२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजविरुद्धको रिटमा आज बहस

Nada
२०८२ पुष १३ गते ०६:१५
Shares
स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजविरुद्धको रिटमा आज बहस

काठमाडौं : वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि गरिएको शुल्क वृद्धि खारेजविरुद्ध परेको उत्प्रेषण रिटमा आइतबार उच्च अदालत पाटनमा बहस हुने भएको छ ।
अनमोल मेडिकल सेन्टर प्रालिसमेत वादी रहेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रममन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्यमन्त्री, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्डको सचिवालयलाई विपक्षी बनाइएको छ ।

ncell

गत पुस ६ गते दायर भएको उत्प्रेषण रिटमाथि यसअघि पुस ७ गते न्यायाधीश केशवप्रसाद बास्तोलाको एकल इजलासमा छलफल भएको थियो । उक्त छलफलमा निवेदनका कानुन व्यवसायीको बहस सुनेपछि न्यायाधीश बास्तोलाबाट शुल्क वृद्धि खारेजीका सम्बन्धमा कारण देखाऊ आदेश जारी गर्दै निवेदकले माग गरेबमोजिमको अन्तरिम आदेश जारी गर्ने–नगर्ने विषयको छलफलमा विपक्षीलाई  झिकाउने आदेश भएको थियो ।

रिटमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई विपक्षी बनाइएको छैन । तर संघले कामदारको स्वास्थ्य परीक्षण शुल्कसम्बन्धी विवादमा संघको सरोकार रहेको भन्दै शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा आइतबार उच्च अदालत पाटनमा हुने छलफलमा सरोकारवालाको हैसियतमा उपस्थित भई संघको धारणा न्यायाधीशसमक्ष राख्ने बताएको छ ।

स्वास्थ्य परीक्षण शुल्क बढेपछि संघले पुरानो शुल्क ६ हजार ५ सय रुपैयाँमा कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल स्वास्थ्य व्यवसायी महासंघ, गाम्का नेपाल र नेपाल मेडिकल व्यवसायी संघलाई पत्राचार गरेकोे थियो ।

श्रम मन्त्रालयले गत पुस ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि खारेज गरेको थियो । श्रम मन्त्रालयको सो निर्णयलाई मेडिकल व्यवसायीले अन्यायपूर्ण र अव्यवहारिक भनेका छन् ।

उनीहरूले श्रम मन्त्रालयले जारी गरेको स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ को छैटौं संशोधन २०८१ मा हेपाटाइटिस बी र सी, मलेरिया, सुगर, टाइफाइडसहित रक्त परीक्षण गर्दा सिबिसी, इएसआर, प्लेटलेट, क्षयरोग, छातीको भिडियो एक्स–रे, मांसपेशी र हड्डीका समस्या, क्यान्सर, मधुमेह, मुटुरोग, म्यान्टोक्स परीक्षण, स्पुटम एएफबी, मिर्गौला परीक्षण गर्दा सिरम युरिया, क्रियाटिनिन श्वासप्रश्वास, छालाका रोग समेत ३४ प्रकारका रोगको परीक्षण गर्नुपर्ने प्रावधान रहेकाले शुल्क बढाउनुपरेको बताउँदै आएका छन् ।

सम्बन्धित खबर