
काठमाडौं : अमेरिकी डलरको मूल्य वृद्धि भएपछि वैदेशिक रोजगारमा रहेका नेपाली कामदारलाई तुलनात्मक रूपमा लाभ मिलेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । गत वर्ष यही सिजनमा अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा थियो ।
नेपाली अर्थतन्त्रको मुख्य आधारका रूपमा रहेको रेमिट्यान्स आम्दानीमा अमेरिकी डलरको भाउ बढ्दा राम्रो प्रभाव परेको भने व्यक्तिगत रूपमा वैदेशिक रोजगारमा रहेका कामदारका परिवार लाभान्वित भएका छन् ।
अघिल्ला वर्षहरू हुने कमाइको तुलनामा यस वर्ष उति नै तलब बुझेपनि डलरको मूल्य बढी हुँदा नेपालमा परिवारले अतिरिक्त रकम पाइरहेको जानकारहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य बढ्दा नेपालले गर्ने साँवा तथा ब्याज भुक्तानी महँगिएको छ, तर विदेशमा काम गर्ने ठुलो संख्यामा रहेका नेपालीहरूले पठाउने रेमिट्यान्स रकम लगातार वृद्धि भइरहेको छ ।