२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

८ महिनाकी गर्भवतीलाई पेट्रोल छर्केर लगाइयो आगो, उपचारका क्रममा मृत्यु, पति पक्राउ

shivam cement
प्रचण्ड खत्री
२०८२ मंसिर १४ गते १५:०५
Shares
८ महिनाकी गर्भवतीलाई पेट्रोल छर्केर लगाइयो आगो, उपचारका क्रममा मृत्यु, पति पक्राउ

रुकुम पश्चिम : आफ्नै श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिएपछि घाइते भएकी रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–१, लागिमकी १९ वर्षीय निर्मला खड्काको मृत्यु भएको छ ।

कात्तिक २० गते भएको उक्त घटनापछि गम्भीर घाइते बनेकी निर्मलाको उपचारका क्रममा मंसिर ९ गते कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ ।

निर्मला ८ महिनाकी गर्भवती थिइन् । गर्भस्थ शिशुसहित उनको निधनपछि स्थानीयवासी र माइती पक्ष शोक र आक्रोशमा छन् ।

रुकुम पूर्व सिस्ने गाउँपालिका–३, पाङ्गा माइतीघर भएकी निर्मलामाथि हिंसा भएदेखि नै परिवारले कानुनी कदमको अपेक्षा गरे पनि घटनापछिका प्रारम्भिक दिनमा आरोपीलाई पक्राउ नगरिएको माइती पक्षको गुनासो थियो । उल्टै घटनालाई मिलाउन खोजिएको आरोप समेत उनीहरूले लगाएका थिए ।

स्थानीयवासीका अनुसार यस्ता गम्भीर घटना बारम्बार दोहोरिँदै जाँदा पनि दोषीहरू प्रायः जोगिनु नै प्रचलनजस्तै बनेको छ । महिला हिंसा विरुद्धका कार्यक्रम व्यवहारमा प्रभावकारी नभएकाले पीडितले न्याय पाउन कठिन हुने परिस्थितिबारे उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

न्यायको माग गर्दै माइती पक्षले दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन दबाब बढाएको छ । दोषीविरुद्ध कडा कारबाही अघि नबढाइए शव नउठाउने अडान उनीहरूले राखेका छन् ।

उता, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जय हमाललाई मंसिर १२ गते पक्राउ गरी हिरासतमा राखिएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित खबर