
काठमाडौं : नेपाली कांग्रसलाई यसपटक १५औं महाधिवेशन र आमनिर्वाचनको तयारी सँगसँगै गर्नुपर्ने दबाब परेको छ । पुसको २६–२९ मा महाधिवेशन गर्ने तालिका ल्याएको कांग्रेस टोलटोलमा क्रियाशील सदस्यता नवीकरण र वितरणको काममा सक्रिय छ । यससँगै फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले कांग्रेस दोहोरो ‘प्रेसर’मा परेको हो ।
प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर मसान्तसम्म केन्द्रमा आइपुग्नेगरी उम्मेदवार सिफारिस गर्न मातहतका पार्टी कार्यालयलाई केन्द्रीय समितिले निर्देशन दिएको छ । मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरी त्यसैदिन जारी गरेको सर्कुलरमा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रिय सभामा उम्मेदवार सिफारिस पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिम सिफारिस गर्न निर्देशन दिएको थियो । सोही बैठकले आगामी पुसको १६ गतेबाट गाउँ/वडा अधिवेशन गर्ने निर्णय गरेअनुसार मातहत जिल्ला समितिमा परिपत्र गरेको छ ।
एकैपटक पार्टीको महाधिवेशन र आमचुनावको तयारी गर्नुपर्ने बाध्यतामा रहेका नेताहरू यतिबेला जिल्लाजिल्लामा पुगेर पार्टी बैठकमा केन्द्रित छन् । पार्टी केन्द्रले पठाएका क्रियाशील सदस्यता फारम वडा सभापतिमार्फत भराएर क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रमा पठाउने समय अत्यन्तै छोटो छ । झन्डै ९ लाख क्रियाशील सदस्यमध्ये हालसम्म करिब ४ लाखले मात्रै नवीकरण गरेका छन् । ५५ जिल्लाबाट ४ लाखभन्दा बढी सदस्यता नवीकरण गरेको विवरण प्राप्त भएको केन्द्रीय कार्यालयले जनाएको छ । नयाँ सदस्यता भर्खरै पठाएको र नवीकरणका समेत धमाधम आउनेक्रम जारी रहेकाले यकिन तथ्यांक केही दिनमा टुंगो लाग्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सातैवटै प्रदेश, १ सय ६५ प्रतिनिधि सभा क्षेत्र, ३ सय ३० प्रदेश सभा क्षेत्र, ६ महानगर, ११ उपमहानगर, सबै नगरपालिका र गाउँपालिका र सबै वडा कार्यसमितिमा परिपत्र गर्दै नयाँ क्रियाशील सदस्यता सहज ढंगले व्यापक रूपमा वितरण गर्न परिपत्र गरेको क्रियाशील व्यवस्थापन समितिका सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङले बताइन् । त्यस्तै, प्रतिनिधि सभाको निर्वाचनको तयारीमा पनि सँगै जुटेको उनको भनाइ छ । ‘हामीले एकैपटक दुईवटा काम सँगसँगै लगेका छौं,’ गुरुङले मध्यान्हसँग भनिन, ‘महाधिवेशनको सबैभन्दा ठुलो काम क्रियाशील सदस्यता नै हो । क्रियाशील सदस्यता सँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको चुनावको तयारीलाई व्यापकता दिएका छौं ।’
जातीय जनसंख्या, मत संख्या, युवा उमेर समूह, समावेशिता, महिला प्रतिनिधिमा एक तिहाइ र बुद्धिजीवी र विशेष योगदान गरेका व्यक्तिलाई सदस्यता दिएर कांग्रेस सबैको हो भन्ने अपनत्व हुनेगरी नयाँ सदस्य बन्ने व्यक्तिका लागि ढोका खुला गरेर कांग्रेसले जतिसक्दो सदस्यता बढाउने अभियानमा लागेको उनको भनाइ छ । पुस ८ गतेभित्र केन्द्रमा पुग्नेगरी सदस्यता वितरण तथा नवीकरणको चाप बढेको नेता गुङले बताइन् । त्यस्तै, आगामी चुनावका सन्दर्भमा बिहीबारसम्म सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने कांग्रेसले निर्देशन जारी गरेको थियो । प्रतिनिधि सभाको प्रत्यक्ष÷समानुपातिक र माघ ११ मा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नामावली पठाउने समयसीमा मंसिर २५ सम्म तोकेअनुसार सिफरिस भएर आएको कांग्रेसले जनाएको छ । ‘केन्द्रको परिपत्रअनुसार केही जिल्लाबाहेक अधिकांशले सम्भावित उम्मेदवारको सूची पठाइसकेको छ । सामान्य विवादजस्तो देखिएका केही जिल्लाबाट व्यापक छलफल र सहमति गरेर एक÷दुई दिनमै आइसक्छ,’ केन्द्रीय सदस्य गुरुङले भनिन् । पार्टी महाधिवेशन र चुनावको काम एकैपटक गर्नुपर्दा ‘प्रेसर’ बढी भए पनि दुवै काम एकैपटक सकिने कुराले केही सहजतासमेत भएको उनको अनुभव छ ।
‘हेभी वेट नेता’ कहाँबाट लड्दै छन् चुनाव ?
नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्रमा विधानअनुरूप योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिइएको थियो । सोहीअनुसार अधिकांश जिल्लाबाट सम्भावित उम्मेदवारको नाम सिफारिस भएर केन्द्रीय समितिमा आएको छ । कतिपय क्षेत्रले सर्वसहमतिमा एक जना नेताको मात्रै नाम पठाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको एकल नाम डडेल्धुराबाट सिफारिस भएको छ । उनी २०४८ सालदेखि अहिलेसम्मका निर्वाचनमा डडेल्धुराबाटै निर्वाचित हुँदै पाँचपटक प्रधानमन्त्री बनिसकेका छन् । १४औं महाधिवेशनमा देउवासँग सभापतिको प्रत्यासी नेता डा. शेखर कोइरालाको नाम मोरङ क्षेत्र नम्बर ६ बाट एकल सिफारिस भएको छ । कोइराला २०७९ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस्तै, कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको छ । २०७९ सालमा पनि खड्काको नाम एकल सिफारिस भएको थियो । त्यही क्षेत्रमा उम्मेदवार भएर विजयी भएका थिए ।
उपसभापति धनराज गुरुङको नाम स्याङ्जा क्षेत्र नम्बर १ र २ बाट सिफारिस भएको छ । दुवै क्षेत्रीय समितिले उपसभापति गुरुङको नाम सिफारिस गरेको जिल्ला सभापति राजु थापाले जानकारी दिए । गुरुङ २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा स्याङ्जा २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । त्यस्तै, महामन्त्री गगन थापाको नाम चारवटा जिल्लाबाट सिफारिस भएर आएको छ । उनलाई काठमाडौं क्षेत्र नम्बर ४ बाट एकल सिफारिस गरिएको छ भने सर्लाही–४, रोल्पा र धनकुटाबाट उनको नाम सिफारिस भएको हो । थापा यसअघि भएका तीन निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित सांसद हुन् । महामन्त्री विश्वप्रकाश शर्माको नाम झापा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ । महामन्त्री शर्मा २०७९ को निर्वाचनमा झापा–१ बाट नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई हराएर विजयी बनेका थिए ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को मकवानपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस भएको छ । उनी २०७९ को निर्वाचनमा पनि त्यही क्षेत्रमा उम्मेदवार बनेर पराजित भएकी थिइन् । सहमहामन्त्री बद्री पाण्डेको नाम प्रतिनिधि सभामा प्रत्यक्षतर्फ बाजुराबाट सिफारिस भएको छ । उनी २०७९ को निर्वाचनमा पनि त्यहीबाट प्रत्यक्ष निर्वाचित भएका थिए । सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नाम पाँचथरबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका कांग्रेस पाँचथर सभापति रूपनारायण जबेगुले बताए । उनी २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा कांग्रेसबाट उम्मेदवार भएर पराजित भएका थिए ।
सहमहामन्त्री जीवन परियार कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सिफारिस भएका छन् । उनी २०७९ को प्रतिनिधि सभामा समानुपातिकतर्फका सांसद हुन् । त्यस्तै, सहमहामन्त्री किशोरसिंह राठोरको नाम प्रतिनिधि सभामा प्रत्यक्षतर्फ बाँके क्षेत्र नम्बर ३ बाट सिफारिस भएको छ । उनी २०७९ को निर्वाचनमा पनि त्यही क्षेत्रबाट निर्वाचित सांसद हुन् । सहमहामन्त्री महेन्द्र यादवको नाम प्रतिनिधि सभाको प्रत्यक्षतर्फ धनुषा क्षेत्र नम्बर ४ बाट सिफारिस भएको छ । उनी २०७९ मा पनि त्यहीबाट उम्मेदवार बनी पराजित भएका थिए । त्यस्तै, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौं क्षेत्र नम्बर ५ बाट सिफारिस भएका छन् । सो क्षेत्रबाट महतसहित नेता प्रदीप पौडेल, रजनी थापासहित ६ जनाको नाम सिफारिस गरेको हो । २०७४ सालको चुनावमा महत एमाले नेता ईश्वर पोखरेलसँग पराजित भएका थिए । २०७९ उनी समानुपातिकतर्फबाट सांसद हुन् ।
त्यस्तै, पूर्वउपसभापति विजयकुमार गच्छदारको नाम सुनसरी क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सिफारिस भएको छ । उनी २०४८ सालदेखि त्यही क्षेत्रमा उम्मेदवार बन्दै आएका छन् । पूर्वउपसभापति विमलेन्द्र निधिको धनुषा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस भएका छन् । २०७९ मा समानुपातिक प्रणालीमा बसेका निधि त्यसअघि यही क्षेत्रबाट निर्वाचन लड्दै आएका नेता हुन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिस भएका छन् । उनी २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । पूर्वउपसभापति गोपालमान श्रेष्ठको नाम स्याङ्जा क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ ।