२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

मानव–वन्यजन्तु द्वन्द्व घटाऊ

shivam cement
२०८२ पुष २८ गते ०६:१०
Shares
मानव–वन्यजन्तु द्वन्द्व घटाऊ

वन्यजन्तुको आक्रमणबाट गत साता मात्र बाँके र बर्दिया निकुञ्जछेउ बस्तीका तीन जनाको ज्यान गयो । निकुञ्जछेउ घाँस दाउरा गर्न जाँदा बाघले दुई जनाको लियो भने एक महिला चितुवाको आक्रमणमा मारिइन् । उनी घाँस काट्न सामुदायिक वन गएकी थिइन् । पछिल्लो नौ महिनामा बर्दियामा ११ जनाको मृत्यु भइसकेको छ । बाँके, चितवनलगायत निकुञ्ज क्षेत्र वरपर पनि वन्यजन्तुको त्यस्तै आतंक छ । यी घटनाले निकुञ्ज मध्यवर्ती क्षेत्रमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व गहिरिँदै गएको देखाउँछ । वन्यजन्तुको आक्रमणको घटना बढ्दै जाँदा स्थानीय बासिन्दा त्रसित छन् । विद्यार्थी विद्यालय जान डराइरहेका छन् भने किसान खेतीपाती, घाँसदाउरा गर्न जान कठिन भइरहेको छ । निकुञ्ज वरपरका सामुदायिक वनमा समेत गाईवस्तु चराउन जान नसक्ने स्थिति उत्पन्न भएको छ । यस्तो अवस्थामा राज्यका निकायहरुले पर्याप्त चासो र समस्या समाधानका उपायमा ध्यान दिइरहेका छैनन् । यसले सर्वसाधारणमा आक्रोश बढ्दो छ । 

पछिल्ला वर्षहरुमा वन्यजन्तु संरक्षणमा नेपालले प्रशंसायोग्य सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसारै बाघको संख्या बढेको छ । त्यस्तै, वन क्षेत्र विस्तार र वन्यजन्तु संरक्षणमा लगानी बढाएको छ । तर वनजंगलछेउका बस्तीको सुरक्षाप्रति भने सरकारी ध्यान पुग्न सकेको छैन । जसका कारण मानवबस्ती असुरक्षित बनेको छ । मानव–वन्यजन्तु द्वन्द्व चर्किंदै जाँदा सर्वसाधारणको संरक्षणप्रतिको मोहभंग हुन सक्छ । बाघलगायत वन्यजन्तुबाट बर्सेनि हुने आक्रमण र मानवीय क्षति हेर्ने हो भने मान्छे खुवाएर बाघ पालेजस्तो बन्ने खतरा बढ्दै गएको छ । सम्बद्ध निकायलाई वन्यजन्तु पीडितले पटकपटक ध्यानाकर्षण पनि गराउँदै आएका छन् । तर कुनै सुनुवाइ भएको छैन । जिल्ला सदरमुकाम, प्रदेश हुँदै काठमाडौंसम्मै पीडितले प्रदर्शन गरेका छन् ।

संघीय र प्रदेश सरकारले समस्याको समाधान खोज्नु त परको कुरा, मृतकका परिवारलाई उचित राहत र खेतबालीको क्षतिपूर्तिसमेत समयमा उपलब्ध गराउन सकेका छैनन् । निकुञ्ज वरपरका बस्तीमा मानव सुरक्षामा अब ढिला गर्नुहुँदैन । जोखिमयुक्त क्षेत्रमा नियमित गस्ती गर्ने र सामुदायिक वनमा सुरक्षित समय र मार्ग तोक्नुपर्छ । पीडितलाई छिटो राहत दिएर आफन्त गुमाउनुपर्दाको पीडामा मल्हम लगाउनुपर्छ । यसको स्थायी र दिगो समाधान नखोजिए वन्यजन्तु संरक्षण नै प्रभावित हुनेछ । वन्यजन्तु संरक्षण मानवीय क्षति बेहोरेर वन्यजन्तु संरक्षण हुन सक्दैन भन्ने सबैले बुझ्न जरुरी छ ।

सम्बन्धित खबर