२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

इराकको श्रम स्वीकृतिका लागि कार्यविधि सार्वजनिक

Nada
२०८२ पुष ३० गते ०६:१५
Shares
इराकको श्रम स्वीकृतिका लागि कार्यविधि सार्वजनिक

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा इराक गएका नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्रदान गर्न ७ प्रकारका कागजात अनिवार्य गरेको छ । मन्त्रिपरिषद्को पुस ११ गतेको निर्णयबमोजिम विभागले वैदेशिक रोजगारीको सिलसिलामा इराकमा गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकहरूलाई नेपाल आएको अवस्थामा श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

ncell

सोहीअनुसार विभागले तोकिएका कागजातसहित वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस)मार्फत आवेदन दिन आग्रह गरेको छ । विभागले कम्तीमा तीन महिना म्याद भएको राहदानी, आधिकारिक भिसा, फेमिसमार्फत म्यादी जीवन बिमा, सामाजिक सुरक्षा कोष, कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण, रोजगारदातासँगको करार सम्झौता, इराकको अध्यागमनले लगाएको आगमन तथा प्रस्थान छापसहितको राहदानी पेस गर्नुपर्ने बताएको छ । 

यसका अतिरिक्त अभिमुखीकरण तालिम लिएको र मेडिकल फिट भएको प्रमाणसहित श्रम स्वीकृति माग गर्ने व्यक्ति स्वयं सक्कल पासपोर्ट, भिसा तथा करार सम्झौतासहित विभागमा उपस्थित भएर सनाखत गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले पुस ११ गते नै निर्णय गरेपनि कार्यविधि बनाउन समय लागेपछि मंगलबार मात्रै विभागले कार्यविधि सार्वजनिक गरेको हो । विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीले इराकको श्रम स्वीकृतिका लागि मन्त्रिपरिषद्को निर्णयलगत्तै चाप बढेको भएपनि बिहीबारदेखि सहज रूपमा श्रम स्वीकृति प्रदान गरिने बताए । 

इराकमा हाल नेपालीहरू घरेलु कामदार, क्याफे, अमेरिकी बेस क्याम्प तथा विभिन्न देशका दूतावासमा काम गरिरहेका छन् । उक्त मुलुकमा हाल करिब ३० हजार नेपाली कार्यरत रहेको अनुमान छ । भ्यालिड रेसिडेन्सी कार्ड भएका नेपालीले नेपाल आएको अवस्थामा श्रम स्वीकृति माग गर्नुपर्नेछ । इराक वा अन्य देशबाट आवेदन गरेर श्रम स्वीकृति नपाइने विभागले बताएको छ ।

सम्बन्धित खबर