२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मलेसियामा जेल परेका झापाका दीपक मर्दीको उद्धार, व्यवसायी तामाङको पहलमा स्वदेश फिर्ता

shivam cement
तिलोचन गौतम
२०८२ पुष २३ गते १८:२१
Shares
मलेसियामा जेल परेका झापाका दीपक मर्दीको उद्धार, व्यवसायी तामाङको पहलमा स्वदेश फिर्ता

मलेसिया : मलेसियामा करिब पाँच महिनादेखि जेल जीवन बिताइरहेका झापा जिल्लाका नेपाली श्रमिक दीपक मर्दीको उद्धार भएको छ । सजाय भुक्तान गरिसक्दा पनि स्वदेश फर्कन नपाएका मर्दीलाई युवा व्यवसायी तथा समाजसेवी राजु तामाङको व्यक्तिगत पहलमा नेपाल फर्काउने व्यवस्था मिलाइएको हो ।

मर्दीको हवाई टिकट खरिददेखि आवश्यक कागजी प्रक्रिया पूरा गरी बिहीबार स्वदेश फिर्ता गराउने तयारी गरिएको तामाङले जानकारी दिएका छन् । सजाय पूरा गरिसकेका नेपाली नागरिक अझै जेलमै बस्नुपर्ने अवस्था दुःखद् भएको भन्दै उनले मानवीय आधारमा सहयोग गरेको बताए ।

दीपक मर्दी दुई वर्षअघि रोजगारीका लागि मलेसियाको जोहोरबारुस्थित एक कम्पनीमा कार्यरत थिए । रोजगारीकै क्रममा पछिल्लो एक वर्षदेखि अवैधानिक हैसियतमा काम गर्दै गर्दा उनी पक्राउ परेका थिए । त्यसपछि उनी करिब पाँच महिना मलेसियाको जेलमा बस्न बाध्य भएका थिए ।

मलेसियामा व्यवसाय र समाजसेवामा सक्रिय तामाङ पछिल्लो समय समस्यामा परेका नेपाली श्रमिकहरूको भरोसायोग्य सहयोगीका रूपमा परिचित हुँदै आएका छन् । कोभिड–१९ महामारीदेखि प्राकृतिक विपद् तथा कानुनी झमेलामा परेका नेपाली श्रमिकहरूको पक्षमा उभिँदै उनले निरन्तर सहयोग गर्दै आएका छन् ।

व्यवसायी तामाङ
व्यवसायी तामाङ

दर्जनौँ संघसंस्थामा आबद्ध रहँदै सामाजिक अभियानमा सक्रिय तामाङ हाल आर.टि.एफ.सि. फुटबल क्लबका अध्यक्षसमेत रहेका छन् । साथै, हालै सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको निर्वाचनबाट उनी वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । स्पष्टवक्ता र जुझारु व्यक्तित्वका रूपमा चिनिएका तामाङलाई एनआरएनए मलेसियाको आगामी अध्यक्षका रूपमा पनि धेरैले हेर्न थालेका छन् ।

यसअघि पनि तामाङले कानुनी समस्यामा परेका नेपाली नागरिक बेदन मगर र सन्देश तामाङलाई वकिलमार्फत कानुनी सहायता उपलब्ध गराउँदै करिब तीन लाख रुपैयाँ बराबरको खर्च बेहोरी थुनामुक्त गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

समस्यामा परेका नेपाली श्रमिकहरूको उद्धारका लागि आफू सधैं तयार रहेको बताउँदै तामाङले दीपक मर्दीको स्वदेश फिर्ता तथा अन्य नेपालीहरूको थुनामुक्तिमा सहजीकरण गरेकोमा नेपाली राजदूतावास मलेसियाप्रति धन्यवाद व्यक्त गरेका छन् ।

सम्बन्धित खबर