२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

विषादीयुक्त तरकारी रोक

shivam cement
२०८२ पुष १४ गते ०६:१०
Shares
विषादीयुक्त तरकारी रोक

सुरक्षित खानपानलाई स्वस्थ जीवनको एउटा आधार मानिन्छ । त्यसैले भान्छा सुरक्षित हुनुपर्ने ठाउँ हो । तर आज हाम्रो भान्छा नै विषको प्रयोगशाला भइरहेको डरलाग्दो तथ्य सार्वजनिक भएको छ । कालिमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायो सागमा ९९ दशमलव ८ प्रतिशत अर्गानोफस्फेट विषादी भेटिएको छ । केन्द्रीय कृषि प्रयोगशालाले परीक्षण गरेका १५ थरी तरकारीमध्ये रायो साग पूर्ण रूपमा खान अयोग्य ठहरियो । यसअघि हरियो धनियाँमा पनि त्यस्तै विषादी भेटिएको थियो । काँक्रोमा पनि ४६ दशमलव ५ प्रतिशत विषादी फेला परेको छ । सरकारी मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी प्रयोग भएको भए उपभोगयोग्य मानिन्छ । तर तरकारी बजारमा अत्यधिक विषादीयुक्त तरकारी भेटिनु हाम्रो स्वास्थ्यका लागि गम्भीर चिन्ताको विषय हो । 

तरकारीमा भेटिएका अर्गानोफस्फेट र कार्बामेट समूहका विषादीले स्नायु प्रणालीमा सिधा असर गर्ने मानिन्छन् । यस्ता विषादी मिसिएका तरकारी नियमित रूपमा खाँदा टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, झाडापखाला हुने समस्या देखिन सक्छ । दीर्घकालीन रूपमा कलेजो, मिर्गौला र स्नायु प्रणालीमा क्षति पुग्ने जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् । बालबालिका, गर्भवती महिला र वृद्धहरू अझ बढी जोखिममा छन् । किसानले विषादी छरेपछि ६ घण्टादेखि २४ घण्टासम्म कुर्नुपर्ने वेटिङ पिरियड पालना नगर्दा विष सिधै भान्छामा पुगिरहेको छ । साँझ विषादी छरेर बिहान तरकारी टिपेर बेच्ने गलत अभ्यासले अस्वस्थ तरकारीको समस्या बढ्दो छ । जोखिम यतिमै सीमित छैन । नेपालमा १ सय ६४ प्रकारका विषादी प्रयोग गर्न अनुमति छ । तर परीक्षण कार्बामेट र अर्गानोफस्फेट समूहका १२ वटा विषादीको मात्रै हुँदै आएको छ । बाँकी १ सय ५२ प्रकारका विषादी अहिलेसम्म परीक्षणको दायराभन्दा बाहिरै छन् । यसको अर्थ, नजाँचिएको तरकारी खाँदा हामी विष खाइरहेका हुन सक्छौं । जसको कुनै तथ्यांक छैन । यसले नियमनकारी निकायको गम्भीर लापरबाही देखाउँछ । 

पछिल्लो परीक्षणको डरलाग्दो रिपोर्टबाट नियमनकारी निकाय मात्र होइन्, आमउपभोक्तासमेत समेत हुनुपर्छ । सरकारको पहिलो जिम्मेवारी कडा नियमन हो । त्यसका लागि परीक्षणको दायरा बढाउनुपर्छ । मापदण्ड उल्लंघन गर्ने किसान र व्यापारीमाथि कडाइ गरिनुपर्छ । कृषकलाई विषादी प्रयोगबारे प्राविधिक सल्लाह अनिवार्य गरिनुपर्छ । उपभोक्ताले पनि सावधानी अपनाउनुपर्छ । तरकारी राम्रोसँग धुने, नुन वा खाने सोडाको पानीमा भिजाएर पकाउने, पातदार साग सकेसम्म पकाएर खाने बानी बसाल्नुपर्छ । भान्छा विषाक्त भयो भने जीवन नै असुरक्षित हुन्छ । खेतदेखि थालसम्म फैलिएको यो समस्यालाई रोक्न सरकार, किसान र उपभोक्ता सबै जिम्मेवार बन्नैपर्छ । 

सम्बन्धित खबर