आत्मा भन्नुभएको छ । दर्शनशास्त्रको पहिलो ग्रन्थ ‘नासदीय सूक्त’ हो ।
अब दार्शनिक प्रणालीभित्र पर्ने दार्शनिक पक्षधरताको प्रश्नका बारेमा जानकारी प्राप्त गर्न जरुरी हुन्छ । यहाँनेर हामीले जान्नै पर्ने विषय के हो भने दर्शन सामाजिक चेतनाको एउटा विशिष्ट रुप हो । यसको अर्थ वर्गसमाजमा सामाजिक चेतनाको चेतनाको रुप पनि वर्गीय हुन्छ । ठिक यसै परिणामको कारणले गर्दा दर्शनको रुप पनि वर्गीय हुन्छ । यसबाट हामी यो निष्कर्षमा पुग्दछौ कि वर्गसमाजमा हरेक वर्गले आफ्नो विचार, इच्छा, आकांक्षा, मत, संकल्प, भावना एवं आफ्ना क्रियाकलापको औचित्य पुष्टि गर्न जरुरी हुन्छ । तसर्थ दर्शनले ठिक यसै आौचित्य पुष्टि गर्ने काम गर्दछ ।
मानव समाजमा वर्गको जन्म पश्चात् वर्गसंघर्ष चल्दै आएको छ र वर्गको विलोपीकरण, राज्यको विलोपीकरण नभएसम्म वर्गसमाजमा वर्गसंघर्ष जारी रहन्छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले यसको वैज्ञानिक रुपमा निरुपण गरिसकेको छ । त्यसैले दर्शनले वर्गसंघर्षमा दृढ पक्षधरताको माग गर्दछ । यो स्वाभाविक रुपमा वैज्ञानिक नियम हो कि वर्गसमाजमा विभिन्न वर्गका स्वार्थहरु एक अर्कोमा टकराँउछन् र ती भिन्न भिन्न विचार र दृष्टिकोणका रुपमा प्रतिबिम्बित बन्न पुग्छन् । तसर्थ ती भिन्न विचारहरुको आधाशिलामा विभिन्न दृष्टिकोणको निर्माण हुन्छ ।
यो दर्शनशास्त्रको मौलिक प्रश्नले स्पष्ट पारिसकेको विषय हो कि दर्शनशास्त्रको इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्वन्द्ववाद र अधिभूतवाद बीच मानव समाजमा जुन संघर्ष चल्दै आएको छ , त्यो नै यसै वर्गीय तथा वैचारिक संघर्षको प्रतिबिम्बन र परिणाम हो ।
आजको युग साम्राज्यवाद र विश्वसर्वहारा वर्ग बीचको भीषण वर्गसंघर्षको युग हो । अर्थात् लेनिनकै शब्दमा आजको युग वैज्ञानिक समाजवादी क्रान्तिको युग हो । यसरी मानव समाजको विकासको प्रक्रिया अन्तरगत आजसम्म तमाम प्रकारका आदर्शवाद र भौतिकवाद तथा यान्त्रिक भौतिकवादका बीच जुन संघर्ष चल्दै आएको छ त्यो तमाम प्रकारका प्रतिक्रियावादी र क्रान्तिकारी जनसमुदाय, साम्राज्यवादमा गिरिसकेको पुँजीपति वर्ग तथा विश्वसर्वहारा वर्ग बीचको जीवनमरणको वर्गसंघर्षको प्रतिबिम्बन र परिणाम हो ।
दार्शनिक फाँटको क्षेत्रमा मूलतः दर्शनशास्त्रको मौलिक प्रश्नको क्षेत्रमा बीचको धारा तेस्रो धारा पनि प्रकट हुदै आएको छ । मानव समाजमा भौतिकवाद र आदर्शवाद बीचको लडाइँमा जसले आफूलाई गैर पक्षधर, तटस्थ वा तेस्रो धाराको हिमायती देखाउने गर्दै आएका छन् वास्तवमा ती मूलतः प्रतिक्रियावादी वर्गको वर्ग, तिनको वर्गहित र विचारधाराकै प्रतिनिधि हुन् । यसरी दर्शनशास्त्रको मौलिक प्रश्नको क्षेत्रमा आफूलाई तटस्थ, गैर पक्षधर वा आदर्शवाद, भौतिकवादभन्दा पनि माथि उठेको देखाउने प्रत्यक्षवादी, माखवादी, संशोधनवादी लगायत तमाम प्रवृत्तिहरु धेरै पहिलेदेखि कायम रहदै आएका छन् ।
दर्शनशास्त्रको मौलिक प्रश्नको फाँटमा पक्षधर र गैर पक्षधरका विषयमा संश्लेषण गर्दै कमरेड माओ त्सेतुङले वर्गसंघर्ष र दर्शनमा प्राथमिक स्थान वर्गसंघर्ष हुने भन्नुभएको थियो, ‘दर्शन त्यतिबेला मात्रै जन्मन्छ जब वर्गसंघर्ष चल्छ ।’ जग वर्गसंघर्ष नै हो । त्यस पछि मात्रै दर्शनको अध्ययनको कुरा आउँछ – कसको दर्शन ? बुर्जुवा वर्गको कि सर्वहारा वर्गको ? सर्वहारा वर्गको दर्शन मार्क्सवादी दर्शन हो ।
कमरेड माओका माथिका भनाइबाट स्पष्ट हुन्छ कि वर्गसमाजमा दर्शनको चरित्र वर्गीय हुन्छ । बस्ततः वर्गीय समाजमा दर्शनको चरित्र वर्गीय हुने भएकोले हरेक दर्शनले आफ्नो वर्गहित, विचार र राजनीतिक उद्श्येको सेवा गर्दछ ।
कार्ल मार्क्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्ल (१८२०–१८९५) द्वारा सन १८४८ मा विश्वविख्यात कम्युनिस्ट घोषणापत्र जारी गरे पश्चात् विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सिद्धान्त मार्क्सवाद प्राप्त गर्यो । मार्क्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद तथा साम्यवाद मार्क्सवादका आधारभूत मान्यता हुन् । मार्क्सवादका बारेमा लेनिन अगाडि भन्नू हुन्छ, ‘मार्क्सवाद भनेको मार्क्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृङखला हो ।’ मार्क्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघट तत्वहरुको संश्लेषणबाट भएको छ ।
मार्क्सको आफ्नै दर्शन छ अर्थात् मार्क्सवादी दर्शन । मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । मार्क्सवादी दर्शनको सिद्धान्त भौतिकवाद हो । मार्क्सवादी दर्शनले प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक सत्तालाई दोस्रो स्थानमा राख्दछ । यो दर्शनशास्त्रको मौलिक प्रश्नसँग सम्बन्धित विषय हो । मार्क्सवादले चेतनालाई बस्तु जगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगाम्य बताउँछ । मार्क्सवादी दर्शनको पद्धति द्वन्द्ववाद हो ।
वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल मार्क्सले ऐतिहासिक भौतिकवादमा सामाजिक सत्ता र सामाजिक चेतना, उत्पादन शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना तथा उत्पीडक र उत्पीडित वर्गहरुका बीचको संघर्षको मान्यता प्रस्तुत गर्नुभएको छ । मार्क्सको राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ । मार्क्सको वैज्ञानिक समाजवाद वर्गसंघर्ष, इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व, साम्यवादका आधारभूत मान्यताहरुद्वारा निर्मित भएको छ ।
आज मार्क्सवादले पहिलो चरणमा मार्क्सवादको विकास गरेको छ भने मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको विकास गरेको र मार्क्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास हुन पुगेको छ ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिँगो अभेद्य ईकाइका रुपमा मार्क्सवाद–लेनिनवाद–माओवाद नै विश्व सर्वहारा वर्गको मुक्तिको सिद्धान्त बन्न पुगेको छ ।
यसरी आज विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद प्राप्त गरिसके पछि दार्शनिक रुपमा, वैचारिक रुपमा, सैद्धान्तिक रुपमा समेत बलियो बन्न पुगेको छ । तसर्थ आज मार्क्सवाद अर्थात् मालेमावाद विश्व सर्वहारा वर्गको दर्शन बन्न पुगेको हो ।
यसको ठिक उल्टो आदर्शवाद, यान्त्रिक भौतिकवादलगायत दर्शनशास्त्रको फाँटमा मार्क्सवाद विरोधी धाराका रुपमा विकसित भएका विविध दार्शनिक धाराहरुले सबै खाले प्रतिक्रियावादी, साम्राज्यवादमा गिरिसकेको पुँजीपति वर्गको पक्षधरता कायम राख्दै त्यही वर्गको सेवारत रहँदै आएको छ भने मार्क्सवाद (मालेमावाद) सर्वहारा वर्गको सेवा र पक्षधरता एवं पथप्रदर्शन गर्दै आएको छ ।
(लेखक केसी अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies