२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

असुरक्षित बैंकिङ क्षेत्र, कर्जा उठाउन जानै नसक्ने भए कर्मचारी

shivam cement
छबि सापकोटा
२०८२ पुष २३ गते ०६:३०
Shares
असुरक्षित बैंकिङ क्षेत्र, कर्जा उठाउन जानै नसक्ने भए कर्मचारी

काठमाडौं : एक महिनाअघि सप्तरीको ज्योति विकास बैंक रुपनीका कर्मचारीमाथि ऋणीले दुर्व्यवहार गरे । पटकपटक तोकता गर्दा ऋण नतिरेपछि छलफलका लागि गएका कर्मचारीमाथि नै कालोमोसो र जुत्ताको माला लगाएर आक्रमण गरिएको थियो । 

सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालक प्रभुनारायण चौधरीको कर्जाको किस्ता नियमित नभएपछि बैंकका कर्मचारीले ताकेका गरिरहेको थिए । तर ऋण तिर्न छोडेर बैंकका कर्मचारीलाई छलफलमा बोलाएर हातपात गरिएको थियो । एग्रो फर्मका सञ्चालक चौधरी तथा जनप्रतिनिधि, लघुवित्त पीडित संघर्ष समितिका जिल्ला अध्यक्षलगायतको टोलीले कर्मचारीमाथि नै आक्रमण गरेको थियो । 

यस्तै, २० पुसमा दाङको घोराहीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट गरियो । बक्यौता ब्याज तिर्न ताकेता गर्न बैंकको घोराही शाखाका कर्मचारी नविन थापा र मनीष सेडाई गएका थिए । ५० लाख रुपैयाँ ऋणको ब्याज नियमित नभएपछि बक्यौता ब्याज असुलीका लागि गएका बैंकका कर्मचारीलाई ऋणीले आक्रमण गरेका थिए  । 

२१ पुसमा इटहरीमा लालबहादुर पौडेल बैंकभित्रै पेट्रोल लिएर पुगे । उनले बैंकका शाखा मेनेजरकै कार्यकक्षमा पेट्रोल छर्केका थिए । बैंकमै आत्महत्याको प्रयास गरेको भने पनि उनको उद्देश्य बैंकमा पेट्रोल छर्किएर आगो लगाउने देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पछिल्लो समय बैंकका कर्मचारीमाथि आक्रमणका घटना बढ्दै गएको छ । कर्जा असुली नहुँदा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको छ । ऋण असुल गर्न जाँदा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमणका घटनाहरू भइरहेका छन् । ऋण तिर्नेभन्दा कर्मचारीलाई धम्की दिने, आक्रमण गर्ने घटनाले बैंकिङ क्षेत्रमा त्रास सिर्जना भइरहेको छ । केही समयअघि दुर्गा प्रसाई समूहले बैंकको ऋण नतिर्नेजस्ता अभियानले समस्यामा परेको बैंक क्षेत्र अहिले कर्मचारीमाथि नै आक्रमण हुँदा झनै असुरक्षित बनेको छ । 

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले पछिल्लो समय बैंकका कर्मचारीमाथि हुने आक्रमणले बैंकिङ अराजकता बढेको देखाउँछ । उनले मध्यान्हसँग भने, ‘पछिल्लो समय जसले जे गरेपछि हुन्छ कारबाही हुँदैन भन्ने सोचाइ बढेर गएको छ । अहिले मुलुकका कोही पनि कुनै पनि क्षेत्र सुरक्षित छु भन्ने महसुस गर्ने वातावरण बनेको छैन ।’ 

अझै पछिल्लो भदौ २३ र २४ भएको घटनापछि ऋणीहरू अझै हौसियर कर्जा नतिर्ने र कर्मचारीमाथि नै आक्रमण भएको देखिएको उनी बताउँछन् । यस्ता घटना सरकारले समेत रोक्न सकेको छैन । अपराधलाई क्षमा गर्ने प्रवृति नहट्ने हो भने यस्ता फौजदारी घटना अझै बढ्छ सक्ने क्षेत्रीले बताए । 

अर्थतन्त्रमा सुस्ताएकै अवस्थामा ऋणीहरूले सावाँ ब्याज तिर्न सकेका छैनन् । कर्मचारीमाथि भएको हिंसात्मक घटनाले कर्मचारीको सुरक्षा र पेसागत मर्यादामै आँच आइरहेको बैंकका कर्मचारी बताउँछन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक कर्मचारी युनियन अध्यक्ष शिवहरि भण्डारीले राज्य र नियामक निकायहरूले कर्मचारीको सुरक्षा सुनिश्चित नगरेमा युनियनले सम्पूर्ण शाखाका चाबी नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयमा बुझाउने तथा धर्नामा बस्ने चेतावनी दिएका छन् । बैंक कर्मचारीको जीवन, पेसागत मर्यादा र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सबै सरोकारवालालाई आग्रहसमेत गरेका छन् । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले राष्ट्र बैंक कर्मचारीमाथि आक्रमण निन्दनीय भएको बताउँछन् । उनले भने, ‘कर्जा लिएर पछि नतिर्ने भन्ने हुँदैन । बैकका कर्मचारीमाथि भएको आक्रमण गर्नेलाई प्रहरी प्रशासनको समन्वयमा कारबाही हुन्छ ।’ 

ताजा खबर

सम्बन्धित खबर