२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

द्वन्द्वपीडित तथा अपाङ्गता भएका बालबालिकालाई नेवाः समाजको सहयोग

Nada
२०८२ पुष १३ गते ०६:२०
Shares
द्वन्द्वपीडित तथा अपाङ्गता भएका बालबालिकालाई नेवाः समाजको सहयोग

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी नेवाः समाजले शंखरापुर नगरपालिका वडा नं. ६ सलम्बुटारस्थित द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपालमा आश्रित बालबालिकालाई खाना, नगद तथा न्यानो कपडा सहयोग गरेको छ ।

ncell

समाजका अध्यक्ष किसन प्रधानको नेतृत्वमा शुक्रबार गएको नेवाः समाजको टोलीले त्यहाँ आश्रित अपाङ्गता भएका बालबालिका तथा अन्य व्यक्तिलाई खाना खुवाएर नगद तथा न्याना कपडा हस्तान्तरण गरेको हो । अध्यक्ष प्रधानले उक्त अपाङ्ग समाजका अध्यक्ष युवराज थापालाई सहयोग हस्तान्तरण गरे ।

अपाङ्ग समाजमा जन्मँदै अपाङ्ग भएका, डाउन सिन्ड्रोम अर्थात् बौद्धिक अपाङ्गता भएका ‘बर्न डिफेक्ट’ बालबालिका रहेका छन् ।

नेपालमा गम्भीर बाल स्वास्थ्य समस्या मानिने बर्न डिफेक्ट अन्तर्गत जन्मेका शिशु मृत्युदर उच्च रहेको छ । कतिपयको अल्पायुमै ज्यान जाने गरेको अध्यक्ष थापाले बताए । उनले आश्रित बालबालिकामा अटिजम, आँखाको दृष्टि च्यातिने, मुटुरोग, बहिरोपन र हाइपरजस्ता समस्या रहेका कारण उनीहरूको रेखदेख र स्याहारसुसारमा अति ध्यान दिनुपर्ने, तर सरकारी निकाय वा स्थानीय तहबाट स्थायी अनुदान नभएका कारण दाताहरूको भर पर्नुपरेको अवस्थामा नेवाः समाज जस्ता गैरसरकारी संस्थाहरूको सहयोगप्रति आभार व्यक्त गर्दै सहयोग जारी राख्न आग्रह गरे ।

समाजका अध्यक्ष प्रधानले जसलाई अति जरुरी छ त्यस्ता व्यक्ति वा संस्थालाई आफ्नो समाजको क्षमताले भ्याएसम्म सहयोग गर्ने संस्थाको उद्देश्य रहेको भन्दै संस्थाको क्षमताअनुसार जोखिमको अवस्थामा रहेका बालबालिकाका लागि अन्य क्षेत्रबाट पनि सहयोग जुटाउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

समाजका महासचिव देवेन्द्रनारायण श्रेष्ठले सामाजिक उत्तरदायित्वको भावनाले संस्थामा आश्रित बालबालिकालाई सहयोग गरिएको बताए । ‘मर्दा पर्दा नेवाः समाज’ भन्ने सामाजिक सेवाको उद्देश्य राखेर समाज क्रियाशील रहेको भन्दै महासचिव श्रेष्ठले पनि उक्त संस्थालाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने कामलाई निरन्तरता दिने बताए । 

नेवाः समाजले यसअघि शैक्षिक छात्रावृत्ति, वैदेशिक रोजगारबाट घाइते तथा अपाङ्गता भई फर्केका कामदारलाई सेल्टर दिने संस्थालाई आर्थिक सहयोग गरेको थियो ।

त्यस अवसरमा समाजका सल्लाहकार तथा मध्यान्ह दैनिकका प्रधान सम्पादक मदनकुमार श्रेष्ठसहित समाजका तृतीय उपाध्यक्ष प्रवीण श्रेष्ठ, सचिव गगन श्रेष्ठ, कोषाध्यक्ष चन्द्रकुमार श्रेष्ठ, सदस्यहरू मोती लक्ष्मी श्रेष्ठ, अमित श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र चन्द्रकमल श्रेष्ठ तथा मध्यान्ह दैनिक संवाददाता रेशमराज पौडेललगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर