
काठमाडौंः सरकारले चुनावी वातावरण बनाउन नसकेको टिप्पणी गर्दै आएका राजनीतिक दलहरू अन्ततः चुनावलाई सफल बनाउनतिर केन्द्रित भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा नेकपा एमालेबाहेकका राजनीतिक दलबीच मतैक्यता देखिएको हो ।
आसन्न निर्वाचनको विषयमा छलफल गर्न बसेको सो बैठकमा सबै पक्ष चुनावप्रति सकारात्मक देखिएको छलफलमा सहभागी नेपाली कांग्रेसकी नेता पुष्पा भुसालले बताइन् । ‘चुनाव केन्द्रित आजको बैठक सकारात्मक देखियो,’ उनले मध्यान्हसँग भनिन्, ‘सरकारले चुनावी सुरक्षाको वातावरण बनाउनुपर्ने सबै दलहरूले सुझाव दिए । त्यसमा सरकारको तर्फबाट स्वयं प्रधानमन्त्री र मन्त्रीहरू चुनावी सुरक्षाको वातावरण बनाउनेमा ढुक्कजस्तै देखिनुभयो ।’
कांग्रेस चुनावबाटै मुलुकको समस्या समाधान गरेर जाने कुुरामा प्रतिबद्ध भएको उनले बताइन् । निर्वाचन आयोगले पनि आवश्यक तयारी गरिसकेको प्रतिवेदन आएकाले सरकार चुनावका लागि आवश्यक सुरक्षा व्यवस्थाका विषयमा दलहरूले केही ‘रिर्जर्भेसन’ राखेको उनको भनाइ छ । ‘चुनावी सुरक्षा नै अहिलेको महत्वपूर्ण विषय हो । तर सरकार त्यस विषयमा प्रतिबद्ध नै देखिएको छ,’ उनले भनिन्, ‘सरकारको म्यान्डेट चुनाव गराउने नै भएकाले चुनावका मुख्य सरोकारवाला राजनीतिक दलहरूबाट सहयोगको अपेक्षा प्रधानमन्त्रीले गर्नुभयो । बाँकी सुरक्षा चुनौतीका विषयमा सरकार गम्भीर भएको प्रधानमन्त्रीले राख्नुभयो ।’
निर्वाचनको सुनिश्चितताको विश्वास दिलाउन प्रधानमन्त्री कार्कीले सबैजसो राजनीतिक दलहरूसँग एक्लाएक्लै र सामूहिक संवादलाई निरन्तरता दिँदै आएकी छन् । सोही क्रममा सरकार, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहित प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्त र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको छलफलले चुनावी वातावरण बनाउने विषयमा थप सहयोग पुगेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले बताए ।
एमालेले भने पार्टी अध्यक्ष केपी शर्मामाथि लगाइएको स्थानहदको फुकुवाको विषयलाई शुक्रबारको बैठकमा समेत राखेको छ । एमाले नेता महेश बर्तौलाले सरकार चुनाव गराउँदै छैन भन्ने केही दृष्टान्त पेस गरेको बताए । ‘सरकारले चुनाव गराउँदैन भन्ने केही दृष्टान्त हामीले पेस गर्यौं,’ उनले भने, ‘सरकार चुनाव गराउनेभन्दा पनि राजदूत फिर्तादेखि अध्यादेशसम्मका विषयमा अल्झिएको छ । राज्यको मनोबल एकदम कमजोर छ भने आमनागरिकको अवस्था कस्तो होला ? अर्को विषय सरकारको संवैधानिक परीक्षणबारे मुद्दा चलिरहेकाले अदालतबाट त्यसको छिनोफानो नहुँदासम्म सकारले चुनाव गराउन सक्दैन ।’ यिनै विषयलाई एमालेले छलफलमा राखेको र प्रधानमन्त्रीले औसतमा ‘हामी चुनाव गराउन प्रतिबद्ध रहेको’ भन्ने जवाफ दिएको नेता बर्तौलाले बताए । एमालेले संसद् पुनस्र्थापनाको माग लिएर सर्वोच्च गएकाले चुनावभन्दा संसद् पुनस्र्थापना नै पार्टीको पहिलो प्राथमिकता रहेको नेता बर्तौलाले बताए ।
पछिल्लोपटक दल र सरकारबीचको दूरी विस्तारै नजिकिँदै आएको छ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका बलमा केपी ओली नेतृत्वको कांग्रेस–एमाले ढलेसँगै नागरिक सरकारका रूपमा भदौ २७ मा गठन भएको कार्की नेतृत्वको सरकारको आयुु ६ महिना मात्रै छ । २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन गर्ने म्यान्डेट लिएरै अहिलेको अन्तरिम सरकार बनेको हो । चुनाव गराएर नयाँ नेतृत्व हस्तान्तरण गर्नुपर्ने म्यान्डेटअनुसार कार्की नेतृत्वको अन्तरिम सरकारले काम गर्नुपर्नेछ । यदि तोकिएको समयमा चुनाव गराउन नसक्ने अवस्था आएमा मुलुक फेरि अर्को सरकार बन्ने तहमा जाने राजनीतिक विश्लेषक बताउँछन् । तर सरकारका मन्त्रीहरूले दलहरूसँगको संवाद बढेको र दलहरूका राजनीतिक गतिविधि पनि बढेकाले चुनावको माहोल बनिसकेको दाबी गर्दै आएका छन् । शुक्रबारको बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे सम्बद्ध अधिकारीले ब्रिफिङ गरेका थिए । बैठकमा प्रधानमन्त्री, मन्त्रीहरू, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । जसमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखबीच भएको छलफलले आगामी प्रतिनिधि सभाको निर्वाचन सफल बनाउन सकारात्मक सहयोग पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।