
काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल नेकपा एमालेका तर्फबाट अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. १ अछामले व्यवसायी रावललाई उम्मेदवार सिफारिस गरेको हो । रावल अछामको मेल्लेख गाउँपालिका–६ का स्थायी बासिन्दा हुन् ।
रावलसँगै कमलराज तिमिल्सेना, झपट बोहरा तिमिल्सेना, मनसरा साउद, कृष्णप्रसाद जैसी मेल्लेख, तिलक कुँवर, मोति बि.क., पूर्ण साउद र केशर साउद पनि उम्मेदवार सिफारिस भएका छन् ।
२०७९ माघ २७ देखि मञ्चको अध्यक्ष रहेका व्यवसायी रावल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व सदस्य हुन् । मञ्चका संस्थापकमध्येका रावलले दुई कार्यकाल मञ्चको सदस्य, दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिवको जिम्मेवारी पूरा गरिसकेका छन् ।