२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

रोस्टरमा रहेकालाई आन्दोलन नगर्न इपिएस शाखाको आग्रह

shivam cement
२०८२ पुष २४ गते ०६:१५
Shares
रोस्टरमा रहेकालाई आन्दोलन नगर्न इपिएस शाखाको आग्रह

काठमाडौं : वैदेशिक रोजगार विभाग इपिएस शाखाले सहमति कार्यान्वयनमा रहेकाले आन्दोलनमा सहभागी नहुन दक्षिण कोरियाका रोजगार आकांक्षीहरूलाई आग्रह गरेको छ ।

कोरियन भाषा परीक्षा र सीप परीक्षा उत्तीर्ण गरी विभिन्न क्षेत्रका रोस्टरमा रहेका युवायुवतीहरूले पुस  १६ गतेदेखि  इपिएस शाखामा विभिन्न माग राखेर इपिएस शाखा कार्यालयमा धर्ना, जुलुस र आन्दोलन जारी राखेका छन् ।

शाखाका निर्देशक टीकाराम ढकालले बुधबार विज्ञप्ति जारी गर्दै एचआरडी सर्भिस अफ कोरियाबाट कोरियन भाषा परीक्षा र सीप परीक्षा उत्तीर्ण गरी विभिन्न क्षेत्रका रोस्टरमा रहेका व्यक्तिहरूको समस्या समाधानका लागि आन्दोलनमा उत्रिएको पक्षका प्रतिनिधिहरूलाई आन्दोलन रोक्न आग्रह गरेका छन् ।

उनले आन्दोलनरत पक्ष र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, श्रम सचिव, वैदेशिक रोजगार विभागका महानिर्देशकलगायतका पदाधिकारी तथा कर्मचारीहरूसँग पुस १८ गते मन्त्रालयमा भएको सहमति कार्यान्वयनमा गएको भन्दै तत्कालै दक्षिण कोरिया रोजगारीमा जान पाउनुपर्ने माग राखेर आन्दोलन गर्नुको अर्थ नरहने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेपाल सरकार र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली सम्झौता भएपश्चात सन् २०२५ मा ११ हजार १ सय ७८ जना समेत हालसम्म करिब १ लाख २१ हजार नेपाली कामका लागि दक्षिण कोरिया गएर रोजगारी प्राप्त गरिसकेको भन्दै अन्यले पनि अवसर पाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इपिएस शाखाले रोस्टरमा रहेका व्यक्तिहरूको इस्यु गराइदिने अर्थात् प्रक्रिया अघि बढाइदिने भन्दै केही व्यक्ति र समूहले झुटा आश्वासन दिने गरेको गुनासा आएको बताएको छ । त्यस्तै कार्यालयको नाममा विभिन्न नक्कली फेसबुक पेज बनाएर सामाजिक सञ्जालमार्फत आम सेवाग्राहीमा भ्रम सिर्जना गर्ने गरेको समेत पाइएको शाखाले बताएको छ । 

ठगीको विषयप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै शाखाले कोरियाको रोजगारदाताहरूले मात्र श्रमिकहरूको छनोट गरी इस्यु गर्ने हुँदा भाषा पढिरहेका र रोस्टरमा रहेर इस्युको प्रतीक्षामा रहेकाले कुनै पनि व्यक्ति, संस्था र सामाजिक सञ्जालमा प्रचार गरिएका झुटा र भ्रामक आश्वासनको पछाडि नलागी कार्यालयको आधिकारिक वेबसाइटमार्फत आधिकारिक जानकारी लिन पनि आग्रह गरेको छ ।

सम्बन्धित खबर