
–डा. आनन्द घिमिरे
वर्षायाममा धेरै मानिसहरूमा कान पाक्ने समस्या हुन्छ । वर्षायाममा कान ओसिलो हुने हुनाले ढुसीको इन्फेक्सन (ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो । कानभित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढवा दिन्छ । वर्षायाममा मानिसहरू धेरै खेतबारीमा काम गर्ने गर्दछन् । उक्त समयमा धेरै वर्षासमेत हुने हुँदा कानभित्र पानी छिर्ने समस्या हुने गर्दछ । यसका अतिरिक्त गर्मी महिना भएकाले धेरै मानिसहरू पौडी खेल्नसमेत विभिन्न पोखरी तथा स्विमिङ पुलमा जाने गर्दछन् । यो बाहेक पौडी खेल्न जाँदा कानभित्र पानी पसेर इन्फेक्सन हुने सम्भावना बढी हुन्छ ।
कानको जाली फुटेको रहेछ भने झन् इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । पौडी खेल्न जाँदा, डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ । वर्षाको समयमा धेरै कानका समस्याहरू आउने गरेका छन् । बच्चाहरूले ठुलो स्वरमा टिभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुनसक्छ । यस्तो अवस्थामा कानको चेकजाँच गर्नुपर्छ ।
पछिल्लो समय अस्पतालहरूमा कानसँगै नाकका बिरामी समेत बढी मात्रामा आउने गरेका छन् । नाक बन्द हुने, हाँछ्यू आउने, पिनासका कारण टाउको दुखेका बिरामीहरू यस अस्पतालमा आउने गरेका हुन् । घाँटीको एलर्जी, इन्फेक्सन भएका बिरामी पनि अस्पतालमा उत्तिकै मात्रामा आउँछन् ।
कानको रोगका लक्षणहरू :
– कान चिलाउने
– कान अत्यधिक मात्रामा दुख्ने
– कान डम्म हुने
– कानभित्रबाट पिप वा पानी बग्ने समस्या ।
अधिकांश मानिसले कान अत्यधिक मात्रामा चिलाउने, पाक्ने वा दुख्ने ग¥यो भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने र कतिपय व्यक्तिले वडले कान कोट्याउने गरेको पाइन्छ । यसरी अनावश्यक रूपमा औषधि, तेल वा कान कोट्याउँदा कानभित्र रहेको कानको जाली फुट्ने समस्या हुन्छ ।
उपचार विधि
कान अत्यधिक मात्रामा चिलाउने, दुख्ने, डम्म हुने वा कानभित्र पिप तथा पानी बग्ने समस्या देखिएमा नजिकको चिकित्सककोमा गएर देखाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा कानको जाली फुट्दासमेत कान दुख्न सक्छ । यस्तो अवस्थामा नाक, कान, घाँटी विशेषज्ञलाई देखाएर मात्र औषधिको प्रयोग गर्नुपर्छ ।
यसबाट कसरी बच्ने ?
– पौडी खेल्न जाँदा एयर प्लग लगाउने ।
– पौडी खेल्दा कान छोप्ने ।
– डाइभ भरसक नगर्ने ।
– पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने, भयो भने विशेषज्ञलाई देखाउने ।
कान दुख्ने समस्या देखियो भने काने गुजी हटाउनुपर्छ भन्ने छैन । धेरै भएमा चिकित्सकको सल्लाहबमोजिम उचित ढङ्गले हटाउनुपर्छ । वडले काने गुजी हटाउँदैन । वडको प्रयोग गर्दा उल्टो काने गुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ । त्यसैले वडको प्रयोग नगर्नु राम्रो हुन्छ ।
कानले कानेगुजी आफै सफा हुने मेकानिज्म बनाएको हुन्छ । कानले जति काने गुजी चाहिने हो त्यो राखेर बाँकी काने गुजी आफै फाल्छ । यस्तै, कान पाक्ने समस्यासम्बन्धी आम जनमानसमा जनचेतना फैलाउन जरुरी रहेको छ ।
(नाक, कान, घाँटी विशेषज्ञ डा. घिमिरे, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीमा कार्यरत छन् ।)