२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

महिला नेतृत्वको सकारात्मक सन्देश

shivam cement
२०८२ पुष २७ गते ०६:१०
Shares
महिला नेतृत्वको सकारात्मक सन्देश

काठमाडौं उपत्यकाका ठुला सामुदायिक विद्यालयको नेतृत्वमा महिला पुगेका छन् । देशकै सबैभन्दा ठुलो दरबार हाइस्कुलले १ सय ७२ वर्षपछि पहिलोपटक महिला प्रधानाध्यापक पाएको छ भने ४ हजार ७ सयभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने ज्ञानोदय माविमा पनि महिलाकै नेतृत्व छ । झट्ट हेर्दा सामान्य लागे पनि विद्यालय शिक्षामा यसको गहिरो अर्थ छ । शिक्षामा सकारात्मक परिवर्तनको संकेत दिएको छ । प्रधानाध्यापकलाई ‘हेड सर’ समाजका लागि पनि यसले नयाँ सन्देश दिएको छ । नेतृत्वमा पुगेका महिला शिक्षकले विद्यालयमा ल्याएको परिवर्तनले महिलाले सक्दैनन् भन्ने सोचलाई कुनै न कुनै रूपमा जवाफ दिइरहेको छ । जसका कारण महिला प्रधानाध्यापक नियुक्ति सहज बन्दै गएको छ । ज्ञानोदय मावि र दरबार हाइस्कुल मात्र होइन, काठमाडौंका ठुला सामुदायिक विद्यालयको नेतृत्व महिलाले सम्हालिरहेका छन् । ज्ञानोदय, निलवराही, शान्ति निकेतनजस्ता विद्यालय उदाहरण हुन् । विद्यार्थी संख्या धेरै रहेका ती विद्यालयको नेतृत्व आफैंमा ठुलो जिम्मेवारी हो । तर महिलाले नेतृत्व सम्हालेका विद्यालयमा व्यवस्थापन राम्रो देखिएको छ । नतिजा सुधारिएको छ भने पारदर्शिता बढेको देखिन्छ ।

त्यसो त पछिल्लो समय शिक्षण पेसामा महिलाको संख्या उल्लेखनीय रूपमा बढेको छ । प्राथमिक तहमा महिला शिक्षक पुरुषभन्दा बढी छन् । बालविकास कक्षामा त महिला शिक्षककै बाहुल्यता छ । साना नानीहरूलाई महिलाले राम्रो हेरचाह गर्छन् र महिलाले सिकाएको बालबालिकाले छिटो बुझ्ने विभिन्न अध्ययनले पनि देखाएको छ । त्यसबाहेक समावेशिताका आधारमा महिलाका लागि छुट्याइएको कोटा र शिक्षणलाई सुरक्षित पेसा मान्ने धारणा यसका कारण हुन् । माथिल्ला तह र नेतृत्वमा पुग्दा भने महिला शिक्षकको संख्या भने घट्दै गएको देखिन्छ । महिला प्रधानाध्यापक बनेका विद्यालयमा आएको सुधार र शिक्षणमा महिलाको आकर्षणले त्यो संख्या बिस्तारै बढ्दै जाने अपेक्षा गर्न सकिन्छ । किनभने महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने भ्रम गलत साबित हुँदै जाँदा महिलाप्रति समुदाय र अभिभावक वर्गमा विश्वास जागेको छ । मिहेनत, अनुशासन र इमानदारिताबाट महिला प्रधानाध्यापकले विद्यालय सुधार गरेका थुप्रै उदाहरणले पनि प्रेरणा दिइरहेको छ । 

विद्यालयहरूमा देखिएको पछिल्लो परिवर्तनको सकारात्मक सन्देश समाजसम्मै पुग्न जरुरी छ । महिला भएकै कारण नेतृत्वबाट विमुख हुनुपर्ने स्थितिबाट नेपाली समाज माथि उठ्न जरुरी छ । त्यसका लागि विद्यालयमा बढ्दो महिला नेतृत्व र उनीहरूले विद्यालय शिक्षामा ल्याएको सुधार उदाहरण बन्नुपर्छ । शिक्षामा जस्तै समग्र देशको भविष्य समान नेतृत्वमै सुरक्षित छ ।

सम्बन्धित खबर