
काठमाडौं : ११औं महाधिवेशन तयारीमा रहेको नेकपा एमालेमा नेता व्यवस्थापन शीर्ष नेतृत्वको टाउको दुखाइ बनेको । शीर्ष नेतालाई आफूपछिका नेताको पद व्यवस्थापन तनावसँगै दोस्रो र तेस्रो तहका नेताहरूमाथि पद अवनतिको त्रास बढेको छ ।
वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएसँगै दुुवै तर्फका नेता टिम बनाउन व्यस्त छन् । महाधिवेशनबाट नेता पदीय हिसाबले माथिल्लो तहमा पुुग्ने चाहना स्वाभाविक हो । राजनीतिक नेतृत्व विकासको दृष्टिकोणले पनि पदोन्नति नेताहरूका लागि ठुलो मानिन्छ । तर एमालेको आगामी ११औं महाधिवेशनमा नेताहरूको पदोन्नति भन्दा पदअवनतितिर जाने सम्भावना बढेको छ । गत विधान महाधिवेशनले एमालेको विभिन्न पद घटाएसँगै नेताहरूको पद घटुवा हुने भएको हो ।
वरिष्ठ उपाध्यक्षसहित आठ पदाधिकारी घटाएको छ भने स्थायी कमिटीको प्रावधान हटाएको छ । यस कारण नेता व्यवस्थापनको चुनौती चुलिएको हो । विगतमा पदाधिकारीदेखि स्थायी कमिटीमा बसेर काम गरेका नेता पोलिटब्युरो सदस्यमा झर्ने वा पार्टी कमिटीबाटै बाहिरिने ? विकल्प रोज्नुुपर्ने अवस्थामा पुुगेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीभित्र आकांक्षीको संख्या बढ्दै जाँदा पार्टी अध्यक्ष हुनेले आफ्नो टिममा नेता अटाउने पदको अभाव महसुस गर्न थालेको एमाले सचिव रघुुवीर महासेठले बताए । ‘आगामी २६–२९ मा हुने ११औंं महाधिवेशनको सरगर्मी बढ्दै जाँदा हाल पदाधिकारी र स्थायी कमिटिमा रहेका नेताहरूको जिम्मेवारी घटुवा हुने चिन्ता बढेको छ,’ उनले भने, ‘विधान महाधिवेशनमै पदाधिकारी घटाउने निर्णय भएको हो । त्यो निर्णयसँगै अहिलेका पदाधिकारी कहाँ जाने ? अनि स्थायी कमिटीमा रहेर काम गरेका नेता फेरि पोलिटब्युरो सदस्यतिर झर्ने वा पार्टी कमिटीबाहिर रहने अवस्था आएको छ । मूल नेतालाई पदाधिकारी मिलाउन सकस छ ।’
एमालेको २०७८ मंसिरमा भएको १०औं महाधिवेशनबाट अध्यक्षसहित १९ पदाधिकारी तय गरेको थियो । त्यसबेला पदाधिकारीतर्फ अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव तीन र सात जना सचिव तय गरेको थियो । अहिले वरिष्ठ उपाध्यक्ष राखिएको छैन । त्यस्तै, उपाध्यक्ष तीन जना, महासचिव एक जना, उपमहासचिव एक जना र सचिव पाँच जना मात्रै रहने विधानमा व्यवस्था गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । त्यस्तै, ४५ जना स्थायी कमिटीलाई हटाइएको उनको भनाइ छ ।
१०औं महाधिवेशनका पदाधिकारीअन्तर्गत अध्यक्षमा केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा (बादल), विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ (हाल निधन भइसकेको) लाई चयन गरेको थियो । सुवासको ठाउँमा गुुरु बराललाई ल्याइएको छ । त्यस्तै, महासचिवमा शंकर पोखरेल आएका थिए । तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल चयन भएका थिए भने सात सचिवमा टोपबहादुर रायमाझी (हाल जेलमा), रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई चयन गरेको थियो । तर ११औं महाधिवेशनमा यी पदाधिकारी दुुईवटा समूहमा विभाजन भए पनि व्यवस्थापनमा दुुवै समूहका नेतामाथि चुनौती छ । शुुक्रबारसम्मको अवस्था हेर्दा एमालेमा १९ मध्ये १२ पदाधिकारी ओली पक्षमा उभिएका छन् ।
अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलका पक्षमा ६ जना मात्रै पदाधिकारी खुलेको देखिए । गुटगट छलफलमा व्यापक समय खर्चिएका संस्थापन पक्ष र इतर पक्षका शीर्ष नेताहरूले आ–आफ्नो टिम बलियो बनाउन नेता तानातानको गरेका छन् । तर ती नेताहरूलाई उचित जिम्मेवारी दिन नसक्दा टिमसमेत फेर्ने सम्भावना रहेको छ । विधानत ११ पदाधिकारीका लागि ओलीको टिमबाटै कम्तीमा ३० जनाले आकांक्षा राखेका छन् । सो समूहमा महासचिवको लडाइँ सबैभन्दा पेचिलो बनेको छ । साबिककै महासचिव शंकर पोखरेल फेरि पनि महासचिवको प्रमुख दाबेदार हुन् । तर उनलाई उपाध्यक्ष विष्णुु पौडेलले रुचाउँदैनन् । महासचिवका लागि उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वी सुुब्बा गुुरुङले दाबेदारीमा छन् ।
उपमहासचिव र सचिवका लागि नवौं महाधिवेशनमै सचिवमा प्रतिस्पर्धा गरेका परशुमेघी गुरुङदेखि संस्थापक मुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री हिक्मत कार्कीसम्म छन् । त्यस्तै, पूर्वमन्त्री रघुजी पन्त, भानुभक्त ढकाल, नेताहरू महेश बस्नेत, रामकुमारी झाँक्री, राजेन्द्र गौतम, अग्नि खरेललगायत दौडमा छन् । अर्का नेता ठाकुर गैरे र विनोद ढकालले पनि सचिवमा दाबी गरिरहेका छन् । गैरे र ढकालबाहेक अन्य सबै नेता अध्यक्ष ओली पक्षधर (संस्थापन) मानिन्छन् । यसले ओलीलाई नेता व्यवस्थापनको विषय थप पेचिलो बनेको नेताहरूको भनाइ छ ।
पुुराना १२ पदाधिकारीलाई कहाँ पठाउने र नयाँलाई कहाँ अटाउने भन्ने तनावमा ओली छन् । यता ईश्वर पोखरेल समूहमा भने अहिले ६ जना पदाधिकार रहेकालेले नयाँलाई जिम्मेवारीमा थप्ने बाटो खुला छ । त्यसका लागि पोखरेल समूहले ओलीले टिम बनाइसकेपछि अवस्था हेरेर उनीसँग नअटेका नेताहरूलाई जिम्मेवारी दिएर अघि बढाउने सोचमा छन् । दुुई नेताबीचको दोस्रो र तेस्रो तहका नेता तानातान भइरहे पनि दिने पदको अभाव खड्किएको दुवै समूहका नेताहरूले बताएका छन् ।
अहिलेको अवस्थामा नेता व्यवस्थापनको विषय ओलीलाई चर्को परेको देखिन्छ । उनले टिममा नअटाएका नेताहरू ईश्वरको क्याम्पमा जाने हुन कि भन्ने त्रास ओलीमाथि रहेको एक पदाधिकारीले बताए । यता ईश्वरको टिममा भने पुुराना नेताहरू कम रहेकाले नयाँ अनुहारले स्थान पाउने र तिनैले जित्ने अवस्था बन्दै गएको केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाले बताइन् । स्थायी कमिटिमा बसिसकेका नेता पदाधिकारीमा जाने योजना रहे पनि यसपटक पदाधिकारीको संख्या घटेकाले सिट सुरक्षित गर्ने प्रयासमा नेताहरू मूल नेतृत्वको वरिपरि दौडधुपमा छन् ।