२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कविता : सम्झनामा आउँदैन होला ?​

shivam cement
वेदप्रकाश तिमिल्सैना
२०८२ फागुन २८ गते १२:४३
Shares
कविता : सम्झनामा आउँदैन होला ?​

​बसाइँसराइ गरेर मलबार पुगेकाहरूलाई
जन्मेको हुर्केको त्यो आफ्नै प्यारो गाउँ
कहिल्यै सम्झनामा आउँदैन होला र ? 

​त्यो आँगन, त्यो घरको ढोका
धारा नाउलाको चिसो पानी
बाल्यकालका खेलहरू
पाखा पखेराका गाेरेटाहरू
मनको कुनामा कहिल्यै बोल्दैनन् होला र ? 

​दावलका दौँतरीसँग राम-जात्रा पुगेको
गोरु-बाख्रा चराउन वन-जङ्गल चहारेको
लेक अनि औलका खरक छानामा–
भैँसी लिएर ओहोरदोहोर गरेको
ती हाट अनि बम्मै धाएका दिनहरू
के स्मृतिमा फेरि ताजा हुँदैनन् होला र ? 

​पाखा-पखेरा थर्किने गरी गाएका ती ठाडी भाका
वनजङ्गलमा साथीहरूसँग हाँसेका ती यौवनका दिन
युवा-युवतीले साटेका ती अबोध र मिठा प्रेम-भाव
के स्मृतिमा फेरि ताजा हुँदैन होला र ? 

​वनभरि राताम्मै फुलेका ती लालीगुराँस
काफल र तिर्खुला खान लेखतिर गएका दिन—
रवा, जिउला, फाँट, तडा अनि सैनका ती प्यारा भिर-पाखा
के ती ठाउँहरूको याद कतै आउँदैन होला र ? 

​बर्तिमन्डमा बालो हालेको र बिहामा मुडेउला गएको
जन्तमा जन्ती जाँदाका ती रमाइला सम्झना
के मनको आँगनमा फेरि आउँदैनन् होला र? 

​धान बताउने बेलाको त्यो पातीको धुप
झुलाको बास अनि ठिन्काका ती यादहरू
ओटालोमा बसेर खाएको हुक्का र सुल्पा
के स्मृतिमा फेरि घन्किँदैन होला र? 

​आमा-बजैको त्यो निस्वार्थ र पवित्र माया
घोगाका रोटा, महि र ओख्लाको नुन-खुर्सानी
जडनको भात अनि मासको त्यो तातो फाँडो
चिसोमा सिस्नु, गर्मीमा आल्लोको राप्लो कापु
बर्खामा टिपेको त्यो अरिमलेको मीठो साग—
के जिब्रोमा अझै कतै बल्झिँदैन होला र? 

​विशु संक्रान्तिमा सिस्नु चिलाएको त्यो ठट्टा
माघी त्यारमा लाउन बाबरको कोशेली—
त्यार लिएर छोरी-चेलीका घर पुगेका ती क्षण
के मनको झ्यालबाट फेरि देखिँदैन होला र? 

​कुले मानेको देवता पुजेको र माइते मानेको भक्ति
चुल्हो र ओटालोमा बात मार्दै सुन्ने ती कथा
के स्मृतिमा फेरि ताजा हुँदैन होला र? 

​रामणीका थाइलाहरूमा टेप राखेर सुनेका ती पुराना गीत
बैँसालु दिनमा ओहोरदोहोर गरेका ती थला—
ब्यान्दिलका ढिकी-जाँतो र घाँडाको सङ्गीत
के मनकोको कुनामा बज्दैन होला र ? 

​र, त्यतै जन्मिएर हुर्किएको नयाँ पुस्तालाई
के थाहा हुन्छ होला
आफ्ना पुर्खाले पसिना बगाएको त्यो माटो? 

​के उनीहरूलाई कहिल्यै जिज्ञासा उठ्दैन होला 
हाम्रा बाजे–बुबा कहाँका थिए?
कस्तो थाहा त्यो गाउँ
जहाँबाट हाम्रो वंश सुरु भयो? 

​जन्मे हुर्केको गाउँ, पुर्खाको थातथलो 
मात्रै  एउटा ठाउँ मात्र होइन
त्यो त इतिहास हो, पहिचान हो
रगत भित्र बगिरहने
माटोको सुगन्ध हो।
​त्यसैले
कहिलेकाहीँ फर्केर हेर्नु जरुरी छ
नक्सामा मात्र होइन
सम्झनामा पनि।

ताजा खबर

सम्बन्धित खबर