
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराकका लागि नयाँ श्रम स्वीकृति नदिइएको बताएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई बुझ्ने क्रममा भ्रम देखिएको भन्दै मन्त्रालयले हाल इराकमै काम गरिरहेका र त्यहाँको आवासीय परिचय पत्र अर्थात् रेसिडेन्सी कार्ड भएकालाई नेपालमा आएर आफनो रोजगारीलाई निरन्तरता दिन चाहेको अवस्थामा नयाँलाई जस्तै श्रम स्वीकृति दिने जनाएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेद्वारा शुक्रबार जारी विज्ञप्तिमा इराकमा श्रम स्वीकृति प्रदान गर्नेसम्बन्धी निर्णय नेपाल सरकारले इराकमा संस्थागत एवं व्यक्तिगतमार्फत नयाँ कामदारको रूपमा जान खुला गरेको नभई इराकमा कार्यरत नेपाली श्रमिकहरूलाई नेपाल आएको बखतमा इराकको रेसिडेन्सी कार्ड र त्यहाँको वैधानिक भिसा देखाई वैदेशिक रोजगार ऐन र नियमावलीको अधिनमा रही श्रम स्वीकृति प्रदान गर्ने भन्ने विषय रहेको बताएका छन् ।
यसैगरी उनले नेपाली प्राविधिक अभ्यासार्थी कामदार जापान पठाउने निर्देशिका (जिट्को) निर्देशिका, २०६६ खारेज गर्ने भन्ने सम्बन्धमा नेपाल र जापान सरकारबीच समझदारी भई सञ्चालित कार्यक्रम जिट्को सन् २०१७ देखि नै टेक्निकल इन्टर्न ट्रेनी प्रोग्राममा रूपान्तरण भई हाल सञ्चालनमा रहेको, सोही कार्यक्रममार्फत नै हाल अभ्यासार्थी कामदारहरू गइरहेको र सो कार्यक्रममा उल्लिखित निर्देशिका आवश्यक नपर्ने हुँदा नेपाली कामदार पठाउन कुनै बाधा नगरेको बताएका छन् ।
नेपालबाट जापानमा कामदारका रूपमा लैजाने कार्यक्रम (एसएसडब्लु) पनि सञ्चालनमा रहेको र सन् २०२७ बाट नेपाली श्रमिकहरूलाई जापान पठाउन नयाँ समझदारी इएसपिडी समेत प्राथमिकताका साथ अगाडि बढाइएको हुँदा जापान जान रोक वा कुनै अवरोध नहुने जनाउँदै मन्त्रालयले जापान जान चाहने नेपाली श्रमिकका लागि थप सहजीकरण हुने बताएको छ ।
वैदेशिक रोजगार व्यवसायीले जिट्को खारेज भएकाले जापान एल्मुनाई एसोसिएसन (जान)को भाषा परीक्षा पनि सँगसँगै खारेज भएको बताएका छन् । मन्त्रालयले भने जान परीक्षाबारे उल्लेख गर्न छुटाएको छ ।