– खेमलाल पहारी
चैत्र महिनाको दोश्रो साता मोतीराम मा.वि.मा वार्षिक परीक्षा चलिरहेको थियो । निरीक्षक नपरेका शिक्षक शिक्षिकाहरु विद्यालयको चौतारोमा बसेर अघिल्ला दिनका उत्तर पुस्तिकाहरू परिक्षण गर्दै थिए । एकजना मास्टर साबले फ्यात्त कपिहरु भूँईमा फ्यालेर आफ्नो अगाडि रहेको गोरखापत्र उठाएर पढ्न थाले । “बम्बैको एउटा कोठीबाट आठ जना नेपाली चेलीहरुको सकुशल उद्धार, उनीहरुको उद्धार भारत–नेपाल मैत्री संघको सहयोगमा भई हाल विरगञ्जस्थित माइती नेपालको सरणमा राखिएको छ । सबै चेलीहरु हालसम्म परिवारसँग सम्पर्क बिहीन छन् । उनीहरूको पुनरोत्थानको लागि माइती नेपालद्वारा विभिन्न सरकारी गैह्रसरकारी संघ संस्थाहरुसंग सहयोगको अपिल गरिएको छ ।”
“ए फोटोसमेत दिएको रैछ गाँठे । हेर्नुस् हेर्नुस् पौडेल सर, चिनेको क्वै छ कि ?” एउटा बोले ।
“हा... के हेर्नु ? पत्रिकैबाट एड्सका जीवाणु सरे भने, होसियार है माड्साब”, अर्काले जिस्क्याए ।
पत्रिका भूईंमा खस्यो । पानी लिएर आएको पियनले निहुरिएर त्यसलाई टिपे । एकक्षण घोरिएर हेरेपछि उनले अत्तालिएर भने, “नपढेकालाई काला–अक्षर भैँसी बराबर भन्छन् तर, मैले तस्बिर चैँ पढेँ है, ल हेर्नुस् त यी यहाँ”, उनले घुर्मैला तस्बिरको एक छेउमा हातको चोरी औंला फिराउँदै भने, “यीनी हाम्रै माझगाउँका काहिँला बाकी हराएकी नातिनी ठुली हैनन् त ?”
को ‘ठुली’ भन्दै एकजनाले पत्रिका हातमा लिए ।
“बिपना क्या” भन्दै अर्काले झुकेर हेरे ।
एकक्षण “ए, हो हो !, हैन होला !, खै खै !” जस्ता ध्वनि मात्र सुनिए । वरपर रहेका ठुलीनानी र काहिँलाबाको परिवारलाई चिन्ने र नचिन्ने सबैले पत्रिकाको तस्बिर हेरे र मिश्रीत प्रतिक्रिया दिए । गोरखापत्रको एक कुनामा एक झिल्को आगो सल्काएपछि पियन गायब भए । विस्तारै पत्रिकाको आगो सल्केर चौतारो दन्दनी बल्न थाल्यो । एकैक्षणमा चैत्रको हावासँगै दन्कन सुरु गरेको आगोले विद्यालयको कार्यालय, चीयाघर, साझाघर, पुस्तक पसल, सार्वजनिक फोनघर, कुटानी पिसानी मिल, किराना पसल आदि हुँदै पुरै गाउँनै खरानी बनायो ।
यता स्वाँ स्वाँ फ्वाँ फ्वाँ गर्दै काहिँला बा–आमा र उनका दुई छोराहरु पियनको पछि पछि डढेलो निभाउन आए । आगो गोरखापत्रबाटै सल्केको थियो तर, त्यो अझै डढेको थिएन तर त्यसको आगोको रापले बुढा बुढी तत्कालै मुर्छा परे । छोराहरु पुर्पुरोमा हात राखेर रुन थाले भने अरुहरु नजिकै गाँडाघेर लागेर काहिँला बाको भाग्यमा ग्रहण लागेको टुलुटुलु हेर्न थाले ।
कसैले प्वाक्क बोल्यो, “के को उद्धार हुनु, उद्धार सुद्धार केही पनि होइन ! आजसम्म बम्बैमा बेचिएपछि कसैले कसैको उद्धार गरेको छ ? नेपालको झ्यालखाना हो र बम्बैको कोठी भित्ता फोरेर, सुरुङ्ग खनेर भाग्नलाई ? एक होइन दुई होइन; आठ/आठ जना फिर्ता आउने भनेको चानचुने कुरा हो ? सल्कियो होला एड्स सेड्स अनि दुधमा परेको माखो, पÞm्याल्दीई होली कोठीकी बाईले । यो पुनरोत्थान भनेको सरकारले विदेशीसँग भिक्षा माग्ने तरिका मात्र हो । नाकको टुप्पामा लाज नभएकाहरुले अब एड्स रोगीलाई गाउँमै ल्याउने होलान् अनि त कतिलाई पो शीकार बनाउने हो बेसरमले । बरु घर आउनु भन्दा त उतै हत्ते गरेर मरेकै बेश ।” कोही केहि बोलेनन् ।
दिनहरू फेरिँदै गएसँगै माझगाउँलेहरूमा काहिँलाबाको परिवारलाई हेर्ने नजरपनि फेरिए । बिस्तारै पानी–पँधेरो, घाँस–दाउरा, जात्रा–पर्ब, भारा–पर्म आदि सामाजिक कार्यमा काहिँलाबाको सम्पुूर्ण खलक एक्ल्याइन थालियो । सबै आफन्तहरूले आँखा चिम्लिए । कान्छीले पनि घटना घटेकै दिन पछिका बाँकी परीक्षामा सामेल हुन सकिनन् । उनीहरुले धेरै पटक यो विपत्ति थाम्न सान्नानीलाई सम्पर्क गर्न खोजे तर, कसैको केही जोर चलेन ।
भित्तामा टाँगेको भित्ते पात्रो फेर्ने दिन आउनै लागेको थियो तर, काहिँलाबाको घरमा नयाँ पात्रो किन्न जाने अदम्य साहस कसैको थिएन । अझै पनि गाँठिकुरा पत्ता लागेको थिएन र मूल सडकको पुलिस चौकीमा पुगेर कुरा बुझ्ने वा फिराद गर्ने हिम्मत पनि परिवारले जुटाउन सकेको थिएन । तर एकदिन मध्याँन्हमा काहिँला बा तल बेँसीमा गहुँका नलमा आगो लगाउँदै थिए । परबाट दुइजना प्रहरीका जवान उनी भएतिर आए । एउटा नजानिँदो डरले बुढाको छाती ढक्क फुल्यो । उनिहरु नजिकै आएर उनकै नाम लिएर चिन्नुहुन्छ भनेर सोधे । बुढाले काहिँला बा भन्ने माझगाउँको द्रोण प्रसाद शर्मा भनेको मैँ हुँ भने । एउटा जवानले खल्तीबाट हत्केला भरिको नारी तस्बिर निकालेर यीनलाई चिन्नुहुन्छ ? भन्दा बुढाका आँखा चम्किए र तुरुन्तै निधारमा गाँठा परे । बिचरी ठुली ! कालो लामो केश ठुटे गरि काटेर भड्डु जस्तो देखिएको, शरीरका कपडा उतारेर पाइन्ट र टि–शर्ट लगाइएकी, हात्तीका दाह्रा जस्ता सुन्दर डोला पाखुरामा ठाउँ ठाउँमा काला काला दाग लागेका, पोहर सालसम्म भर्खरै फक्रेको गुलाब जस्तो अनुहारको चमक आज बमको छर्राले उडाएको जस्तो थियो । काहिँलाबाका आँखा भरिएर आए, गला अवरुद्ध भयो । उनले दुवै हातले आफ्नो कपाल समाउँदै तस्बीर आफ्नै नातिनी ठुलीको भएको, उनले गत वर्ष कुनै नौलो मान्छेसँग भागेर प्रेम विवाह गरेकी भन्ने सुनेको तर, आजसम्म कुनै खबर नआएको बताएपछि पुलिस जवानले उनी भेटिएको र कहाँ छिन् भन्ने कुरा बताई दिए । उनको कुरा पत्रिकाको कुरासँग पुरै मेल खायो । काहिँलाबा एकपटक डाँको छोडेर रोए तर, पत्रिकामा देखेको कुरा भन्न सकेनन् । “लौ परिवारसँग सल्लाह गरेर भरे भोलि तल चौकीमा उजुर गर्न आउनु होला” भनेर ती जवानले बुढालाई एउटा पत्र थमाए अनि त्यस्तै अर्को कागजमा बुढाको सहिछाप लिएर चौकितिरै फर्के । बुढा साँझपख घर पुगे ।
घरमा छोरा–बुहारीसँग ठुलीको बारेमा पुलिसले बताएको कुरामा लामो छलफल भयो । ठुलीलाई घर ल्याउने वा उतै छोड्ने भन्ने कुरामा त झन्डै झन्डै हात हालाहालको स्थिति देखा पर्यो । जेठाले सुटुक्क ल्याएर भित्रै राख्ने कुरामा जोड दिए भने कान्छा कान्छीले कान्छीनानी र परिवारका अरु सन्तानको भविष्यलाई ख्याल गरेर उसलाई बिर्सनु बेश हुने कुरामा जोड दिए । ठुली बुहारीले ठुली नानीलाई सहरमै डेरा लिएर कुनै इलम सिक्न लगाउने र पछि उनको स्वास्थ्य परीक्षणको प्रमाण आएपछि मात्र के गर्ने भन्ने कुराको निर्णय लिनु उत्तम ठानिन् । “हाम्लाई सोधेर पोइल गइथी र अहिले त्यसको लागि हामी सबै गाउँ छिमेकीबाट एक्लिनु पर्ने ? उतै मर्न दिए हुन्छ”, कान्छी बुहारीले के भन्न भ्याएकी थिइन्, “दिन दशा सँधैं हामीलाई मात्र लाग्छ ? के तँलाई कहिल्यै रुनु पर्दैन ?” भनेर बिमलाले झन्डै देउरानीका जगल्टा केलाइनन् । त्यसपछि उनीहरुको बसाइ बिना निष्कर्ष टुंगियो ।
आफ्नो कोखको घाउ चर्किंदा आफैलाई मात्र दुख्दो रहेछ । बिमलाको कोखको घाउ नराम्ररी बल्झिएको थियो । त्यसको उपचारमा उनी आफैँ तातेर भोलिपल्ट सबेरै हिडिन् । मूल सडकको प्रहरी चौकीमा आवश्यक कुरा बुझेर उनी सिधै विरगञ्ज जाने बसमा चढीन् ।
विरगञ्जस्थित माइती नेपालको कार्यालयमा पुलिस र अधिकारकर्मीहरुको एक सय आठ यक्ष प्रश्नका जवाफ दिँदा दिँदा, रुँदा कराउँदा र चेलीबेटी बेचबिखनविरुद्ध जनचेतना मुलक तालिम लिँदा, ठुलीको रगत परीक्षणको नतीजा कुर्दा एकहप्ता यसै लाग्यो । पैताला मुनिको जमिन भासिने गरि ठुलीको स्वास्थ्य परीक्षाको नतीजा आयो । पहिरोसँगै एक वर्ष देखि बिछोडिएका माउ र चल्लाको भेट गराईयो । घर छोडेको आठौँ दिनको राति बाह्र एक बजे दुइटा काला काला मानव आकृति मूल सडक चौकी, साल्टारी खेत, गौंडो र ठुलो ढुंगा टेक्दै काहिँलाबाको आँगनमा आएर अडिए ।
“तँ खोपीमा बस्चेस् कि गोठमा ?” “भो भो खोपीमै बस् । सँधै तीन बजे उठेर नुहाई धुवाई गर्नु त्यसपछि खोपीमै बस्नु । तेरो थुतुनो गाउँको कसैले पनि नदेखोस् । तँ घर आएको कुरो कसैले चाल नपाओस् । “बिमलाले यति भनेपछि दुबैजना पिँढीको खोपीमा पसे ।
एकदिन ठुलीले झोला धुँदा एउटा छोरा मान्छेको तस्बिर धारामा छोडिछ ।
“ए राँडी, तलाईं यो फोटो कसले दियो, हँ ? यो फोटो काहाँ पाईस्, ए नकचरी ?” बिमला च्याठीईन, ठुली केही बोलिन । दिउँसो एउटा रोटी खोपीको ढोकाभित्र हुर्याउँदै बिमलाले बिहानको तस्बीरको बारेमा फेरि सोधिन् । “म कोठी छोडेर हिँड्नु अगाडि कोठीको पालेले दिएको; यो तिम्रो ज्वाईं हो”, ठुलीले रुँदै भनी ।
“हाम्लाई पनि थाछ ! तर ज्वाईं त्यहाँ कसरी पुग्नुभो अनि किन दिने पालेले तँलाई वहाँको फोटो ?”
“मलाई बेच्ने गिरोहको नाइके उही रहेछ आमा ! मेरो श्रीमान्, तिम्रो ज्वाईं !”
बिमला दुवै हातले कान थुन्दै थ्याच्च भुईमा थेचारिइन् र रुँदै भनिन्, “के यो तेरो श्रीमान् हो ?”
“भर्खरै भनेकी हैनौ, आमा, हाम्लाई पनि थाछ भनेर ?” ठुलीले प्रतिप्रश्न गरिन् । “हो त यो मेरै लोग्ने तर, हिँड्ने बेलामा थाहा पाएँ दलालको नाईके रहेछ, साला रण्डो ! एकपटक मात्र भेट्न पाए मेरो शरीरको सबै रगत त्यसैलाई सुइ लगाएर मर्थेँ ।”
“मेरी छोरी” भनेर बिमलाले ठुलीलाई झ्याप्पै अंगालो हालेर रोइन् । एकक्षणपछि उनी अघिको तस्बिर लिएर बाहिरिइन् र मझेरीमा भित्तामा टाउको ठोकेर धेरैबेर रोइ रहिन् । आमाले किन यसो गर्दैछिन्, ठुलीले केही बुझिनन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies