२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमालेमा ओलीको अनुमोदन

shivam cement
जीवन शर्मा
२०८२ पुष ४ गते ०६:२०
Shares
एमालेमा ओलीको अनुमोदन

काठमाडौं : जेनजी विद्रोहपछि चौतर्फी आलोचनामा परेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको ११औं महाधिवेशनबाट अनुमोदित भएका छन् । कुनैबेला कार्यकारी पदमा दुई कार्यकालको वकालत गरेका उनी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।  

जेनजी आन्दोलन (२३–२४ भदौ)पछि अध्यक्षबाट राजीनामा दिन ओलीलाई पार्टीभित्रैबाट दबाब थियो । उनले नेतृत्वबारे निर्णय लिनभन्दै एक वर्षअघि नै अर्ली महाधिवेशनको घोषणा गरे । झन्डै ७५ प्रतिशत महाधिवेशन प्रतिनिधिको मत लिएर उनी एमाले अध्यक्षमा तेहेरिएका छन् । एमाले–माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपा कालसमेत जोड्दा उनी चौथोपटक सबैभन्दा ठुलो वामपन्थी दलको अध्यक्ष बनेका हुन् । १०औं महाधिवेशनमा सूची पढेर नयाँ कार्यसमितिको घोषणा गरेको भन्दै आलोचना बेहोरेका ओलीले यसपटक आन्तरिक लोकतन्त्रको अभ्यासमा कुनै बाधा पुर्‍याएनन् । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिएर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका थिए । तर पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म अधिकांश पदमा अध्यक्ष ओली प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । योसँगै मंसिर २७ मा भक्तपुरको सल्लाघारीको चौरमा उद्घाटन भएको महाधिवेशन ६ दिनपछि सकिएको छ । 
पोखरेलले कुल मतदाताको एक चौथाइ मत मात्र प्राप्त गरे । अध्यक्षमा ओलीले १ हजार ६सय ६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पोखरेलले ५ सय ६४ मतमा चित्त बुुझाउनुुपरेको छ । टिमलाई एक ढिक्का राख्न संस्थापन पक्षले निकै मिहेनत गर्नुपर्‍यो । पदाधिकारीमा धेरै नेताको आकांक्षाले प्यानल घोषणाले असन्तुष्टि छरप्रस्ट भए । निवर्तमान उपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्य मात्र उठे । महासचिवमा ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको दाबी थियो । ओलीले शंकर पोखरेललाई नै दोहोर्‍याउन चाहेपछि असन्तुष्टि चुलिएको थियो । 

१९ पदाधिकारीमा ओली प्यानल पुरै हाबी छ । पोखरेल पक्षबाट उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी भए । भूगोलमा पोखरेल प्यानल करिब–करिब शून्यमा परिणत भयो भने केही सदस्य पनि निर्वाचित भएका छन् ।  महासचिवमा ओली प्यानलबाट शंकर पोखरेलले दोस्रो कार्यकालका जित हासिल गरेका छन् । उनले १ हजार २ सय २८ मत प्राप्त गर्दा सुरेन्द्रप्रसाद पाण्डेले ९ सय ९९ मत पाए । उपाध्यक्ष पदमा पृथ्वी सुब्बा गुरुङले १ हजार ७ सय ३७, विष्णुप्रसाद पौडेलले १ हजार ६ सय ७५, रामबहादुर थापा ‘बादल’ले १ हजार ५ सय १६, गोकर्णराज विष्टले १ हजार ३ सय ६८ र रघुजी पन्तले १ हजार २ सय ५८ मत प्राप्त गरे । उक्त पदमा गुरुप्रसाद बराल, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, अरुण नेपाल, टंकप्रसाद कार्की र भीमप्रसाद आचार्य पराजित भए । उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । भट्टले १ हजार ४ सय ५२, महासेठले १ हजार ३ सय ६८ र भट्टराईले १ हजार ३ सय ४८ मत प्राप्त गरे । यस पदमा विष्णुप्रसाद रिमाल, आनन्दप्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्रप्रसाद गौतम पराजित भए ।

सचिव पदमा नौ जना निर्वाचित भएका छन् । लोकप्रिय मतमा सबैभन्दा अगाडि महेश बस्नेत आएका छन् । त्यस्तै, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यमलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल सचिवमा विजयी भए । यी सबै अध्यक्ष ओली प्यानलका हुन् । बस्नेतले १ हजार ५ सय ४४, अर्यालले १ हजार ५ सय ३०, विश्वकर्माले १ हजार ५ सय ६, राईले १ हजार ५ सय ३, अधिकारीले १ हजार २ सय ३१, कार्कीले १ हजार ३ सय ३७, कँडेलले १ हजार १ सय ८५, भट्टराईले १ हजार १ सय ८१ र ढकालले १ हजार १ सय ८ मत पाए ।

पोखरेल प्यानलबाट सचिवमा प्रतिस्पर्धी बनेका गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, रचना खड्का, कर्णबहादुर थापा, अग्निप्रसाद खरेल, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ पराजित भएका हुन् । त्यस्तै, बिनाटिम स्वतन्त्र रूपमा सचिवमा उम्मेदवारी दिएका पेम्बा लामा, लालबाबु पण्डित, इन्द्रलाल साप्कोटा र पुरुषोत्तम पौडेल पराजित भए । 

ओलीको कमिटीमा विष्ट र भट्टराईले नै ईश्वरको टिम धान्नुुपर्नेछ । तर ओलीको पेलानमा उनीहरू पार्टी कमिटीमा हवीगत हुने विश्लेषण भएको छ । पार्टीभित्र लोकतन्त्र र विधि बसाल्ने भन्दै छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका ईश्वर पोखरेल टिमले राजनीतिक रूपमा विजय हासिल गरेको दाबी गरेको छ ।  

सुरेन्द्र र विष्णु रिमाल रिङ आउट

एमाले महाधिवेशनले केही रोचक नतिजा दिएको छ । निवर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डे केन्द्रीय कमिटीमा पनि अटाएनन् । अध्यक्ष ओलीको चर्को आलोचकका रूपमा महासचिव पदका उम्मेदवार थिए । महासचिव र केन्द्रीय सदस्य दुवैमा पराजित भएपछि पाण्डे एमाले केन्द्रीय कमिटीबाट रिङआउट भएका छन् । 

त्यस्तै, अध्यक्ष ओलीका विश्वास पात्र मानिएका निवर्तमान उपमहासचिव विष्णु रिमाल पनि रिङ आउट हुन पुगे । ओली प्यानलले फराकिलो अन्तरले अधिकांश पदाधिकारी र केन्द्रीय सदस्य जित्दा उनी उपमहासचिव मात्र होइन, केन्द्रीय सदस्यमा पनि पत्याइएनन् । नवौं महाधिवेशनमा सचिवमा पराजित रिमाललाई १०औं महाधिवेशनमा ओलीले सर्वसम्मत उपमहासचिव निर्वाचित गराएका थिए । रिमालको सट्टा महाधिवेशन प्रतिनिधिले संस्थापनइतर प्यानलका योगेश भट्टराईलाई निर्वाचित गरेका छन् । 

बादल र लेखराजलाई लोकप्रिय मत 

नेकपा विभाजनका बेला एमालेमै बसेका पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू रामबहादुर थापा बादल र लेखराज भट्ट पनि यो महाधिवेशनबाट अनुमोदित भएका छन् । उनीहरूले तुलनात्मक रूपमा लोकप्रिय मत प्राप्त गरेका छन् । १०औं महाधिवेशनमा पूर्वमाओवादी समूह र १० बुँदे समूहका नेताहरू व्यवस्थापन गर्न अध्यक्ष ओलीले सूची नै पढ्नुपरेको थियो । तर यसपटक त्यति मेहनत गर्नुपरेन । सुरुमा ओलीले भट्टलाई सचिवमा दोहोर्‍याएर भानुभक्त ढकाललाई उपमहासचिव बनाउन खोजेका थिए । भट्टले अस्वीकार गरेपछि ढकाललाई सचिवमा झारिएको थियो । 

सचिवमा तेस्रो पुस्ता 

यसपटक एमाले पदाधिकारीमध्ये धेरैको चासो सचिवमा थियो । जहाँ तेस्रो पुस्ताका भनिने नेताहरूको बाहुल्य थियो । पद्मा अर्याल र छविलाल विश्वकर्मा दोहोरिएबाहेक अन्य सात नेताहरू पहिलोपटक पदाधिकारी बनेका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई, खगराज अधिकारी र महेश बस्नेत सचिवमा निर्वाचित भएका छन् । पछिल्लो जेनजी आन्दोलनपछिको कठिन परिस्थितिमा अध्यक्ष ओलीको सुरक्षालगायत युवा परिचालन गरेको जस पनि महाधिवेशन प्रतिनिधिले बस्नेतलाई दिएका छन् । उनले सचिवमा सर्वाधिक धेरै मत प्राप्त गरेका छन् । 

एलिजादेखि सुनिता र सुहाङसम्म

एमालेले यसपटक युवा पुस्तालाई प्राथमिकतामा राखेको सन्देश प्रवाह गर्न खोजेको देखिन्छ । कोटा छुट्टयाएरै १५ युवालाई केन्द्रीय कमिटीमा ल्याएको छ । २९ वर्षीया इन्जिनियर एलिजा गौतम सबैभन्दा कान्छी केन्द्रीय सदस्य बनेकी छन् । त्यस्तै, युवा संघका अध्यक्ष क्षितिज थेबे, काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल, निवर्तमान सांसद सुहाङ नेम्वाङ, पूर्वअखिल नेता नरेश रोकायलगायत नेताहरू केन्द्रीय कमिटीमा परेका छन् । सुदूरपश्चिम प्रदेशबाट गोविन्द गिरी, कर्णाली प्रदेशबाट रुद्रबहादुर शाही, लुम्बिनी प्रदेशबाट लिलामणि गौतम, गण्डकी प्रदेशबाट नवराज ओझा, बागमती प्रदेशबाट निशा अधिकारी, मधेश प्रदेशबाट मोबिन आलम र कोशी प्रदेशबाट क्षितिज थेवे निर्वाचित भएका छन् । राजधानी विशेषबाट काठमाडौं उपमेयर डंगोल, आदिवासी जनजातितर्फबाट मनोत ताम्ली र सम्राट गौचन, मधेशी तर्फबाट अमरकुमार यादव र रोनित साह, दलिततर्फबाट निता घतानी निर्वाचित भएका छन् । केन्द्रीय सदस्य खुलामा नरेश रोकाया र सुशीलकुमार थापा निर्वाचित भएका छन् । खुलाबाट नरेश रोकाया र  सुशीलकुमार थापा निर्वाचित भएका छन् । त्यसले पार्टीलाई नयाँ र पुरानो पुस्ताको समन्वयमा अघि बढाउन खोजेको सन्देश महाधिवेशनले दिएको नवनिर्वाचित सचिव राजन भट्टराईले बताए । 

सम्बन्धित खबर