
काठमाडौं : नेपाल वैदेशिक राेजगार व्यवसायी संघले युएई भिसा प्रक्रियामा श्रमिकमाथि परेको आर्थिक भार हटाउन परराष्ट्रमन्त्री बालानन्द शर्माको ध्यानाकर्षण गराएको छ । शुक्रबार नवनियुक्त मन्त्री शर्मालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न संघका अध्यक्ष भुवनसिंह गुरुङकाे नेतृत्वमा मन्त्रालय गएकाे प्रतिनिधिमण्डलले उक्त ध्यानाकर्षण गराएको हाे ।
मन्त्री शर्मालाई बुझाएको ध्यानाकर्षण पत्रमा संघले जेनजी आन्दोलनपछि राेकिएकाे युएई भिसा प्रक्रिया नेपाल प्रहरीकाे असल चालचलन रिपोर्टका आधारमा पुनः सुचारु भएपनि गत डिसेम्बर ४ तारेख पछि नेपाल प्रहरीले जारी गरेको क्युआर कोडसहितको प्रमाणपत्र (पिपिसी)लाई कन्सुलर विभागबाट प्रमाणीकरण गरेपछि पुन: नेपालस्थित युएई दूतावासबाट प्रमाणीकरण गर्दा राेजगारीका लागि उक्त मुलुक जाने कामदारको ठुलो रकमसहित समयको अनावश्यक बर्बादी भएको उल्लेख गरेको छ ।
सो अवसरमा मन्त्री शर्माले संघले उठाएका समस्याको समाधानका लागि श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री र निकायमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । छलफलमा मन्त्रालयका सहसचिव रामकाजी खड्का पनि सहभागी थिए ।
संघको प्रतिनिधिमण्डलमा अध्यक्ष गुरुङसहित सल्लाहकार नवराज केसी, प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ ,द्वितीय उपाध्यक्ष देवकुमार खाेखाली, तृतीय उपाध्यक्ष वैकुण्ठ पाैडेल वैभव, सचिव कुन्छा दाेर्जे दिमदाेङ, कार्यसमिति सदस्यहरू भरत सापकोटा , विद्यालक्ष्मी बज्राचार्य, रविन मेघाले मगर, सविता सिंह र नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष विनाेदजंग केसी सहभागी रहेका थिए ।