काठमाडौँ : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्र दाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । उनका दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।
वरिष्ठ अधिवक्ता स्व गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त, सुन्दरी जल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिँधै सुन्दरी जल बन्दी गृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरी जल’ नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक कोइरालाको निबन्धलगायत रचना पनि प्रकाशित छन् ।
जीवनको लामो समयसम्म काँग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे ।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जन निर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरी जल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरी जल बन्दी गृहमा बन्दी बनाइएको थियो ।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुन:स्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।
प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वांमयलाई शिखरमा पुर्याउन योगदान दिए । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीहरूलाई बन्दी बनाइएको सुन्दरी जल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रूपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्त्वपूर्ण चिजबिजको संकलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई हाल पुन:निर्माण गरिएको छ ।
सङ्ग्रहालयमा बिपीको जीवनका महत्त्वपूर्ण सामग्रीका साथै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्यांकर, काँग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ । बिपी स्मृति दिवसका अवसरमा काँग्रेस, भ्रातृ संस्था र बिपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यस अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए ।