२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

इरान आन्दोलनले मध्यपूर्वमा तनाव, कतारको सुरक्षा अवस्था सामान्य- गृह मन्त्रालय

Nada
तिलु शर्मा पौडेल
२०८२ माघ १ गते १७:३०
Shares
इरान आन्दोलनले मध्यपूर्वमा तनाव, कतारको सुरक्षा अवस्था सामान्य- गृह मन्त्रालय

दोहा, कतार : गत डिसेम्बर २८ देखि इरानमा सुरु भएको सत्ता विरोधी प्रदर्शनको असर मध्यपूर्वमा प्रत्यक्ष देखिए पनि कतारको गृह मन्त्रालयले हालको अवस्थालाई सामान्य सुरक्षा व्यवस्थापनको हिस्साका रूपमा गृह मन्त्रालयले व्याख्या गरेको छ । अमेरिकाले इरानमाथि आक्रमणको इसारा गरेपछि मध्यपूर्वको देश कतारमा रहेको अमेरिकन बेस क्यापमा इरानले आक्रमण प्रयास गर्न सक्ने भन्दै अमेरिकाले कतारको अल-उदैद एयर बेसबाट आफ्ना केही सैनिकहरूलाई बुधबार साँझसम्म हट्न सुझाव दिएको समाचार बाहिरिएपछि कतारको धारणा सार्वजनिक भएको हो ।

ncell

कतारको गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै आवश्यक सबै सुरक्षा कदम अपनाएको जनाएको छ । विज्ञप्तिमा कतारले आफ्ना नागरिक तथा बासिन्दाको सुरक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै महत्त्वपूर्ण पूर्वाधार र सैन्य संरचनाको संरक्षणका लागि आवश्यक उपायहरू लागू गरिरहेको उल्लेख गरिएको छ । करिब १० हजार अमेरिकी सैनिक तैनाथ उक्त अड्डामा नेपालीहरू समेत कार्यरत छन्, जुन मध्यपूर्वको सबैभन्दा ठुलो अमेरिकी सैन्य अड्डा मानिन्छ । अमेरिकी अधिकारीहरूले सैनिकहरूको यो आंशिक फिर्तीलाई सावधानीको उपाय बताएका छन् । कतारबाट केही बेलायती सैनिकहरूलाई पनि फिर्ता बोलाउने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कतारस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारी तथा कतारमा रहेका अमेरिकी नागरिकहरूका लागि विशेष ‘ट्राभल एडभाइजरी’जारी गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकी दूतावासले आफ्ना कर्मचारीहरूलाई अतिरिक्त सतर्कता अपनाउन र अल-उदैद एयरबेसमा अत्यावश्यक बाहेकको यात्रा सीमित गर्न सुझाव दिएको छ।’ यस विषयमा कतार सरकारको अन्तर्राष्ट्रिय सञ्चार कार्यालयले जारी गरेको विज्ञप्तिमा हालको क्षेत्रीय तनावलाई ध्यानमा राख्दै सुरक्षा सम्बन्धी कदम चालिएको स्पष्ट पारेको छ।

कुवेतस्थित अमेरिकी दूतावासले पनि आफ्ना कर्मचारीहरूलाई खाडी क्षेत्रका केही सैन्य आधारहरूमा जान ‘अस्थायी रूपमा रोक्न’ निर्देशन दिएको छ । यसैबीच, संयुक्त राज्य अमेरिकाको अनुरोधमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले बिहीबार दिउँसो इरानको अवस्थाबारे आपतकालीन बैठक बोलाएको छ । इरानमा जारी आन्दोलनमा हालसम्म ३ हजार भन्दा बढी नागरिक मारिएको आकलन गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर