२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

कोरिया र युरोप रोजगारीका नाममा ठगी बढेको भन्दै विभागद्वारा सचेत रहन आग्रह

Nada
२०८२ पुष २० गते ०६:१५
Shares
कोरिया र युरोप रोजगारीका नाममा ठगी बढेको भन्दै विभागद्वारा सचेत रहन आग्रह

काठमाडौं : वैदेशिक रोजगार विभागले दक्षिण कोरियाको ई–७ भिसादेखि युरोपेली मुलुकको रोजगारीका नाममा ठग्ने क्रम उल्लेखनीय रूपमा बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

ncell

विभागका प्रवक्ता उपमहानिर्देशक चन्द्रबहादर शिवाकोटीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय फेसबुक, टिकटक, भाइबर, युट्युब तथा ह्वाट्सएपलगायतका सामाजिक सञ्जालबाट युरोपका आकर्षक मुलुक, तलब र कामसहितका प्रलोभन देखाई वैदेशिक रोजगारीका विज्ञापन गर्ने, पैसा उठाउने तथा पासपोर्ट संकलन गरेर झुलाउने गरेकोे पाइएको बताएका छन् ।

विभागले ई–७ भिसामा कोरिया पठाइदिन्छु भन्दै गैरकानुनी गतिविधिमा विभिन्न कन्सलटेन्सी, संस्था एवं व्यक्तिहरू संलग्न भएको गुनासो प्राप्त भएका बताएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ ले नेपाल सरकारले वैदेशिक रोजगारीमा जानका लागि खुला गरेका मुलुकहरूको हकमा विभागबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्था बाहेकले उक्त काम गर्न नपाउने कानुनी व्यवस्था गरेकोे छ । तर कानुन विपरीत अनधिकृत संस्था वा व्यक्तिमार्फत श्रम स्वीकृति नलिई अर्को मुलुकको विमानस्थल प्रयोग गरी गलत सूचना प्रवाह गर्दै भ्रम सिर्जना गरेर विदेश पठाउने र जाने कार्य गैरकानुनी भएको विभागको भनाइ छ ।

गैरकानुनी आधारमा वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरू विभिन्न जोखिममा पर्न सक्ने, मानव तस्करी, श्रम शोषण र दुव्र्यवहारको खतरा झनै बढ्ने पनि विभागले बताएको छ ।

विभागले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन वैदेशिक रोजगार ऐन, २०६४ ले तोके बमोजिमका ओरियन्टेसन तालिम, बिमा, सामाजिक सुरक्षा र स्वास्थ्य चेकजाँचसमेत अनिवार्य रूपमा गरेर वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको एकिन गरी नेपालकै विमानस्थल प्रयोग गरेर जानका लागि आह्वान समेत गरेकोे छ ।

त्यसरी गैरकानुनी रूपमा जाने वा पठाउने तथा सामाजिक सञ्जालहरूमा जथाभावी विज्ञापन गर्ने जो कोहीलाई विभागबाट अनुगमन एवं अनुसन्धान गरी कानुनबमोजिम कारबाही गरिने पनि विभागले बताएको छ ।

कुनै पनि संस्था वा व्यक्तिले सामाजिक सञ्जालबाट अनधिकृत तवरले वैदेशिक रोजगारका लागि गरेका प्रचार र सूचनाको आधिकारिकताका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, विभाग वा अन्तर्गतका सरकारी निकायबाट जाँच गरी अनलाइन श्रम स्वीकृति भएपश्चात मात्र आर्थिक कारोबार गर्नसमेत विभागले अनुरोध गरेको छ ।

सम्बन्धित खबर