
काठमाडौं : नवौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वमा आएपछि नेकपा एमालेमा हराउँदै गएको आन्तरिक लोकतान्त्रिक अभ्यास ११औं महाधिवेशनमा पुनः फर्किएको छ । १०औं महाधिवेशनमा प्रतिस्पर्धामै जान रोकिएको भन्दै पार्टीभित्र गहिरो असन्तुष्टि थियो । केही पदमा चुनाव भए पनि प्यानलगत प्रतिस्पर्धा निषेध गरिएको थियो । यसपटक भने एमालेले नवौं महाधिवेशनकै शैलीमा नेतृत्व चयन गर्दै छ ।
अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीचको समूहगत भिडन्त कसैले रोक्न खोजेन् । बदलिँदो राजनीतिक परिवेशअनुसार एमालेमा नेतृत्व हस्तान्तरणको मुद्दासहित पोखरेल समूहले ओलीलाई चुनौती दिएको छ । ओलीको नेतृत्वकालमा नजिक रहेर सघाएका वरिष्ठ उपाध्यक्ष पोखरेलले नै ओलीसँग टिमगत प्रतिस्पर्धा गर्ने आँट गरेका हुन् । दुवै टिममा अध्यक्षदेखि सदस्यसम्मको प्यानल बनेको छ । नयाँ नेतृत्वका लागि बुधबार बिहान मतदान हुने छ ।
पोखरेल टिमबाट उपाध्यक्षमा उम्मेदवारी दिएका निवर्तमान सचिव गोकर्ण विष्टले एमालेमा लोकतान्त्रिक अभ्यासलाई फर्काउने कसरत भएको प्रतिक्रिया दिए । उनले मध्यान्हसँग भने, ‘नेकपा एमाले जनताको बहुदलीय जनवादको मान्यतालाई स्वीकार गर्ने पार्टी भएकाले आन्तरिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने अभ्यासलाई स्वागत गर्छ । ५/६ वर्ष पार्टी जसरी चल्यो, त्यसबाठ पाठ सिकेर ११औं महाधिवेशनले आन्तरिक लोकतन्त्रको अभ्यासलाई फर्काएका छौं । जबजको विशेषता पनि यही हो ।’
२०७१ सालमा भएको नवौं महाधिवेशनमा माधव नेपाल र केपी ओलीबीच समूहगत प्रतिस्पर्धा भएको थियो । ओलीले ४३ मतले नेपाललाई हराएका थिए । ओली टिममा रहेका पोखरेल र नेपाल टिमका सुरेन्द्र पाण्डेबीच महासचिवमा कडा प्रतिस्पर्धा हुँदा ईश्वरले ९ मतले महासचिव जितेका थिए । त्यस्तै, हालका महासचिव शंकर पोखरेल उपमहासचिवमा पराजित हुँदा घनश्याम भुसाल र विष्णु पौडेलले जितेका थिए । १०औं महाधिवेशनमा अध्यक्ष ओलीले बन्दसत्रमै सर्वसम्मत नेतृत्वका लागि सूची पढेर सुनाएका थिए । उनको प्रस्तावअनुसारै शंकर पोखरेल सर्वसम्मत महासचिव बने । अध्यक्षमा भीम रावलले ओलीसँग प्रतिस्पर्धा गरे पनि फराकिलो मतान्तरले पराजित हुन पुगे । ओलीको सूचीमा नपरेर उपाध्यक्ष उम्मेदवार बनेका घनश्याम भुसालले सन्तोषजनक मत ल्याए पनि जित्न सकेनन् । उपाध्यक्ष, सचिव र खुला सदस्यमा चुनाव भए पनि सबैजसो ओलीको सूचीमै रहेका नेताहरूले जितेका थिए । प्रतिस्पर्धा भएका पदमा ओली पक्षको एकलौटी दबदबा कायम रहँदा इतर समूहका कोही पनि आउन सकेका थिएनन् । संस्थापनले मतदान गर्न नपर्ने सूची तयार पारेर प्रतिनिधिलाई बाँडेको थियो । ओली र उनको टिमसँग प्रतिस्पर्धा गरेका रावल, भुसालसहितका नेता पार्टीबाट पलायन भए । उनीहरूले गत निर्वाचनमा टिकटसमेत नपाएपछि पार्टी नै छाड्नुपर्ने स्थिति आयो ।
सौराहा महाधिवेशनको तुलनामा भृकुटीमण्डपमा भिन्न दृश्य देखिन्छ । प्रतिस्पर्धा सहज बनाइँदा जोकोही समूहगत वा स्वतन्त्र उम्मेदवार दिन सक्ने अवस्था थियो । महाधिवेशनस्थल उत्सवमय मात्र बनेको छैन, एमाले आन्तरिक लोकतन्त्रमा फर्किएकोमा नेताहरू र प्रतिनिधिले समेत खुसी व्यक्त गरेका छन् । त्यसो त प्रतिनिधि छनोटमै टिमगत प्रतिस्पर्धा भएको थियो । सर्वसम्मत भएका ठाउँमा पनि दुवै पक्षले भागबण्डा गरेका थिए । त्यसैले महाधिवेशन प्रतिनिधि को कुन समूहका हुन् भन्ने प्रस्टै छ । तर दुवै पक्षका नेताहरूले मतदाता प्रभावित बनाउने अनेकन उपाय लगाइरहेका छन् । मंगलबार राति ८ बजेबाट हुने भनेको मतदान आज बिहान ८ बजेका लागि सारिएको छ ।
२६ गतेदेखि काठमाडौंको महँगो बसाइमा परेका प्रतिनिधिका लागि पार्टीले खानाको कुपन व्यवस्था गरे पनि बासको व्यवस्था गरेको छैन । लामो समयदेखि मतदानको पर्खाइमा परेका प्रतिनिधिसमेत दिक्क मान्दै लाइनबाट फर्किएका छन् । विधान महाधिवेशनबाट वैचारिक सैद्धान्तिक पाटोको काम सकेकाले नेतृत्व चयनको मात्रै काम बाँकी रहेको शीर्ष नेताहरूले बताएका थिए । तर जेनजी आन्दोलनपछि फरिएको परिस्थितिलाई ख्याल गरेर युवाहरूलाई समेत पार्टीमा समेट्ने गरी विधान परिमार्जन गरिएको महासचिव शंकर पोखरेलले बताए । अध्यक्ष ओलीले आफ्नो टिमका नेता व्यवस्थापन गर्न नसक्दा गत विधान महाधिवेशनबाट घटाइएका पदाधिकारी र हटाइएको स्थायी कमिटी पुनः फर्काइएको छ । यो समयको आवश्यकता भएको दाबी गर्दै पोखरेल भन्छन्, ‘नेकपा एमाले जेनजी आन्दोलनपछिको आमयुवाहरूको मनोभावनालाई समेट्नेगरी विधान संशोधन गरेर राजनीतिमा आउने युवाहरूको चासो र चिन्ता सम्बोधन गरेको हो ।’ प्रतिस्पर्धाका सन्दर्भमा एमाले सधैं खुला रहेको उनी बताउँछन् ।
मनोनयन गर्दासम्म पदीय विभाजनमा नमिलेका नेताबीच ओलीले सोमबार बोलाएर छलफल गरेर कुरा मिलाएका छन् । महासचिवबाट पछि नहट्ने जिकिर गर्दै आएका प्रदीप ज्ञवालीले ओलीको टिमबाट शंकरलाई पक्का गरेपछि उपाध्यक्षको पद छाडेर सदस्य मात्रै उम्मेदवारी दिए । त्यससँगै उनले शंकरलाई असहयोग गर्ने आँकलन गरिएको छ । तर मतदानस्थलमा भने ज्ञवाली शंकरसँगै हिँडेको देखिन्छ । त्यस्तै, नेता विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले समेत शंकरलाई खुलेर सहयोग नगर्ने शंका मेटाउन ओलीले निर्देशन दिइसकेका छन् । ओलीले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका रघुजी पन्तलाई ज्ञवालीको ठाउँमा समेटेका छन् । खाली ठाउँ देखेर उम्मेदवारी हालिराखेका पन्तलाई संस्थापन पक्षको तर्फबाट उपाध्यक्षको आधिकारिक उम्मेदवार बनाइएको हो ।
पन्तलाई समेत समावेश गरेर केपी शर्मा ओली समूहले मंगलबार अन्तिम सूची तयार गरेको छ । केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सुहाङ नेम्वाङ पनि ओली समूहको आधिकारिक उम्मेदवार बनेका छन् । त्यस्तै, ईश्वर पक्षले पनि सबै पदमा उम्मेदवारको टिम बनाएको छ । पोखरेल समूहले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका अग्नि खरेललाई समेत समेटेर प्यानल बनाएको हो । उपमहासचिवमा आनन्द पोखरेललाई थपेको छ ।
विद्युतीय मतदानबाट मत दिन तयार रहेका प्रतिनिधिहरूका लागि एमालेले ९० वटा विद्युतीय मतदान मेसिनको व्यवस्थापन गरेको छ । जसमा १० वटा मतदानस्थलबाहिर नमुना मतदानका लागि राखिएको छ भने ८० वटा मेसिनबाट मतदान हुनेछ ।