
काठमाडौँ : माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका वाम दलहरूको एकताप्रति कटाक्ष गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २४ कात्तिकमा कटाक्ष गरेका थिए, ‘साथीहरू ज्येष्ठ नागरिक आश्रम खोलेर बस्दै हुनुहुन्छ । अझै एक÷दुई जना समेट्न बाँकी छ । बाग्लुङ र प्युठानबाट समेट्नुभयो भने कोर्स पूरा हुन्छ उहाँहरूको ।’
उनले समेट्न बाँकी भनेर नेकपा मसालका ९० वर्षीय महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका ८४ वर्षीय अध्यक्ष चित्रबहादुर केसीतर्फ संकेत गरेका थिए । एकता छाडेर एमालेमा फर्किएकी रामकुमारी झाँक्रीलगायतका नेताहरूलाई स्वागत गर्दै ओलीले ६७ वर्षीय भीम रावलप्रति पनि टिप्पणी गर्न भ्याए, ‘मान्छे उमेरले मात्र बुढो हुने होइन । कोहीकोही छैटौं नम्बर पाएपछि कुँदी हाल्दा रहेछन् ।’
ओलीले भनेझैं नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू ७० कटेका छन् । संयोजक पुष्पकमल दाहाल प्रचण्ड ७१ वर्षका छन् भने सहसंयोजक माधवकुमार नेपाल ७३ वर्ष पुग्दै छन् । तेस्रो वरीयतामा रहेका अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल र चौथो वरीयताका नेता वामदेव गौतम त झन् ७६ वर्ष नाघेका छन् ।
आफ्नो पार्टीलाई ज्येष्ठ नागरिक आश्रम भनिएकोप्रति नेता रावलले प्रतिवाद गरेका छन् । १४ मंसिरमा पोखरा र १५ मंसिरको विराटनगर सन्देश सभामा उनले यो विषयलाई आफ्नो भाषणको विषय बनाए । ‘केपी ओलीले नेपाली कम्युनिस्ट पार्टी बुढाहरूको पार्टी हो भनेर भन्नुभएछ । मलाई अचम्म लाग्यो । मैले उहाँलाई केही वर्षदेखि हेरेको, कयौं दिन त उहाँ बालुवाटारमै सुतिरहनुहुन्थ्यो,’ रावलको जवाफ थियो, ‘हामीसँग प्रतिस्पर्धा गर्नुपरेन । हाम्रो पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग मर्निङ वाक गरेर देखाउनुस् । कसले हिँड्दो रहेछ बढी । अनि को बुढा, को तन्नेरी ?’
प्रचण्ड–माधव नेतृत्वको पार्टीलाई ज्येष्ठ नागरिकको आश्रम भनेका ओली स्वयं ७४ वर्षका छन् । उनको पार्टीमा वृद्धको झन् लामो लाइन छ । आउँदो २७–२९ मंसिरमा उनलाई चुनौती दिन तम्सिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ७१ वर्षका छन् भने युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ७२ वर्ष पुगिसकेका छन् । रामबहादुर थापा बादलसमेत ७० वर्ष नाघेका छन् ।
नेतृत्वमा वृद्धको हालिमुहाली चलेको यी दुई वाम दलमा मात्र होइन । संसद्मा प्रतिनिधित्व रहेका राप्रपा र रास्वपाबाहेक सबैजसो दलको मूल नेतृत्व ७० कटेको छ । संसद्बाहिर रहेका दलहरूको पार्टीसत्ता पनि वृद्ध नेताकै हातमा छन् ।
विघटित प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७९ वर्षका छन् । अर्को महिना २६–२८ पुसमा हुने १५औं महाधिवेशनबाट नेतृत्व ताकेका नेता डा. शेखर कोइराला पनि ७५ वर्षका भइसकेका छन् । अघिल्लो महाधिवेशनमा देउवाका प्रतिस्पर्धी थिए ।
वृद्ध नेतृत्वको शासनको मारमा नेपालका वामपन्थी दलहरू बढी ग्रसित देखिएका छन् । भक्तपुरलगायतका सीमित जिल्लामा प्रभाव रहेको पुरानो वाम दल नेपाल मजदुर किसान पार्टी वयोवृद्ध नेता नारायणमान विजुक्छेको निरन्तर नेतृत्व छ । उनी ८६ वर्षका छन् । अर्को दल नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह ९० वर्षका भइसके । तैपनि उनी नेतृत्व हस्तान्तरण गर्दैनन् । उल्टो आफूविरुद्ध बोल्ने नेताहरूमाथि कारबाहीको डण्डा चलाएका छन् । सो पार्टीको चुनावी दल राष्ट्रिय जनमोर्चामा सिंहकै विश्वासपात्र चित्रबहादुर केसी अध्यक्ष छन् । उनी पनि ८४ वर्षका भइसकेका छन् ।
स्वास्थ्यले साथ दिँदो हो त, ७९ वर्षीय मोहन वैद्य किरणले सम्भवतः क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व छाड्ने थिएनन् । स्वास्थ्य अवस्था बिग्रिएपछि गत महिना उनले सक्रिय राजनीति विश्राम लिएका छन् । तर नयाँ नेतृत्वमा उनीभन्दा मात्र दुई वर्ष कान्छा सिपी गजुरेल आएका छन् । झापा विद्रोहका नेता सिपी मैनालीको पार्टी खिइएर निकै सानो भइसकेको छ । ७४ वर्षीय मैनालीले झन्डै २४ वर्षदेखि पार्टीसत्ता चलाइरहेका छन् । वाम दलजस्तै मधेसकेन्द्रित दल लोसपा हाँक्ने जिम्मेवारी पनि ७५ वर्षीय वृद्धनेता महन्थ ठाकुरको काँधमा छ ।
२०७२ सालमा नयाँ संविधान आएयताको एक दशक तीन वृद्ध नेताहरू ओली, देउवा र प्रचण्डले आलोपालो शासन चलाए । त्यसबाट दिक्क भएका युवा पुस्ताले भ्रष्टाचारको विरोधसँगै वृद्ध शासनबाट मुक्ति चाहेका थिए । त्यो जेनजी विद्रोह (२३–२४, भदौ)को एजेन्डासमेत थियो । तर सोही आन्दोलनको बलमा जेनजी अगुवाको सिफारिसमा प्रधानमन्त्री नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्की स्वयं ७३ वर्षकी छन् । ‘जेनजी आन्दोलनले सत्ता ढालेको होइन, सरकार मात्र ढालेको हो,’ समाजशास्त्री राम गुरुङ भन्छन्, ‘त्यसैले वृद्धको शासन हल्लिएको मात्र हो, हटेका छैनन् । उनीहरू तत्कालै हट्ने स्थिति पनि देखिँदैन ।’
त्यसो हुनुको पछाडि वैकल्पिक दल र पुरानै दलभित्र पनि नेता स्थापित हुन नसक्नु मुख्य कारण रहेको उनको तर्क छ । समाजशास्त्री गुरुङका अनुसार कार्यकर्तालाई सामाजिक सुरक्षा र भरोसा चाहिन्छ । नेताले व्यक्तिगत होस् वा संस्थागत रूपमा त्यो आड भरोसा दिन सक्नुपर्छ । अहिले नेतृत्वमा रहेका नेताहरूले कुनै न कुनै रूपमा त्यो भरोसा दिलाएकै कारण उनीहरू पार्टीसत्तामा टिकेका हुन् ।
दलहरूभित्र वैकल्पिक नेता नजन्मिएकै कारण एउटै नेता सर्वेसर्वा भएको उल्लेख गर्दै गुरुङ भन्छन्, ‘एउटा दलको मूल नेतृत्व हुन राष्ट्रिय नेता बन्नुपर्छ । नेता बन्न खोज्ने धेरैको प्रवृत्ति नेतृत्वसँग सौदाबाजीमा सीमित छ । सोही कारण लोकतान्त्रिक आँखाबाट हेर्दा चुनाव लडेरै पनि उनै नेता आइरहेका छन् ।’ दलहरूमा नयाँ नेता नजन्मिनु नै वृद्ध शासनको आधार बनेको उनी बताउँछन् ।
समाजशास्त्री सम्राट शर्मा समाजका हरेक संरचनामा पुस्तान्तरण आवश्यक रहेको बताउँछन् । ‘नेपाली समाजमा पुस्तान्तरणको बहस भयो । तर संरचनात्मक रूपमा सुधार खोजिएन,’ उनी भन्छन्, ‘राजनीतिमा पुस्तान्तरणको कुरा भयो । विश्वविद्यालय, कला क्षेत्र वा अन्य क्षेत्रमा पनि अवस्था उस्तै छ । यस कारण समग्रतामै नीति र व्यवहारमा परिवर्तन आवश्यक छ ।’
सामाजिक रूपमा नै पुस्तान्तरणको कुरा सिकाउन नसक्दा नयाँ पुस्ता नेतृत्व लिन हिम्मत नगर्ने जस्तो हुन पुगेको र यही राजनीतिमा देखापरेको उनको बुझाइ छ । विद्यार्थीलाई नै परिपक्व लोकतन्त्रमा एकै व्यक्तिले निरन्तर कुनै पनि संरचनाको नेतृत्व नगर्ने परिकल्पना हुन्छ भनेर सिकाउन आवश्यक छ । उनी थप्छन्, ‘बहुमत जनताले स्वीकार गरे तापनि एकै व्यक्ति दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहने विषयलाई परिपक्व लोकतन्त्र मानिन्न । यो नयाँ पुस्तालाई सिकाउन आवश्यक छ ।’
-भूलसुधार
—————-
मध्यान्ह राष्ट्रिय दैनिकको आज २०८२ मंसिर १८ गतेको प्रिन्ट संस्करणको प्रथम पृष्टको “पार्टीमा वृद्ध शासन” शीर्षकको मूख्य समाचारमा प्रकाशित तस्बिरहरूमध्ये शेरवहादुर देउवा र शेखर कोइरालाको तस्बिरमा भुलवश अन्यथा नाम प्रकाशित हुन गएकोमा भुलसुधार गरिएको छ । प्राविधिक कारणले हुन गएको यस त्रुटिबाट सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौं ।
- प्रधान सम्पादक