– दमयन्ती फुयाल, असाम
“यो अलिकति खाउ न सावि”, चम्चामा थोरै जाउलो भात लिएर मानबहादुरले भने । कति प्रयास गर्दा पनि उनले एक चम्चा पनि श्रीमतीलाई खुवाउन सकेनन् ।
“६ दिन भयो ओच्छयानमा लडेकी, खान पनि छोडी । के गर्नु ?”, एक्लै बड्बडाउदै मानबहादुर छटपटिन्छन् ।
कोठामा बुहारी आउँछिन् । “छोडनुस बुबा, म खुवाउँछु ।”
“मुखे खोलदिन के खुवाउछेस ।”
“यो दालको पानी निल्न सजिलो हुन्छ ।” मानबहादुर बाहिर निस्किए ।
शिक्षकबाट अवकाश लिएका अहिले सत्तरी कटेका मानबहादुर खूबै सफा व्यक्तित्वका धनी छन । फुर्सद मिल्दा कविता, कहानी लेख्ने, पढने उनको बानी छ । बूढेसकालको एक्लो जीवनमा किताब जस्तो ठुलो मित्र कोही हुँदैन रहेछ, उनलाई थाहा भयो ।
दुई छोरा र दुई छोरीलाई पढाएर उच्च शिक्षित बनाएर बिहे पनि गरेर उनी आज बाबुको कर्तव्यबाट मुक्त भएका छन । चारै जनाले जागिर पाएर उनको शहर आएर बसेकोमा कृतकार्य बने । शहरमा उनको चौकमै पाँच तल्ले महल छ । तल्लो तलामा उनी कान्छो छोरासँग बस्छन् । अर्को तल्लो ठूलो छोराले राखेर अरू तीन तल्ला छोराहरूले अफिसलाई भाडामा दिएका छन् ।
“ए बा खोई अलिकति ।” मानबहादुरले ठम्याउन नभ्याउँदै हतार हतार भर्याङ चढ्छ ऊ ।
माथिका तल्लामा बस्नेहरूको ओहोर–दोहोर यत्तिकै भइनै रहन्छ । बाहिर निस्कन ठाउँ छैन । त्यो सानो आँगनमा गाडी र मोटरसाइकल सधैँ भरिएका हुन्छन् ।
अघि गाउँमा छँदा खुलामा बसेका मानबहादुरलाई यहाँ बस्न सारै गारो लाग्छ । गाउँमा कुदि कुदि काम गरेका मान्छे आज कोठामा कोचारिएर बस्नु परेको छ । कष्ट गर्नु परेपनि गाउँनै रमाईलो थियो । उनी सम्झिन्छन् बितेका ती पलहरू । परिवारसँग कति रमाईलो हुन्थो एक समयमा .. !
छोरा छोरी पढाउन उनले र सावित्राले कति दुःख सहेका थिए । गाउँमा खेतमा धान, मकै तोरी, मास सबैको खेति गर्थे उनि । वर्षभरीको खोराकि धान, खाने तेल किन्नु पर्दैनथ्यो । गोठमा दुईमाऊ गाई कहिलै टुट्दैनथे । घरका सबैजनाले हातेमालो गरेर आमा सावित्रीलाई सँघाउथे । बिहान सधैँ एकछिनसबैले बारीमा काम गर्नैपथ्र्याे । सावित्री भन्ने गर्थिन, “काम गरेको शरीर मात्रै बलियो हुन्छ ।”
बारीमा, कोदालो चलाउने, वोट–बिरूवा रोप्ने अनि गोडमेल गर्दा गर्दै भोकले भुतुक्कै हुन्थे सबै, र कतिबेला सावित्राले भात खान बोलाउँछे भनेर कान ठाडा पार्थे । अनि बोलाएपछि बल्ल नुहाएर मात्रै खान पाउँथे । अनि खाएपछि आराम । के सारो निन्द्रा लाग्थ्यो त्यतिबेला । मानबहादुर सम्झिन्छन् । यहाँ त किन होला कति प्रयास गर्दा पनि निन्द्रा आउँदैन । न भोक लाग्छ ।
“बूढाबूढी मान्छे त भित्रै बस्नु नि ।” हतार हतारमा हिँड्दै कसैले भन्यो । मानबहादुर लौरो टेक्दै छेऊतिर उभिन्छन एकछिन । आज बृद्धावस्था भएर आफ्नै घरमा सबै हुँदा हुँदै पनि असहाय भएका छन उनी । यत्रो घरमा उनले हिँडनसम्म ठाउँ पाउँदैनन् ।
शहरमा बस्न मन थिएन उनको । अवकाशमा पाएको पैसाले श्रीमतीको भनाइमा यत्रो ‘प्रकाण्डको घर’ बनाएका थिए उनले । छोरा–छोरीले सुख पाउछन् भनेर, कत्ति दुःख गरेका थिए । शहरी हावाले छोएर घरको चारैतिर अग्लो देवाल पनि लगाए । अहिले धमाधम बढेका घरले गर्दा मज्जाले हावासम्म पनि छिर्न पाउँदैन । अग्लो दिवालले र गेटले गर्दा बाटाका मान्छे हेर्न पनि पाइँदैन । सारै न्यास्रो लाग्छ उनलाई !
उमेर छउन्जेल बुद्धि आउँदैन । पछि धेरै अफसोस हुन्छ ।
बुढा–बुढीले सल्लाह गरे यस विषयमा । अब गाउँको घरमा बस्ने भनेर ।
सावित्राको घडघडो दिन दिनै बढन थालो । सर–सल्लाह हुँदा हुँदै झगड़ा पनि भयो, तर अरूले नसुन्नेगरी ।
“तेरै करले त आउनु परेको हो नि त शहर..!”
“त्यतिबेला छोराहरूलाई पढाउन, जागिर गराउन भनेर आइयो । अब बुढा, म सक्दिन यहाँ बस्न । यहाँ, कोसँग बोलेर बस्नु ?” श्रीमतीको कुरा बुझेका छन् उनले ।
उमेर भएसी छोरा वा छोरी कोइ त सहारा चाहिन्छ ।
आफ्नो मनको पीडा छोरासितसुनाउन प्रयास गरेका पनि थिए उनले ।
“ठूले, अब बुढेस काल भो गाउँतिर जानपर्छ । यहाँ धेरै भिडभाड भो । बाहिर हिँडडूल गर्नसम्म पाइँदैन । तो गाउँको घरको पनि हेरचाह हुन्छ । तेरा छोरा छोरीको पढाइ पनि सकिन्छ अब ।”
“कहाँ सकिनु बा । अझै दुई बर्ष पढ्न छ । मेरो पनि अवकाशलाई पाँच वर्ष छ । पछि जाउँला । यहाँ के पो गाह्रो छ र हजुरलाई ?”
अब कसरी भन्नु ? उनलाई सास फेर्न ..गाह्रो छ भनेर । सबै....काम कामका मान्छे । बोल्ने कोही छैनन् । घर त छ, तर खुशी छैन । एक –आपसमा माया छैन । सबै मेसिन बनेका छन ! पैसा कमाउने मसिन ! ठूलोछोरासँग कुरा मिलेन र कान्छो छोरालाई भनेका थिए एकदिन सावित्राको करकरमा ।
“यहाँ त मर्दा पनि कसैले थाहाँ पाउँदैनन् । अब त साथी, आफन्तहरू चाहिन्छन् । गाउँको घरमै लैजा अब हामीलाई । आमा भनेर थाकिसकि । उहाँ भए कति भेट गर्ने आउँथे होला । छरछिमेकीसँग बोलेर पनि भुल्ने थियौं ।”
“बा, छोरा छोरीको पढाइ छ । मेरो जागिर छ । भन्नेबित्तिकै कहाँ मिल्छ जान ?”
सावित्रा सधैँ सोधछिन्, “कुरा गर्नु भो ?”
“हेर बुढी, यो उमेरमा बिना साहारा हामी बस्न सक्तिनौ । उनीहरूको अहिले सोच्नेसम्म समय छैन ।”
बुढाको कुरामा चित्त नबुझेर सावित्राले आँफै कान्छो छोरालाई भन्छिन्, “कान्छा, मर्न चै गाउँमै पुग्न पाए हुन्थो । कोही साथी मिलाएर हामीलाई गाउँमा बस्न मिलाई दिए हुन्थो ।”
“यहाँ चैँ के भयेको छ र ? किन गाउँ गाउँ भन्नुहुन्छ सधै ?”, निकै ठूलो स्वर निस्कियो छोराको मुखबाट...! बुहारी नाती कुदेर आए । त्यसमा थोरै बुहारीले कुरा थपिन । थोरै नातीले । सावित्रा चुप भइन ।
त्यसदिनदेखि सावित्राले सोध्न छोडिन् । विस्तारै मौन बस्न थालिन् । खान छोडिन् । अनि आज यो स्थिति मा पुगिन् ।
मनबहादुर दुःखी छन्, आज । लौरो टेकेर कोठामा ओहोर दोहोर गर्दै छन् । यता सावित्राको चटपट छैन । उ बाहिर निस्किन खोज्दै सानो छोराले भनेको सम्झिए, “भित्रै बस्नु नि बा । डिस्टर्ब हुन्छ आउने जानेलाई ।”
अनि पत्नीको छेउमा बसेर भने, “सावि सुनिस’,मैले ठूलेलाई भने नि गाउँ जाने कुरा ।”, कानको छेउमा कराएर बोले उनले ।
पिलिक्क आँखा उघारेर हेरिन पत्नीले । उनको आँखामा आशाका लहर देखे उनले ।
“अब उसको अवकाश लिन पाँच वर्ष मात्रै छ । मैले सबै कुरा गरे । तँ आँट नमार । पाँच वर्ष भनेको त फुस्सै बित्छ । अनि हामी गाउँ जाँउला । गाउँ गए पछि त सबै भेट्न आउँछन् हामीलाई नि !”
पत्नीले आँखा फेरि चिम्लिन ।
मानबहादुर त्यही धेरैबेरसम्म बसिरहे ।
साविको केही हलचल छैन । के हो ?
“सावि ! ओई सावि ! यता हेर न । म सित बोल न ।”
मनबहादुरले पत्नीको हाथ छामे । नाडी छामे ।
“नाडी चलेको भान हुँदैन त ! छाती पनि चलेको छैन त...! किन... ? कान्छो...! ए कान्छो...!”, थरथराउदै मानबाहादूर पुगे ढोकासम्म । फेरि कराए, “ठूले ! ए ठूले !...ए कान्छो... ए बुहारी...!”
फेरी फर्किए पत्नीको छेउमा र शरीरको समस्त शक्ति बटुलेर चिच्चाए, “ए सावि बोल न । मलाइ एक्लै नपार । तँ बिना म कसरी बस्नु ?” बुढीलाई अँगालेर रोए । परिवारका कसैले उनले रोएको देखेनन् ।
छोराहरू आउँदा आउँदै उनको अनुहारको भाव बदलिएको थियो । उनलाई थाहा भयो, उनको पनि पछिको हाल यही हुने छ !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies