काठमाडौं : आगामी एक महिनासम्म नेपाली कामदारका लागि पेश हुने मागपत्र प्रमाणीकरणका आवेदन नलिने निर्णय गरेका साउदी अरबस्थित नेपाली दूतावासका कर्मचारी बिदा मनाउन स्वदेश फर्किने तयारीमा लागेका छन् । मुस्लिम समुदायको महान पर्व रमदानलाई कारण देखाउँदै साउदीस्थित नेपाली दूतावासले बुधबारसम्म यसअघि पेश भएका मागपत्र प्रमाणित नगर्ने र आगामी मे ६ तारेखसम्म प्रमाणीकरणका लागि रोजगारदाताबाट कुनै आवेदन दर्ता नगर्ने निर्णय सार्वजनिक गरेकोे थियोे ।
दूतावासले मुस्लिम समुदायको महान पर्व रमदानलाई कारण देखाउँदै मागपत्र प्रमाणीकरण गर्ने कार्य एक महिनाभन्दा बढी समय स्थगित गरेर आफ्नो नालायकी र गैर जिम्मेदारी हर्कत प्रदर्शन गरेको धेरैले टिप्पणी गरेका छन् । साउदी अरबको रियादस्थित नेपाली दूतावास र जेद्धास्थित कन्सुलर कार्यालयले नेपाली कामदारका लागि रोजगारदाताले पेश गरेका मागपत्र प्रमणीकरण गर्ने गरेका छन् । दूतावासको सूचनाले दुबै स्थानबाट मागपत्र प्रमाणीकरणको काम प्रभावित भएको छ ।
कोरोना भाइरस संक्रमण कम भएको र खोप लगाउनेहरू बढेपछि साउदी अरबले विदेशी कामदारका लागि ढोका खोलेको थियोे । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत माघ महिनामा १४ हजार २ सय ३७ जना र फागुन महिनामा ९ हजार १ सय ६० जना साउदी अरेबिया गएका थिए । नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण प्रायः बन्द भएपछि नेपाली कामदार लैजान चाहने रोजगारदाताहरू निराशा भएर फर्किने गरेकोे बताइएको छ ।
रियादस्थित नेपाली दूतावासले रमदानको पवित्र महिना र ईद पर्वको अवसर भन्दै अप्रिल ३ तारिख आइतबारदेखि मे ५ तारिख बुधबारसम्म मागपत्र प्रमाणीकरणको काम ‘सस्पेण्ड’ गरेकोे बताएको छ । दूतावासले एक महिनापछि मे ६ तारिखदेखि मात्रै दूतावासको अनलाइन डिमाण्ड एटेस्टेशन अनलाइन प्रक्रियाबाट डिमाण्ड प्रमाणीकरणको आवेदन लिन शुरू गरिने सूचनामा उल्लेख छ । मार्च ३१ तारिखसम्म प्रमाणीकरणका लागि पेश भएका डिमाण्ड भने पहिले जसरी नै प्रमाणीकरण हुने दूतावासको भनाइ छ ।
नेपाली दूतावासले मागपत्र प्रमाणीकरण रोक्नुलाई कतिपयले नेपालको राष्ट्रिय आवश्यकता विपरीतको काम भनी टिप्पणी गरेका छन् । वैदेशिक रोजगारबाट आउने रेमिट्यान्स घटेको र त्यसले सोधानन्तर अवस्था कमजोर बनेको अवस्थामा सकेसम्म धेरै कामदार वैदेशिक रोजगारमा पठाउनुपर्ने बिज्ञहरूको सुझाव रहेको अवस्थामा नेपाली दूतावासबाट बहानाबाजी गरेर मागपत्र नै प्रमणाणीकरण नगर्नु दुःखद् घटना भएको नाम बताउन नचाहने एक व्यवसायीको टिप्पणी छ ।
रेमिट्यान्स आप्रवाहमा कमी आएको कारणले हाल श्रीलंकामा राष्ट्रिय संकटको अवस्था सिर्जना भएको छ । कतिपय अर्थविद्हरूले रेमिट्यान्स घट्दै गए नेपाल पनि श्रीलंकाको बाटोमा जानसक्ने चेतावनी दिएका छन् ।
साउदीस्थित नेपाली दूतावासले रमदानको बहाना बनाएर कामै रोक्नु अनुत्तरदायी प्रवृत्ति मानिएको छ । एक मुस्लिम व्यवसायीले मध्यान्हसँग भने, ‘रमदानको महिना भनेको नेपाली दूतावासका कर्मचारीले व्याख्या गरेजस्तो कामै नगर्ने महिना होइन । यो त पवित्र महिना हो र हामी अरु ११ महिना भन्दा रमदानको महिना तीन गुणा बढी काम गर्छौं ।’ उनले रमदानको महिना प्रगति र उन्नतिको महिना भएको बताए ।
रमदानको महिनामा काम रोक्ने निर्णय नेपाल सरकार परराष्ट्र मन्त्रालयको लिखित निर्णय र निर्देशन नभई साउदीस्थित नेपाली दूतानासका करिब आधा दर्जन अनुत्तरदायी कर्मचारीको लहडको निर्णय हो ? भन्ने प्रश्न पनि गम्भीर रुपमा उठेको छ । नेपाली दूतावास श्रम कूटनीतिसँग पनि सम्बन्धित रहेको र त्यहाँ श्रम मन्त्रालयका उपसचिव सरहका कर्मचारी काउन्सिलर श्रम र शाखा अधिकृत श्रम सहचारी पनि छन् । साउदी रोजगारदाताहरूले मागपत्र पेश गर्न चाहेको अवस्थामा दूतावासको ढोका बन्द गरेर छुट्टी मनाउन हिँड्ने प्रवृत्तिलाई स्वयं परराष्ट्र र श्रम मन्त्रालयको गैरजिम्मेवारी भन्दै छानविन र अनुसन्धान गरिनुपर्ने बताएका छन् । श्रम मन्त्रालयले तत्काल मागपत्र प्रमाणीकरण खोल्न कडा आदेश दिनुपर्ने कतिपयको माग छ ।
साउदीस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण रोकेकोमा नेपाली व्यवसायीमाथि परेको मर्कालाई लिएर आवाज नउठाएकोमा कतिपय व्यवसायीहरुले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पनि आलोचना गरेका छन् । यसबारे संघले गम्भीररुपमा परराष्ट्रदेखि श्रम मन्त्रालयसम्म आवाज उठाउनु पर्ने व्यवसायीहरुको धारणा पाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies