२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

बाढीले उठिबास लागेका मोहनप्रसाद बेघरबार भएरै बिते

shivam cement
२०८२ फागुन २९ गते १९:४५
Shares
बाढीले उठिबास लागेका मोहनप्रसाद बेघरबार भएरै बिते

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । स्वास्थ्य स्थिति जटिल बनेपछि शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पताल लगिएको थियो । त्यहीँ उनको निधन भएको हो । 

मोहनप्रसादको जीवन उतारचढावपूर्ण छ । तेह्रथुबाट झापा बसाइ सरेका उनको घरखेत माइखोलाको बाढीले बगायो । पछि बनाएको सानो घर पनि आगलागीमा जलेर नष्ट भयो । धेरै वर्ष विस्थापन र अभावमै बिताएका मोहनप्रसाद जीवनको अन्तिम समयमा पनि घरबारविहिन भएरै बिते । गत २३–२४ भदौको जेनजी आन्दोलनका बेला पूर्वप्रधानमन्त्री ओलीको बालकोटस्थित निबास आगजनी गरियो । झापामा रहेको कान्छो छोराको घर पनि जलाइएपछि उनी छोरीको घरमा बस्दैआएका थिए ।   

तेह्रथुमको इवा गाउँमा जन्मिएका मोहनप्रसादको बाल्यकाल साधारण गाउँले परिवेशमा बित्यो । सानैदेखि पढ्ने रहर थियो । तर आर्थिक कारणले परिवारले विद्यालय पठाएन् । उनी सुरुमा लुकेर स्कुल जान्थे । पछि आमाले छोराको पढ्ने रहर बुझेर स्कुल भर्ना गरिदिइन् । त्यो बेला पढाएबापत शिक्षकलाई एक पाथी चामल दिनुपर्ने चलन थियो । तीन महिना मात्रै पढ्न पाएका मोहनप्रसाद स्वअध्ययनले पढालेखा बने । 

चौध वर्षको उमेर विवाह गरेका मोहनप्रसादबाट पहिलो सन्तानका रुपमा केपी जन्मिए । तर उनी सानै छँदा आमा गुमाए । केपीलाई उनकी हजुरआमा राममायाले हुर्काएकी हुन् । मोहनप्रसादले दोस्रो विवाह गरे । दोस्रो श्रीमतीतर्फबाट एक छोरा र तीन छोरी जन्मिए ।

ओली परिवार २०२३ सालतिर बसाइँ सरेर झापा झरेको हो । निम्न मध्यम किसान परिवारलाई २०३१ सालको बाढीले बिस्थापित गर्‍यो । उनीहरुको घरखेत सबै बग्यो । उनीहरु घरबारविहिन एवं सुकुम्बासी बने । मोहनप्रसादले छिमेकीकहाँ आश्रय लिएर र अरुको खेत अधिँया गरेर बालबच्चा हुर्काए । त्यतिबेलासम्म केपी ओली झापा विद्रोहमा लागिसकेका थिए । बाढीले घरखेत बगाएकै बेला केपीलाई प्रहरी पक्राउ गर्‍यो । ‘मैले दुःख सुख दुबै भोगेको छु । त्यसैले दुःखमा आत्तिने र सुखमा मात्तिने काम मबाट कहिल्यै हुन्न’ मोहनप्रसादले भिडियो कुराकानीमा भनेका छन् । 

बाढीपीडितलाई सरकारले पुनर्वास गर्ने योजना बनायो । झापाको पृथ्वीनगर क्षेत्रमा केही विस्थापित परिवारलाई बसोबासको व्यवस्था गरियो । केपी ओलीको बुवा भएकै कारण मोहनप्रसादको परिवार बन्चित गरियो । धेरै दुःख गरेर अन्ततः उनले सानो घडेरी किनेर घर बनाए । त्यो घर पनि २०५१ सालमा आगलागीमा जलेर नष्ट भयो ।

मोहनप्रसादले सक्रिय जीवन खेतीकिसानी गरेर बिताए । उनको जीवनशैली सरल र मेहनती थियो । छोरा प्रधानमन्त्री हुनुअघिसम्म उनी काठमाडौं पनि खासै आउँदैनथे । केपी प्रधानमन्त्री भएपछि भने उनले बुवालाई बोलाएर बालुवाटारमै राखे । उनी बालुवाटार, बालकोट र पृथ्वीनगर ओहरदोहोर गरिरहन्थे । काठमाडौंभन्दा गाउँघर, आफन्त र छरछिमेकीसँग उनी धेरै रमाउँथे । केहीअघि उनले मिडियासँग भनेका पनि थिए, ‘मलाई काठमाडौं बस्न खासै मन लाग्दैन् । त्योभन्दा गाउँघरै ठिक लाग्छ ।’ 

उनी हँसिला, वाकपटु र ठट्यौली स्वभावका थिए । उखान–टुक्का मिसाएर रमाइलो शैलीमा कुरा गर्ने उनको बानी थियो । ज्योतिष विद्यामा पनि उनको रुचि थियो ।  

जीवनका धेरै उतारचढाव पार गरेका मोहनप्रसादको अन्तिम समय पनि असहज परिस्थिति भोग्नुपर्‍यो । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन हुँदा उनी प्रधानमन्त्री निवास बालुवाटारमै थिए । हिंसा भड्किएपछि आक्रोशित भिडले बालुवाटार घेर्न थाले । त्यहीबेला तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिए । लगत्तै नेपाली सेनाले हेलिकोप्टरमार्फत मोहनप्रसादसहित ओली परिवारलाई सुरक्षित स्थानमा सार्‍यो । केपी ओली सैनिक ब्यारेकमै रहेकाबेला सुरक्षाकर्मीले मोहनप्रसादलाई गठ्ठाघरस्थित छोरी कौशिला कोइरालाको घरमा ल्याएर छाडिदिएको थियो । 

सम्बन्धित खबर