२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

अभिमुखीकरण हाजिरीमा विभागको कडाइ

shivam cement
२०८२ पुष २३ गते ०६:१५
Shares
अभिमुखीकरण हाजिरीमा विभागको कडाइ

काठमाडौं : वैदेशिक रोजगार विभागले आगामी सातादेखि विभागमा दर्ता गरिएको कम्प्युटर तथा नेटवर्कबाट मात्र वैदेशिक रोजगारमा जाने कामदारको हाजिरी पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्ने भएको छ ।

विभागको संस्था अनुगमन शाखाले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई पत्र पठाउँदै पुस २९ गतेदेखि विभागमा दर्ता गरिएको कम्प्युटर तथा नेटवर्कबाट मात्रै वैदेशिक रोजगारमा जाने कामदारको हाजिरी पठाउन मिल्ने गरिएको बताएको छ ।

हाल अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले अभिमुखीकरण तालिमसम्बन्धी कामदारको हाजिरी पठाउन विभागबाट निर्माण गरिएको ओरियन्टेसन डेस्कटप एप्लिकेसन प्रयोग गरिरहेका छन् भने कामदारको राष्ट्रिय परिचयपत्र प्रणालीसँगको भेरिफिकेसनका आधारमा हाजिरी हुने  व्यवस्था कार्यान्वयनमा छ ।

तर वैदेशिक रोजगारमा जाने सबै कामदार अभिमुखीकरण तालिममा सहभागी नभएको टिकाटिप्पणी भइरहेको छ । अभिमुखीकरण तालिमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले प्रयोग गर्ने कम्प्युटर तथा नेटवर्क विवरण अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको विभागको भनाइ छ ।

विभागले अभिमुखीकरण तालिमका विवरणहरू दर्ता गर्नका लागि विभागबाट निर्माण तथा अपडेट गरिएको ओरियन्टेसन डेस्कटप एप्लिकेसन प्राप्त गरी सम्बन्धित संस्थाले लगइन गरेपश्चात् डिभाइस सेटिङभित्र देखिने गेट नेटवर्क इन्फो बटन क्लिक गरी दर्ता गर्न सकिने बताएको छ ।

दर्ता गरिएको कम्प्युटर तथा नेटवर्कबिना हाजिर गराउँदा सुनसरीमा रहेकोे कामदारको काठमाडौंबाट पनि कक्षामा उपस्थिति देखाउन सकिने अवस्था थियो । त्यसले श्रम स्वीकृतिका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिममा अनियमितता भएको गुनासो बढेको थियो । 

विभागले वैदेशिक रोजगारमा जाने कामदारलाई अनिवार्य रूपमा तोकिएको घण्टा कक्षा कोठामा उपस्थित भएर अभिमुखीकरण तालिम लिन बाध्य पार्न नयाँ व्यवस्था गरेको बताइएको छ । तोकिएको घण्टा कक्षा कोठामा उपस्थित भएर अभिमुखीकरण लिएको अवस्थामा वैदेशिक रोजगारका क्रममा भइरहेको शारीरिक तथा मानसिक क्षति कम हुने आकलन छ ।

वैदेशिक रोजगारको अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउनुपर्ने धेरैको भनाइ छ । नेपालबाट वैदेशिक रोजगारमा जाने कामदारमध्ये अदक्ष कामदारको संख्या ठुलो छ । विभागका अनुसार गत मंसिर महिनामा ६५ हजार ७ सय ५ जना कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका थिए । त्यसमा उच्च दक्ष कामदारको संख्या १ सय २३ रहेकोे छ भने अदक्ष कामदारको संख्या १३ हजार ५ सय ७६ रहेकोे छ । अन्य सम्बन्धित पेशामा केही सीप भएका कामदार रहेका छन् । अदक्ष कामदारलाई अभिमुखीकरण तालिमको बढी आवश्यक हुने विज्ञहरू बताउँछन् ।

सम्बन्धित खबर