– बद्री अधिकारी
पूर्णचन्द्रको सितलता जस्तै उसको सामिप्यताले मलाई शाश्वत सितलताको अनुभूत गराउने गर्दथ्यो । युद्ध मैदानमा हार्न लागेको सिपाही कमाण्डरको उपस्थितिको आभासबाट जसरी मजबुत, नीडर, साहसी र हिम्मतिलो बन्दछ म पनि त्यस्तै हुन्थेँ । मानौं मेरा लागि उसलाई इस्वरले यो धर्तिमा रक्षाका लागि पठाएका हुन् । त्यसैले होला म उसका हरेक चाहनालाई परिपुर्ति गर्न लालायित हुने गर्दथेँ । हो ऊ मेरो मन मन्दिरमा सदा बिराजमान हुँदै थियो । म उसलाई खुसी र सुखी देख्न चाहन्नथेँ । घरीघरी एक्लै हुँदा आफ्नो अतितको सुमधुर क्षणको समुन्द्रमा सूर्यस्नान गर्न पुग्दथेँ ।
बितेका पलको सम्झनाले मन चन्चल हुन्थ्यो र मुहारमा चन्चलता दगुर्न थाल्दथ्यो । खोइ ! के भएको हो ? उसको बलिस्ठ शरीरको आकर्षण हो या शालीन व्याक्तित्वको प्रभाव ! उसँगको घरीघरीको जंकाभेट मेरा लागि कुकुरलाई घाँटीमा अड्किएको हाड झैँ हुने गर्दथ्यो । मेरो शिर लाजले निहुरिन्थ्यो र आँखाले दिशा परिवर्तन गर्दथे । उसका आँखा आफ्नो उरोजमा टासिँएको देख्दा पनि मभित्र उप्रति क्रोध उत्पन्न हुँदैनथ्यो । यसलाई के भन्ने, माया या मभित्रको कुर्कुराउदो बैँस ? उसको त्यो हेराइ देख्दा पनि मभित्र ऊ प्रति किन क्रोध उत्पन्न नभएको होला ? मनमनै म आफू आफैंसँग रिसाउथेँ । मस्तिष्क रिसाएर के गर्नु, मन रिसाउदैनथ्यो ।
क्याम्पस पढ्न थालेको एक महिना भित्रनै मलाई यो अनौठो रोगले ग्रसित पारिसकेको थियो । अन्य युवकसँगको बोलीचाली, जम्काभेटमा उनीहरूद्वारा गरिएको आफ्नो यौवनको अवलोकन देख्दा मभित्र भित्रै क्रोधले मुर्मुरिन्थेँ । बाघले शिकारलाई नङ्ग्राए झैं नङ्ग्राउन मन लाग्दथ्यो । उनीहरु पनि मेरो मुहारमा झल्कने क्रोधको कारणले होला मसँग ततरकिन्थे । तर, सुबोधको त्यसैअनुरूपको व्यवहारलाई मेरो शरीर र मनले सहजै स्वीकार गर्दथ्यो । साच्चिकै भन्नुपर्दा म रमाइलो अनुभूत गर्दथेँ । यस्तो हुनुलाई मायाको प्रथम चरणभन्दा अनुचित नहोला ! मलाई चारो हाल्ने युवकहरू सुबोध र मेरो बारेमा चाहिँदो नचाहिँदो कुरा गर्न थालीसकेका थिए । सुवोधले पनि त्यो हामी द्वयबीचको कुरा सुनेको थियो होला । उसका साथीहरूले उसलाई पनि सुनाएका थिए होलान र त उसको व्यवहार मप्रति केही पृथक भएको महसुस हुँदै थियो मलाई । नखाइ विष लाग्दैन भन्ने कुरामा म ढुक्क थिएँ ।
एकदिन ऊ मेरो पछाडि पछाडि आइरहेको मैले चोरी नजरले देखि सकेकी थिएँ । आफूलाई मबाट अलग्याउने उसको अगाडिको प्रयासलाई सम्झदा प्रथम पटक त्यो दिन उसप्रति क्रोध उत्पन्न भएको थियो । त्यसैले म उसलाई नदेखेको अभिनय गर्दै थिएँ । ऊ चाँचाँडो आउँदै थियो । हामीबीचको दूरी क्रमिक घटदै थियो ।
“सुनैना ....! सुन त ।”
पछाडीबाट कानमा ठोक्किएको उसको याचना पूर्ण स्वरले मेरा अगाडि बढदै गरेका कदम टक्क अडिए । उसको याचनापूर्ण स्वरले मभित्रको आगोलाई निभाई सकेको थियो । आफूलाई उसले तिमीको सम्बोधन गरेकोमा मेरो मन खुसिले रमाउँदै थियो । मान्छेको मन अचम्मको हुँदो रहेछ । मेरो मन उसँग बोल्न लालायीत हुँदै थियो तथापि मुख उघार्न सकिरहेकी थिइनँ । ऊ मलाई शिरदेखि पैतलासम्म नियाली रहेको थियो । अघि भर्खरै उसले आफूबाट अलग्याउनु खोजेको विचार मनमा उत्पन्न हुँदा दुखित भएको मेरो मनभित्र एकै चोटि माया, खुसी र आनन्दका करोडौं टुसाहरू हठात् उम्रीएका थिए । म उ प्रति प्रश्नवाचक दृष्टि फ्याँकिरहेकी थिएँ । ऊ वार्तालाई आरम्भ गर्ने शब्द चैन गर्दैथियो क्यार...! मभित्र चै समयमा घर नपुगे या नगए घरपरिवारको यावत प्रश्नले दिमागै खल्बलिने एक प्रकारको डर पैदा हुँदै थियो । त्योभन्दा त ढिलो नगरी जानुनै उचित थियो । तर, मेरो मनले मस्तिष्कको निर्देशन मानी रहेको थिएन । तर, पनि उसको सोधाइको उत्तर त दिनुनै थियो ।
“हजुर भन्नुहोस् ...!”
“तिमीलाई फुर्सद भए चिया पिउँ, उतै गफ गरौंला हुन्न ?”
मैले उसको मुहारमा आउँदै जाँदै गरेको भाव पढने कोसिस गरेँ । मुहारमा उब्जेको भावले अन्तरमनको कुरा कहाँ बुझ्न सकिन्छ ! ऊ मेरो उत्तरको प्रतिक्षा नगरी आशावादी नजरले मलाई हेर्दै नजिकैको होटल तिर लाग्यो । मनमा उसको आग्रहलाई अनादरगर्ने आँट पलाउन सकेन । दिमागले विरोध गर्दागर्दै मेरा पाईलाहरूले उसको अनुसरण गरिरहेका थिए । शरीरलाई मनले डोहोर्याउनु भनेको यही हो क्यारे !
हामी एकअर्काको आमुन्ने सामुन्ने हुनेगरी होटलको कुर्सीमा बसिसकेका थियौं । ऊ कुरा कोट्याउन सकिरहेको थिएन । केवल मेरो मुहारलाई ट्वाल्ल ट्वालती हेरिरहेको थियो । उसको हेराईले मलाई असजिलो पारिरहेको थियो । आफूले मनपराएको एउटा युवकसंग एकान्तमा बस्नु मेरा लागि पहिलो अनुभव थियो । लाजले शिर निहुराएर आफ्नो खुट्टाको बुढी औंलाले चप्पल कोट्याउन थालेँ ।
“सुनैना ! तिमीले आफ्नो भविष्यको बारेमा के सोँच बनाएकी छौ । मेरो भन्नुको मतलब अगाडिको पढाईको बारेमा ?” आफूले सोचे बिपरित मुखबाट कुरा फुत्केकोमा उसले अन्तिम वाक्यांसमा बढी जोडदिएको देख्दा मलाई आफ्नो हाँसो दबाउन गाह्रो भैरहेको थियो ।
“क्याम्पस आउन थालेको भर्खरै त हो ! अहिलेसम्म त केही सोचेकै छैन ।” ओठमा मुस्कान छर्दै मैले भनेँ । ऊ पनि मलाई हेरेर फिस्स मुस्कुरायो । अनि चिया पिउन तल्लिन भयो । मानौँ उसँग गफ गर्ने कुरा रित्तिसके । चिया पिउँदा पिउँदै लुकिछिपी ऊ मेरो शरीरलाई नियाली रहेको थियो । यो क्रममा उसका र मेरा आँखा चार हुन्थे । उसको असामान्य व्यवहारले मभित्र अनौठो चन्चलता जागृत गराई रहेको थियो । “मनको कुरा भन्न नसक्ने लाछि छोरा मान्छे !” म यसरी रमाउदै थिए मनोसम्बादमा .....। यस्तै यस्तै उसको बानीले मलाई उ तिर आकृष्ट पारिरहेको थियो । उसलाइ जिसक्याउने रहरलाई मैले दबाउन सकिनँ ।
“तपाइका गफ रित्तिए ?” मैले चन्चलता दर्शाउदै उसलाई सोधेँ ।
“गफ नै केही थिएन । चियाको तलतल् मेटाउने बहाना ......एकलै पिउन झर्को लागेर ।” हाँसीहाँसी उसले भन्यो । उसको कृतिम हाँसो मबाट छुप्न सकिरहेको थिएन ।
“तपाईँ सारै सिल्ली हुनुहुँदो रहेछ, अरूलाई मनोरन्जनको साधन सम्झने, यस्तो जानेको भएत आउने नै थिइनँ ।” यति भन्दै म उठेँ कुर्सिबाट । निम्छरोलाई सबैले हेप्तो रहेछ । मेरो कुराले उसको मनमा कति चोट पर्यो मैले अनुमान गर्न सकिनँ । उसको मुहार तम्तमाइलो देखियो ।
“एकैपटक सबै नभनौं भनेर बाँकी राखेको ....!” उसले ठट्यौलीको अभिनय गर्यो । अभिनय र वास्तवितालाई सहजै छुट्याउन सकिदो रहेछ । उसका आँखामा क्षमायाचनाको भाव तैरदै थियो ।
त्यो रात आँखामा निन्द्रा, मनमा शान्ती छाउन सकेन । रात उसको सम्झनामा छट्पटीमै बित्यो । पुरुषले मनको कुरा सहजै व्यक्त गर्छन् भनेको सुनेकी थिएँ । अचम्म उसमाथि त्यो कुरा लागु हुन सकेन । “त्यो त प्रतिशतको आधारमा अभिब्यत्त बिचार मात्र हो । यस्तै मनोसम्बाद द्वारा आफूलाई सान्त्वना दिदै रात बिताएँ ।
क्याम्पसको गेटमा उसको र मेरो जम्काभेट भयो । उसका र मेरा आँखा चार भए । उसका आँखा रातभरि नसुते झैं देखिँदै थिए । उसले मेरा आँखामा के देख्यो त्यो ऊ नै जानोस् । उसलाई जिस्क्याउने रहरले मलाई गाँज्न थाल्यो ।
“तपाईका आँखा त राता राता देखिदै छन् त, रातभरि सुत्नु भएन कि कसो ?”
“हँ ....ह.....! त्यसो होइन .....।” अकमकाउँदै मेरो अनुहारमा उब्जेका भावको अवलोकनपश्चात उसले कुरा जोड्यो । “मलाई भन्ने बहानामा तिमी आफ्नै कुरा त गरिरहेकी छैनौं ?”
म निरूत्तर भएँ । लाजले पानीपानी भएँ । पौँठेजोरिको खेल मैले हारिसकेकी थिएँ । घरीघरी हार्दा पनि मन रमाउने गर्दो रहेछ । साच्चिकै भन्नुपर्दा चोरलाई प्रहरीले पक्रि सकेको थियो । यस्तो कुराले मनलाई बढी लोभ्याउदो रहेछ । यो कुरा ममा लागुभैरहेको थियो । घण्टी लागेकोले हामी कक्षाकोठा तिर लाग्यौं । उसको सामु शिर निहुरिदा पनि मेरो मन खुसी प्राप्त हुने निस्चिन्त्ताले चन्चल र गदगद भैरहेको थियो ।
हामीद्वयको घरको फर्किने बाटो एउटै थियो । ऊ र म आज सँगसँगै घर फर्किरहेका थियौं । आफ्नो मन सँग लुकाछिपिको खेल खेल्ने सँग, सँगै हिँडदा पनि हामी मौन थियौं । त्यो मौनतालाई मैले नै भंग गरेँ ।
“तपाइँलाई फुर्सद भए, आज पनि मलाइ चिया पिउने रहर थियो ?”
“तिम्रो चाहनालाई परिपुर्ती गर्न पाउँदा म आफूलाई भाग्यशाली सम्झने छु ।”
मैले देखेँ, उसका आँखामा खुसी तैरिरहेको थियो । मन परेकाको खुसी आफ्नै खुसी झैं हुदोरहेछ । रमाइलो मन भएको शरीरले चन्चलता लुकाउन सक्दैन क्यारे !
“बढी नजिसक्याउँनु है ।” मैले मनले नमान्दा नमान्दै पनि मिहिन स्वरले कृतिम क्रोध दर्शाएँ । ऊ मलाई पुलुक्क हेर्दै मुस्कुरायो । उसको मुस्कानमा आज चन्चलता तैरिरहेको थियो ।
नास्ता खाने उसको आग्रहलाई मैले टार्न सकिनँ । आफैले गरेको प्रस्तावमा असहमति जनाउने कुरै उठेन । उसले आज चै होटलको कुनाको क्याबिन रोज्यो । हामी दुबै चोरी नजरले एक अर्कालाइ पालैपालो हेर्दै थियौं । मलाइ एकातिर लाजले गाँजेको थियो भने अर्काेतिर मनभित्र खुसियाली छाउदै थियो । आखिर लुकाछिपिको खेललाई थाती राख्दै मैले आफू भित्र साहस उमार्दै कुरा अगाडी बढाएँ ।
“चोरलाई प्रहरिले पक्रीएछ....!”
“कहाँ ?” उसले हतारहतार प्रश्न गर्यो ।
“अघि क्याम्पसको गेटमा....।” यति भन्दै म ठूलो स्वरले हाँसी दिएँ । मानौ म उसको अन्तरमनलाई बुझ्न सफल भै सकेँ ।
“हो र.....! धत.... ! म त अलमलिएँ छु । तिमी पनि ठट्टा गर्न त माहिर रहिछौ ।” यति भन्दै ऊ म तिर हेरेर मुस्कुरायो । उसको मुस्कानमा आज चन्चलता झल्किदै थियो । उसको चञ्चलता मेरो उत्सुकता बढाउने माध्यम बनिरहेको थियो । मलाई घरजानु हतार हुँदाहुँदै पनि खोइ के पाउने लालचले गाँजेर चुपचाप बसिरहन विवश भइरहेकी थिएँ । मनको कुरा घरीघरित आफैंसँग भन्न पनि गार्हो हुँदोरहेछ । कहिलेकाही त चाहनालाई अभिव्यक्ति गर्ने शब्दहरू मनको शब्दकोषमा फेला पार्न नै सकिदैन रहेछ । म नजानिँदो पाराले उसको क्रियाकलापको अध्ययन गरिरहेकी थिएँ । ऊ पनि मनमा कुराखेलाउँदै थियो क्यार ! अचानक कुनै निर्णयमा पुगेझैं टेबुलमा रहेकोे मेरो दायाँ हातको हत्केला उसले उठाएर आफ्ना दुबै हातको बीचमा राखेर सुमसुम्याउन थाल्यो । प्रथम पटकको पुरुष स्पर्शले मेरो आङ्ग ढक्क फुल्यो । शरीरभरी काउकुती लाग्न थाल्यो । मैले आफ्ना झिल जस्ता ठूलाठूला आँखाले कुनै प्रतिवाद नगरीकन उसलाई हेरिरहेँ । मेरो आखामा उसप्रति मायाको सागर तैरिदै थियो । मेरो आखामा उब्जेको भाव पढ्न ऊ सफल भएझैं लाग्यो मलाई । अनायास लाजलागेर आयो । मेरा आँखा घोप्टिएर लाज दर्शाउन बाध्य भए ।
आफ्नो हात सुमसुम्याउने उसको त्यो धृष्टताको विरोध जनाउन मेरो शरीरले सकिरहेको थिएन । सायद आनन्द अनुभूत गरेका कारणले होला । यसलाई दुवैको माया गर्ने सिकारु अवस्था भन्नु पर्ला ! उसको क्रियाकलापको मेरो मष्तिष्कले विरोध गर्दागर्दै पनि मेरो शरीरले चै उसको व्यवहारलाई स्वीकारी रहेको थियो । दमित चाह परिपूर्तिको पूर्व संकेतको आभासद्वारा मान्छे उल्लासको तालमा डुब्दो रहेछ । ममा यो सत्यता लागू हुँदै थियोे । उसको हातको सुमसुम्याईबाट मलाई मायाको प्रतिबद्धता बर्षिरहे झै लागिरहेको थियो । पूरूष स्पर्शको सुखानुभूतिले म आफ्ना परेला एक आपसमा जोडदै फुसफुसाएँ । मदहोसिमा मेरो स्वर बिस्तारै मिहिन हुँदै थियो ।
“सुबोध !”
“हुँ.... भनन ।” उसको मिहिन स्वर आफ्नोभन्दा झन् मदहोस झै लाग्यो । हामी दुईको मायाले लट्टिएको कानेखुसी पूर्ण स्वर केवल एकापसले मात्र सुनिरहेका थियौँ ।
“तिमी मेरो हातलाई कहिल्यै छोडदैनौँ ?” अनायास करिब करिब समर्पणको मुन्द्रमा मैले आफ्नो चाँहना उसलाई पोखेँ ।
“छोड्दिन...! ममाथि विश्वास र भरोसा राख ......।” यति भन्दै उसले मेरो हातलाई आफ्ना दुबै हातले जोडले दबायो । उसको मजबुत पकड र भरोसा युक्त स्वरले म भित्रभित्रै हर्षले, रमाएँ...
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies