
क्वालालम्पुर : करिब ८ वर्षअघि आतंकवादी समूह आइसिसलाई आर्थिक सहयोग गरेको आरोपमा मलेसियाबाट निर्वासित नेपाली नागरिक महेन्द्रजंग शाह मलेसिया फर्किएको घटना मलेसियामा पुनः विशेष चासोको विषय बनेको छ ।
व्यवसायी शाहमाथि सन् २०१६ मा आतंकवादी समूह आइसिसलाई आर्थिक सहयोग गरेको आरोपमा नेपाल डिपोर्ट गरेको चर्चा थियो । व्यवसायी शाहले उक्त आरोप कहिल्यै स्वीकार गरेनन् ।
यस पटक शाहका विषयमा लामो समाचार प्रकाशन गरेको मलेसियाको अनलाइन मलेसियाकिनीसँग पनि महेन्द्रले आफ्नो तर्फबाट कुनै पनि गलत काम नभएको दाबी गर्दै आफू कहिल्यै पनि आतंकवादी समूहसँग सम्बन्धित गतिविधिमा संलग्न नभएको बताएका छन् ।
९ जनवरी २०२६ को अंकमा मलेसियाकिनी अनलाइनले ‘आइसिसको सम्बन्धदेखि भिसासम्म : निर्वासित नेपाली कसरी मलेसिया फर्किए ?’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको छ ।
आफ्नो अघिल्लो निर्वासनका बारेमा विस्तृत रूपमा बताउँदै उनले नेपाल फिर्ता पठाउनुअघि मलेसियाली अधिकारीहरूले गरेको अनुसन्धानलाई सहयोग गर्न उनलाई १४ दिनका लागि हिरासतमा राखिएको थियो । उनले भनेका छन्, ‘यदि म साँच्चै आतंकवादी भएको भए, मलेसियाको कडा कानुनअन्तर्गत निश्चित रूपमा आरोप लगाइएको पुष्टि हुने थियो ।’
अध्यागमन विभागका स्रोतहरूले मलेसियाकिनीलाई यसपटक महेन्द्र व्यावसायिक भिसा (डिपी १०) प्रयोग गरेर मलेसिया फर्किएको बताएका छन् । मलेसियामा सामान्यतया उच्च–दक्ष व्यक्तिहरू वा व्यवस्थापनको माथिल्लो पद धारण गर्नेहरूलाई व्यावसायिक भिसा दिइन्छ । मलेसियाको कानुनअनुसार आतंकवादी गतिविधिमा संलग्न भएको विश्वास गरिएका विदेशीहरूलाई देशमा प्रवेश गर्न स्थायी रूपमा निषेध गरिएको मानिन्छ ।
शाह व्यावसायिक भिसामा मलेसिया पुगेपछि ‘उनी कसरी फेरि मलेसिया प्रवेश गर्न सफल भए ?’, ‘कतै ठूलै सुरक्षा कमजोरी त भएन ?’ भन्दै केही पक्षले आशंका गरिरहेको समाचारमा उल्लेख छ । समाचारमा नेपालका कम्तीमा दुई अन्य आप्रवासी कामदारका एजेन्टहरूले शाह मलेसिया फर्किएको र सफाइ सेवा प्रदान गर्दै लुगा धुने व्यवसाय चलाएको दाबी गरेका छन् ।
मलेसियाको बुकित अमनको विशेष शाखा डिभिजनअन्तर्गतको आतंकवाद विरोधी कार्यालयले शाहलाई १९ अगस्ट २०१६ मा हिरासतमा लिएर सोही वर्ष सेप्टेम्बर २ मा डिपोर्ट गरिएको बताएको छ । त्यतिबेलाका मलेसियाका प्रहरी महानिरीक्षक खालिद अबु बकरले शाहमाथि आतंककारीहरूको यात्रा सहज बनाउन कागजातहरू नक्कल गर्ने जिम्मेवारी राख्ने आशंका गरेका थिए ।
मलेसियाका लागि नेपालका तत्कालीन राजदूत निरञ्जनमान सिंह बस्न्यातले १ सय ४० विदेशीलाई नक्कली मलेसियाली भिसा जारी गरेको आरोपमा शाहलाई पक्राउ गरिएको बताएका थिए । तर शाहले बस्न्यातविरुद्ध नेपालमा भ्रष्टाचारको उजुरी दर्ता गरेपछि आफूलाई व्यक्तिगत द्वेषप्रेरित आरोप लगाएको दाबी गरेका छन् । शाहले भनेका छन्, ‘निरञ्जनले मलाई आइसिससँग जोडेर बदनाम गर्ने प्रयास गरे, जुन संस्था मलाई थाहा छैन र जससँग मेरो कुनै सम्बन्ध छैन ।’
समाचारमा शाह हाल सेलाङ्गोरको चेरासमा रहेको तमान मालुरी अपार्टमेन्टमा सफाइ सेवा प्रदान गर्ने स्टेलर डायमन्ड एसडिएन बिएचडीको कम्पनीको ४० प्रतिशत सेयर स्वामित्वको आधारमा निर्देशक रहेकोे उल्लेख छ ।
गत वर्ष सेप्टेम्बरमा सिंगापुरमा रहेको इन्टरपोलको राष्ट्रिय केन्द्रीय ब्युरोले नेपाल प्रहरीसँग आतंकवादी र आतंकवाद–वित्तपोषण गतिविधिहरूमा संलग्नताको आशंकामा शाहका बारेमा जानकारी मागेको पनि समाचारमा उल्लेख छ ।
के भन्छन् शाह ?
मलेसियालाई कर्मथलो बनाएर विभिन्न व्यवसायमा क्रियाशील व्यवसायी, ओटो कम्पनीका सिइओ, एचएसएस रिसोर्सेस म्यानेजमेन्ट एसडिएन बिएचडी कम्पनीका डाइरेक्टर एवं समाजसेवी महेन्द्रजंग शाहले आफ्नो असल चालचलन पुष्टि भइसक्दा समेत मलेसियास्थित नेपाली दूतावासले मलेसियाको सम्बन्धित निकयमा जानकारी नदिएका कारण आफू अन्यायमा परेको मध्यान्हसँगको टेलिफोन वार्तामा बताएका छन् ।
परराष्ट्र मन्त्रालयको दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखाले ५ डिसेम्बर २०२४ मा नै नेपाल प्रहरीले दिएको असल चालचलनको रिपोर्ट नेपाली दूतावास, क्वालालम्पुरलाई पठाएको थियो । परराष्ट्र मन्त्रालयले पठाएको पत्रमा मलेसियाको प्रहरी मातहत रहेको डाइरेक्टर अफ इ८ डिभिजन काउन्टर टेरोरिजमले गरेको अनुसन्धानका क्रममा अनुसन्धान प्रक्रिया पूरा गरी उद्धार गर्ने प्रयोजनका लागि नेपालबाट चालचलनको प्रहरी प्रतिवेदन आवश्यक परेकाले गृह मन्त्रालयको पत्रमार्फत प्राप्त चालचलनको प्रहरी प्रतिवेदन र प्रमाणपत्र दूतावासमार्फत पठाएको उल्लेख छ ।
परराष्ट्र मन्त्रालयले मलेसिया प्रहरीलाई आफ्नो प्रहरी रिपोर्ट पठाएर सहजीकरण गरिदिन आग्रह गरेको अवस्थामा नेपाली दूतावासबाट सहजीकरण नहुँदा शंका उपशंकाको अवस्था निम्तिएको र आफूले गुनासो गर्ने ठाउँसमेत नपाएको शाहले मध्यान्हलाई बताए । बिदेशमा आफ्ना नागरिकलाई संरक्षण गर्ने दायित्व दूतावासको हो । आफ्ना नागरिक अपराधि नै भए पनि दूतावासले कानूनि लडाईंमा जोड दिन्छ तर नेपाल सरकार कै निकायहरुले शाहको बारेमा चारित्रिक प्रमाणीकरण पत्राचार गर्दा पनि दूतावासको मौनता रहश्यपूर्ण मानिएको छ ।
असल र इमानदार चालचलन भएको नागरिकको सरकारी निकायले प्रतिरक्षा गरिदिनुपर्नेमा केही नहुँदा विदेशी भूमिमा असाहय महसुस गर्नुपरेको पनि शाहले मध्यान्हलाई बताए ।