२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन

ADV
मध्यान्ह
२०८१ साउन ७ गते ११:४६
राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन

एजेन्सी : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन् । उनले आफ्नो ठाउँमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका छन् ।  

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको अन्त्यमा विनाशकारी बहस प्रदर्शनपछि चुनावमा आफ्नो व्यवहारिकताको बारेमा बढ्दो संख्यामा डेमोक्रेटहरूले चिन्ता व्यक्त गरेपछि राष्ट्रपतिको दौडबाट बाहिरिने घोषणा गरेका हुन् । “मरो उम्मेदवारी पुन: निर्वाचित हुने भएता पनि, मेरो बाँकी कार्यकालका लागि राष्ट्रपतिको रूपमा मेरो कर्तव्य पूरा गर्नमा मात्र ध्यान केन्द्रित गर्नु मेरो पार्टी र देशको हितमा छ भन्ने मलाई विश्वास छ,” सामाजिक सञ्जाल एक्समा उनले भनेका छन् ।

उनले आफ्नो निर्णयको बारेमा विस्तृत रूपमा यस हप्ताको अन्त्यमा राख्ने बताए । अर्को पोस्टमा, उनले भनेका छन्, “यस वर्ष डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई मेरो पूर्ण समर्थन छ । डेमोक्रेटहरू एकजुट भएर ट्रम्पलाई हराउने समय हो । यो गरौं ।”

वर्तमान अमेरिकी राष्ट्रपति र सम्भावित उम्मेदवार यसअघि चुनाव प्रक्रियामा यति ढिलो दौडबाट बाहिरिएका छैनन् । हाल ८१ वर्षका बाइडनले एक लिखित विज्ञप्ति जारी गर्दै आइतबार राति आफ्नो दल र देशको हितका लागि आफूले पुनः राष्ट्रपतिको उम्मेदवार बन्ने योजनालाई अन्त्य गरेको बताएका हुन् ।

उनले राष्ट्रपतिका रूपमा काम गर्ने अवसरलाई आफूले ‘ठूलो सम्मानको रूपमा लिएको’ र सन् २०२५ जनवरीसम्म रहने आफ्नो कार्यकाल पूरा गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अब अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने सम्भावना छ । 

यद्यपि, डेमोक्रेटिक पार्टीको अगस्टमा हुने राष्ट्रिय सम्मेलनबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्ने कार्यतालिका छ ।

गत जुन २७ मा भएको राष्ट्रपतीय निर्वाचनको बहसमा फितलो प्रस्तुति भएको भन्दै डेमोक्रेटहरूबाटै उनको आलोचना भएको थियो ।

उपराष्ट्रपति ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत हुन पाउँदा सम्मानित महसुस भएको बताएकी छन् । उनले आफूले ट्रम्पविरुद्ध ‘देशलाई एकताबद्ध गर्ने’ पनि बताइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise