२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

निर्वाचनबाट सिक्ने पाठ

shivam cement
जनकराज पाठक
२०८२ फागुन २६ गते ०६:००
Shares
निर्वाचनबाट सिक्ने पाठ

लोकतन्त्रमा निर्वाचन भनेको जनताले आफ्नो प्रतिनिधि वा नेता छान्ने प्रक्रिया हो । निर्वाचनमा राजनीतिक दलका उम्मेदवार वा स्वतन्त्र उम्मेदवार चुनावमा उठ्छन् । जनताले भोट दिन्छन्, सबै भोट गनिन्छ र जसले धेरै भोट पाउँछ, उसले जित्छ भने कम भोट पाउनेले हार्छ । निर्वाचनमा जित्ने प्रतिनिधि वा दलको मुख्य जिम्मेवारी विधिको शासन कायम गर्दै सरकार सञ्चालन गर्नु हो । जनताका समस्या समाधान गर्ने, नीति र कार्यक्रम लागू गर्ने तथा आवश्यक कानुन निर्माण गरेर देशलाई सही दिशामा अघि बढाउने काम उनीहरूकै काँधमा हुन्छ ।

निर्वाचनमा हार्नेहरूको पनि लोकतन्त्रमा महत्वपूर्ण भूमिका हुन्छ । विपक्षीको भूमिकामा रहँदै सरकारका गलत कामको आलोचना गर्ने, सुधारका लागि दबाब दिने, जनइच्छा पूरा गर्न आवाज उठाउने र आफ्नो क्षेत्रमा रहेका जनताका समस्याको समाधानका लागि निरन्तर प्रयास गर्ने उनीहरूको दायित्व हो । साथै, अर्को निर्वाचनका लागि तयारी गर्दै पार्टीलाई बलियो बनाउने र जनतासँग सम्पर्क बढाइरहने काम पनि विपक्षी पक्षको जिम्मेवारी हो ।

वास्तवमा जित र हार दुवै लोकतान्त्रिक प्रक्रियाका स्वाभाविक भाग हुन् । निर्वाचन हार्नेहरूले पनि लोकतन्त्रलाई बलियो बनाउन योगदान पुर्‍याउँछन् । त्यसैले जित्ने दल वा प्रतिनिधिले हार्ने पक्षलाई सम्मानजनक व्यवहार गर्नुपर्छ । त्यस्तै, हार्ने पक्षले पनि विजेतालाई बधाई दिँदै जनहितका काममा सहयोगी भूमिका खेल्नुपर्छ । यदि जित्नेले घमण्ड देखाउन थाल्यो वा हार्नेले निराशा मात्र व्यक्त गर्न थाल्यो भने लोकतन्त्र कमजोर हुन सक्छ । त्यसैले निर्वाचन प्रक्रियामा सहभागी सबै व्यक्तिहरू लोकतन्त्रका सम्मानित पात्र हुन् ।

लोकतन्त्रको सुन्दरता भनेकै नियमित निर्वाचन हो । एउटै निर्वाचन सधैंका लागि हुँदैन; प्रायः हरेक पाँच वर्षमा निर्वाचन हुने व्यवस्था हुन्छ । जनमत पनि सधैं एउटै ठाउँमा स्थिर रहँदैन । हिजो धेरै मत पाएका दल आज कम मतमा झर्न सक्छन् र कम मत भएका दल भविष्यमा माथि आउन सक्छन् । पछिल्ला निर्वाचनका परिणामहरूले पनि जनमत सधैं चलायमान रहने कुरा स्पष्ट देखाएका छन् ।

निर्वाचनमा हार्नुका विभिन्न कारण हुन सक्छन् । जब नेता वा पार्टी जनताबाट टाढा हुन्छन्, जनताका समस्या बुझ्न वा समाधान गर्न असफल हुन्छन्, तब मतदाताको समर्थन घट्न सक्छ । त्यस्तै, पार्टीको संगठन कमजोर हुनु, स्थानीय संरचना सक्रिय नहुनु, चुनावी अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्नु वा आर्थिक स्रोत कमजोर हुनु पनि हारको कारण बन्न सक्छ । उम्मेदवारको व्यक्तिगत छवि पनि निकै महत्वपूर्ण हुन्छ । यदि उम्मेदवारमाथि भ्रष्टाचारको आरोप छ, घमण्डी व्यवहार देखिन्छ वा जनतासँग सम्बन्ध कमजोर छ भने मतदाताले समर्थन गर्न हिच्किचाउँछन् ।

प्रतिद्वन्द्वी उम्मेदवार वा पार्टी बलियो हुनु, उनीहरूको रणनीति राम्रो हुनु वा आफ्नो सन्देश प्रभावकारी रूपमा जनतासम्म पुर्‍याउन नसक्नुले पनि हारको सम्भावना बढाउँछ । पार्टीभित्रको गुटबन्दी, टिकट वितरणमा विवाद वा कार्यकर्ताबीच असन्तुष्टिजस्ता आन्तरिक समस्याले पनि चुनावी परिणाममा नकारात्मक असर पार्न सक्छ । त्यसैगरी, आफ्ना समर्थक मतदातालाई मतदान केन्द्रसम्म ल्याउन नसक्नु वा उनीहरूको मत सुरक्षित राख्न नसक्नु पनि पराजयको कारण बन्न सक्छ ।

निर्वाचन जित्नका लागि स्पष्ट दृष्टिकोण र एजेन्डा आवश्यक हुन्छ । जनताले सजिलै बुझ्ने गरी योजना र नीतिहरू प्रस्तुत गर्नुपर्छ र स्थानीय समस्या जस्तै ः रोजगारी, सडक, शिक्षा र स्वास्थ्यको समाधानका व्यावहारिक उपाय देखाउनुपर्छ । जनतासँग प्रत्यक्ष सम्पर्क पनि अत्यन्त महत्वपूर्ण हुन्छ । घरदैलो कार्यक्रम, भेटघाट, छलफल तथा मतदाताका गुनासा सुन्ने र त्यसमा चित्तबुझ्दो प्रतिक्रिया दिन सक्ने उम्मेदवारले जनविश्वास जित्न सक्छ ।

साथै, विश्वासिलो र सक्रिय कार्यकर्ता टोली हुनु पनि सफलता हासिल गर्ने महत्वपूर्ण आधार हो । प्रचारप्रसार, संगठन र मतदाता व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड गरी प्रभावकारी रूपमा काम गर्न सके चुनावी अभियान बलियो हुन्छ । सकारात्मक प्रचार पनि उत्तिकै आवश्यक हुन्छ, अरू उम्मेदवारलाई कमजोर देखाउनुभन्दा आफ्ना काम, योजना र प्रतिबद्धता राम्रोसँग प्रस्तुत गर्न सके जनतामा सकारात्मक सन्देश पुग्छ ।

निर्वाचनको दिन मतदातालाई मतदान केन्द्रसम्म ल्याउने व्यवस्था मिलाउनु र उनीहरूको मत सुरक्षित रहोस् भन्ने सुनिश्चित गर्नु पनि जितको महत्वपूर्ण पक्ष हो । साथै, युवा तथा पहिलोपटक मतदान गर्ने मतदातालाई अभियानमा जोड्न सके चुनावी परिणाममा सकारात्मक प्रभाव पर्न सक्छ । वर्तमान समयमा हाम्रो देशको राजनीतिक परिस्थितिमा यस्ता धेरै पक्षहरू देखिएका छन् । निर्वाचनको परिणामसँगै विजयी भएका प्रतिनिधिहरूले जनहितमा काम गरून् भन्ने अपेक्षा छ । पराजित पक्षले पनि सहयोगी भावना राख्दै आजैदेखि अर्को निर्वाचनका लागि तयारी सुरु गर्नुपर्छ ।

पंक्तिकार पनि यस निर्वाचनमा आफ्नो दल र उम्मेदवारलाई जिताउन निकै मिहिनेतका साथ लागेको थियो, तर यसपटक जनमत पंक्तिकार आबद्ध पार्टीको पक्षमा देखिएन । यद्यपि, एउटा निर्वाचन हार्दैमा समग्र राजनीति हारिएको मानिँदैन । कम मत प्राप्त गर्ने पक्षले गहिरो, निष्पक्ष र सूक्ष्म समीक्षा गर्दै भविष्यमा राम्रो परिणाम ल्याउने गरी अझ मिहिनेत गर्न सक्नुपर्छ ।

(लेखक पाठक, राप्रपाका केन्द्रीय सदस्य हुन् ।)

सम्बन्धित खबर