
नेपाली कांग्रेसको विशेष महाधिवेशनको संयम एवं सुरक्षित अवतरणको खोजी हुन थालेको छ । विशेष महाधिवेशनका आह्वानकर्ता र रोक्न भरमग्दुर कोसिस गरेको संस्थापन पक्ष निकासका लागि संवादमा जुटेका छन् । बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै नेतृत्व परिवर्तनको चरणमा पुगेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा संस्थापन पक्षलाई आफ्नो एजेन्डामा ल्याउन अन्तिम प्रयास गर्दै छन् । संस्थापनइतर पक्षका अर्का नेता शेखर कोइराला पनि मध्यमार्गी तीन विकल्प अघि सार्दै पार्टी विवाद मिलाउने प्रयत्नमा छन् । तर विशेष पक्षधर प्रतिनिधि भने कांग्रेस बदलेर मात्र जिल्ला फर्किने मुडमा छन् । उनीहरू पार्टीमा नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा देखिन्छन् । विशेष महाधिवेशनमार्फत कांग्रेसका बहुसंख्यक प्रतिनिधिले पार्टी यथास्थितिमा अघि बढ्न सक्दैन भन्ने सन्देश दिइसकेका छन् । त्यो पनि कुनै गालीगलौज वा अराजकताबाट नभई विधानको सहारा लिएर । त्यसैले विशेष महाधिवेशनको भावनालाई अस्वीकार गर्न‘ वा अवैध ठहर गर्न‘ राजनीतिक रूपमा गलत निर्णय हुनेछ ।
कांग्रेस नेतृत्व विधिसम्मत महाधिवेशन नगरेर यसअघि नै लोकतान्त्रिक अभ्यासमा चुकिसकेको छ । विशेष महाधिवेशनका निर्णयलाई अस्वीकार गर्नु अब कांग्रेसमा सम्भव देखिँदैन । विशेष महाधिवेशनमा गणपूरक संख्या पु¥याएर शक्ति प्रदर्शन गर्नुले मात्र अहिलेको कांग्रेसको समस्या समाधान हुँदैन । यसलाई निष्कर्षमा पुर्याउन चुक्यो भने यति धेरै खैलाबैला मच्याएर गरिएको विशेष महाधिवेशनको खासै औचित्य हुँदैन । प्रतिनिधिले नीति बदल्ने, नेतृत्व बदल्ने वा दुवैबारे निर्णय गर्ने अधिकार प्रयोग गर्न चाहेको उनीहरूले भृकुटीमण्डपमा व्यक्त गरेका विचारले प्रस्ट हुन्छ । यो मागलाई दबाउने प्रयास अब संस्थापनका लागि मात्र होइन, विशेषका आह्वानकर्ता गगन–विश्वका लागि पनि सहज छैन । नेतृत्वले वैधानिक बाटो छाडेर बलमिच्याइँ गर्दा कांग्रेस अहिले विभाजनको डिलैमा पुगेको छ । अहिलेको संवेदनशील अवस्थामा दुवै पक्षले संयमता अपनाएर पार्टी एकता भने जोगाउनुपर्छ ।
कांग्रेस फेरि विभाजनतर्फ जानु सो दलका लागि मात्र नभई लोकतन्त्रका लागि पनि घातक हुनेछ । त्यसो भन्दैमा विशेष महाधिवेशन निष्कर्षविहीन भने हुनुहुँदैन । औपचारिक निर्णयमार्फत आमकार्यकर्ताको आकांक्षा सम्बोधन गरिनुपर्छ । पार्टी नेतृत्वबाट अवकाशको तयारीमा रहेका सभापति शेरबहादुर देउवाका लागि पनि विशेष अवसरको क्षण बन्न सक्छ । बहुमत प्रतिनिधिको भावनालाई स्वीकार गर्दै पार्टीलाई एकताबद्ध दिशामा लैजान सके त्यो उनका लागि अभिभावकीय दायित्व र सफलता हुनेछ । विशेष महाधिवेशनमार्फत नेतृत्वविरुद्ध गरिएको शान्त विद्रोहलाई संस्थागत गर्ने र सुध्रिएको पार्टी लिएर चुनावमा जाने आमनेता कार्यकर्ताको आकांक्षा पूरा गर्न पनि अहिले दुवै पक्ष संयम हुनुपर्छ । त्यस अर्थमा यो कांग्रेस नेतृत्वको अग्निपरीक्षा पनि हो ।